News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'रमिताको पिरती' महिलाप्रधान कथा लिएर २३ माघदेखि प्रदर्शन तयारीमा छ र आना शर्माले मुख्य भूमिका तथा कार्यकारी निर्माता भएकी छन्।
- फिल्मले ब्रेकअपपछि आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा देखाउँछ र युवापुस्तालाई आफूलाई माया गर्ने सन्देश दिन्छ।
- निर्देशक सुदिप्तासँग ६ महिना पात्र विकास गरेकी आना शर्माले फिल्ममा नयाँ रचनात्मक स्वतन्त्रता अनुभव गरेको बताइन्।
काठमाडौं । २३ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ यतिबेला चर्चामा छ । महिलाप्रधान यो फिल्मको केन्द्रमा बारम्बार प्रेममा धोका खाएकी युवतीलाई चित्रण गरिएको छ ।
साँचो प्रेमको खोजीमा रहेकी मुख्य पात्र रमिताको जीवनमा आउने उतारचढाव यसको कथा हो । शीर्ष पात्रको भूमिकामा आना शर्माले अभिनय गरेकी छन् । उनीसँगै फिल्ममा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठको अभिनय छ ।
आना यो फिल्मकी कार्यकारी निर्मात्री पनि हुन् । ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा समावेश भएको उनले बताइन् ।
‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो’ शर्माले भनिन्, ‘हामीले नियमित भन्दा केही फरक रुपमा फिल्म तयार गर्ने कोसिस गरेका छौं ।’
निर्देशक सुदिप्तासँग बसेर आफूले उक्त पात्रको निर्माण गरेको उनले बताइन् । ‘मैले ६ महिना निर्देशकसँग बसेर उक्त पात्रलाई डेभलप गरेर, एक्सप्लोर गरेर एडप्ट गरेकी थिएँ, अहिले फिल्म रिलिज हुने बेला आउँदा उत्साहित छु’ उनले भनिन्, ‘यो फिल्मको पात्र र मेरो भूमिका निकै खास छ, आशा छ हामीले देखाएको स्टोरी पर्दामार्फत दर्शकसम्म पुग्ने छ ।’

‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो । दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं । निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो’, उनले भनिन् ।
उक्त भूमिकाले आफूलाई नयाँ किसिमको चाप र रचनात्मक स्वतन्त्रता दुवै दिएको आना बताउँछिन् । ‘जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् ।
फिल्मले विशेषगरी युवापुस्तालाई महत्वपूर्ण सन्देश दिने उनी बताउँछिन् । ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ’, उनले भनिन् ।
सोसल मिडियाको प्रभाव र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने उनले बताइन् ।
आनाको लागि विशेष हुनुका ३ प्रमुख कारण रहेछन् । पहिलो- पूर्णरूपमा महिलाको कथा । दोस्रो- महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म । तेस्रो- उनले पहिलो पटक कार्यकारी निर्माताको भूमिकामा काम गर्न पाएकी छन् ।
सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह-निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ । शिशिर विशंखेको छायांकन रहेको फिल्मको सम्पादन सुनिल शिवाकोटीले गरेका हुन् । कपिल पराजुलीको रङ संयोजन र कृतिका बरालको नृत्य निर्देशन छ ।
प्रतिक्रिया 4