News Summary
Generated by OK AI. Editorially reviewed.- आदित्य धरको फिल्म 'धुरन्धर' ले रिलिज भएको दुई महिनामा भारतमा १००० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ।
- फिल्मले आठौँ हप्तामा पनि दैनिक कमाइ घटाएको छैन र शनिबार-आइतबार २.९ करोड भारु कमाएको छ।
- 'धुरन्धर' को विश्वव्यापी कमाइ १३०० करोड भारु नजिक पुगेको छ र यसको सिक्वेल 'धुरन्धर २' आउँदो मार्चमा रिलिज हुँदैछ।
मुम्बई । बलिउडबाट एउटा गज्जबको खबर छ ! आदित्य धरको फिल्म ‘धुरन्धर’ ले रिलिज भएको दुई महिना पुग्न लाग्दा पनि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।
यो फिल्मले सुरुवाती ६ हप्तामै कमाइका सबै पुराना रेकर्ड उछिनेको थियो । अहिले आठौँ हप्तामा आइपुग्दा त यसले एउटा यस्तो इतिहास रचेको छ, जुन अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले गर्न सकेको थिएन ।
यो फिल्म भारतीय बजारमा मात्रै १००० करोड भारु कमाउने चौंथो फिल्म बनेको छ । यसअघि हजार करोड क्लबमा पुग्ने बाँकी तीनवटै फिल्महरू साउथ इन्डियन (दक्षिण भारतीय) थिए ।
यसरी हेर्दा १००० करोडको आँकडा पार गर्ने ‘धुरन्धर’ नै पहिलो र एकमात्र बलिउड फिल्म बनेको छ । हप्तौँ बितिसक्दा पनि फिल्मको दैनिक कमाइ घटेको छैन, बरु नयाँ-नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ ।
प्रदर्शनको आठौँ हप्तामा आइपुग्दा पनि यो फिल्मले भारतीय बजारमा राम्रो कमाइ गरिरहेको छ । शनिबार र आइतबार मात्रै यसले २.९ करोड भारु कमायो । गणतन्त्र दिवसको बिदामा फिल्मले थप १.२५ करोड भारु कमायो ।
अहिले यो फिल्मको कुल कमाइ भारतमा मात्रै १००२ करोड भारु पुगेको छ । यसको नेट कलेक्सन भने ८३५ करोड भारु छ । यसअघि कुनै पनि हिन्दी फिल्मले भारतमा गरेको सबैभन्दा धेरै कमाइको रेकर्ड शाहरुख खानको ‘जवान’ को नाममा थियो (७६० करोड ग्रस) तर ’धुरन्धर’ ले त्यो रेकर्डलाई निकै पछाडि छाडिदिएको छ । भारतमै १००० करोडको ग्रस कलेक्सन गर्ने यो नै पहिलो बलिउड फिल्म बनेको छ ।
छक्कै पार्ने कुरा त के छ भने, ‘धुरन्धर’ को जादु भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै चलेको छ । मध्यपूर्वका देशमा प्रतिबन्ध लगाइएको भए तापनि अन्तर्राष्ट्रिय बजारबाट यो फिल्मले ३ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी कमाइसकेको छ ।
२८ जनवरीसम्मको तथ्याङ्क हेर्ने हो भने, यसको विश्वभरको कुल कमाइ झन्डै १३०० करोड पुग्न लागिसक्यो । आदित्य धरले निर्देशन गरेको यो ‘स्पाइ थ्रिलर’ मा रणवीर सिंह मुख्य भूमिकामा छन् ।
उनीसँगै अक्षय खन्ना, सञ्जय दत्त, आर माधवन र अर्जुन रामपाल जस्ता दिग्गज कलाकारको अभिनय छ । यो फिल्मको कथा अझै बाँकी छ ! यसको सिक्वेल ‘धुरन्धर २’ आउँदो मार्चमा रिलिज हुँदैछ, जसले यो पूरा कथालाई टुङ्ग्याउनेछ ।
प्रतिक्रिया 4