News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाबाट प्रतिनिधिसभा निर्वाचनमा दुई जना उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन्।
- उनीहरू फरक जिल्लामा मतदाता नामावली भएकाले कानुनी रूपमा आफैंलाई मत हाल्न नपाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी र मंगोल नेसनल अर्गनाइजेसन पार्टीका सागर राईले आफैंलाई मत हाल्न नपाउने भएका हुन्।
१४ माघ, धनकुटा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका दुई जना उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरूले कानुनी व्यवस्थाका कारण आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।
फरक निर्वाचन क्षेत्रमा मतदाता नामावली भएकाले उम्मेदवार बन्न पाउने भए पनि मत हाल्न नपाउने कानुनी व्यवस्था रहेको छ । तर, उनीहरूको फरक निर्वाचन क्षेत्र मात्रै नभएर फरक जिल्लामा मतदाता नामावली रहेको छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा दुई जना उम्मेदवार आफैँलाई मत हाल्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य जिल्लामा मतदाता नामावलीमा रहेका उनीहरू धनकुटाबाट उम्मेदवार भएकाले उनीहरूले आफैँलाई पनि मत हाल्न नपाउने भएका हुन् ।
आफैँलाई मत हाल्न नपाउने उम्मेदवारमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार उत्तम साखकर्मी र मंगोल नेसनल अर्गनाइजेसन पार्टीका उम्मेदवार सागर राई रहेका छन् ।
४० वर्षीय साखकर्मी पहिलोपटक निर्वाचनमा होमिएका हुन् । साखकर्मी भक्तपुरको चाँगुनारायाण नगरपालिका–९ तैकाबुका मतदाता भएकाले नेपाल मजदुर किसान पार्टीले धनकुटाको उम्मेदवार बनाएकाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।
यस्तै मंगोल नेसनल अर्गनाइजेसन पार्टीका उम्मेदवार ३१ वर्षिय राई २०७९ को प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले २ हजार ४ सय ५२ मत ल्याएका थिए । उनी झापाको मेचीनगर नगरपालिका–२ सुनगाभा चोकमा मतदाता भएकाले धनकुटाबाट उम्मेदवार हुँदा आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।
उनीहरू २ जना बाहेक धनकुटामा अन्य १५ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा पूर्वमन्त्री सहित १७ जनाले उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया 4