+
+
Shares

८३ वर्षीय महन्थ बने राष्ट्रिय सभा सदस्य

महन्थलाई पदीय लोभी नेता भनेर टिप्पणी हुन थालेको छ । कमजोर शारीरिक अवस्थाको कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ माघ ११ गते २०:३८

११ माघ, जनकपुरधाम । केही समय अघि जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी अन्य कलस्टरतर्फ ७ हजार ७२५ मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८०५ मत पाएका छन् ।

उनी नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार थिए । उनी प्रतिनिधि सभाका निर्वतमान सदस्य हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका–एकरहिया घर भएका ठाकुर मधेश राजनीतिका सबैभन्दा अनुभवी र उतार–चढावपूर्ण यात्राका साक्षी नेता मानिन्छन् । उनले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधि सभा सदस्यका रूपमा महोत्तरी क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए ।

२०७९ को निर्वाचनमा भने दोस्रो पटक प्रतिस्पर्धा गरेका उनी यसपटक राष्ट्रिय सभामा पुगेका छन् । तर प्रतिनिधिसभामा उनी अन्तिम पटक मत मागेका थिए । पुन: राष्ट्रिय सभा सदस्यमा भएपछि उनलाई पदीय लोभी नेता भनेर टिप्पणी हुन थालेको छ । कमजोर शारीरिक अवस्थाको कारण उनी आफैं उठबस र हिँडडुल गर्न सक्दैनन् ।

विद्यार्थी कालमै नेपाली कांग्रेस निकट राजनीतिमा सक्रिय ठाकुरले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जेलनेलसमेत भोगे । २०३६ सालको बहुदलीय आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।

२०४८ सालमा नेपाली कांग्रेसबाट सर्लाही क्षेत्र नं. ५ बाट चुनाव जित्दै उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरे । त्यही कार्यकालमा उपसभामुख बन्न सफल भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पुन: सर्लाहीबाटै निर्वाचित भएपछि उनी मन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहिसकेका ठाकुरले कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाले । तर २०६४ सालमा कांग्रेस त्याग्दै आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । पहिलो संविधानसभा निर्वाचन २०६४ मा सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लडेका उनी मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित भएका थिए । यद्यपि उनी मनोनित संविधानसभा सदस्य बने । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि उनी  कांग्रेसका उम्मेदवार अमरेश सिंहसँग हार व्यहोरे ।

संविधान घोषणाको संघारमा भएको छ महिनाको तेस्रो मधेश आन्दोलनमा ठाकुरले मधेशवादी दलहरूसँग मिलेर संयुक्त मधेशी मोर्चाको नेतृत्वदायी भूमिका खेले । आन्दोलनपछि मधेशमा मधेशवादी शक्तिप्रति सहानुभूति बढ्यो । २०७४ को निर्वाचनअघि उनले छ वटा दल एकीकृत गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरे, जसमा तमलोपा, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी समाहित भए । राजपामा चक्रिय प्रणालीबाट नेतृत्व चयन गरिन्थ्यो ।

२०७४ को निर्वाचनमा राजपा र तत्कालीन संघीय समाजवादी पार्टीले राम्रो उपस्थिति जनाए । २०७७ मा यी दुई दल एकताबद्ध भई जनता समाजवादी पार्टी (जसपा) नेपाल बने । तर डेढ वर्षमै २०७८ मा पार्टी विभाजन गर्दै ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । पछिल्लो समय फेरि जसपामा समाहित हुँदै उनी राष्ट्रिय राजनीतिमा पुन: केन्द्रमा आएका छन् ।

राजनीतिक यात्रामा उपप्रधानमन्त्री बन्ने अवसर पटक–पटक आए पनि उनले आफूभन्दा अन्य नेतालाई अघि सारे । राष्ट्रपतिको उम्मेदवारका रूपमा पनि उनको नाम पटक–पटक चर्चामा आयो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गर्दा कांग्रेसले उनलाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेको थियो ।

तर, उनले ओलीसँग सहकार्य गरे, जसको परिणामस्वरूप त्यस सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री बने । पछि सर्वोच्च अदालतको आदेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदा ओली सरकार ढलेको थियो ।

यद्यपि ठाकुरमाथि परिवारवादको आरोप पनि लाग्ने गरेको छ । सम्धिनीलाई संविधानसभा सदस्य बनाएको, सम्धिलाई भागबण्डामा प्रदेश प्रमुख बनाएको तथा पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ छोरीको नाम समावेश गराएको विषयमा उनी आलोचनामा पर्दै आएका छन् । यसपट महोत्तरी क्षेत्र नं. ३ मा उनले आफ्नो छोरीलाई उम्मेदवार उठाएको छ ।

लामो राजनीतिक अनुभव, निर्णायक क्षणमा खेल्ने भूमिका र निरन्तर विवादबीच पनि महन्थ ठाकुर मधेश र राष्ट्रिय राजनीतिका प्रभावशाली पात्रका रूपमा कायम छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?