+
+
Shares

मधेशमा बढ्दो मधुमेह, १६ सयमा जाँच गर्दा ३६० मा अत्यधिक चिनीको मात्रा

नगरपालिकाका १० वटै वडाका एकहजार ६०२ जनामा मधुमेह परीक्षण गरिएको थियो । जसमा ८१९ महिला र ७८३ पुरुष थिए । जसमध्ये ३६० जनामा मधुमेह भेटिएको स्वास्थ्य शाखा संयोजक वैजनाथ साहले जानकारी दिए ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८२ माघ १५ गते १२:००

१५ माघ, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका स्वास्थ्य शाखाले मधुमेह रोग पत्ता लगाउने घरदैलो अभियानको रिपोर्ट सार्वजनिक गरेको छ । स्वास्थ्य शाखाले एनालाइजर प्रविधिको प्रयोग गरेर शिविर सञ्चालन गरिएको थियो ।

शाखाले सार्वजनिक गरेको रिपोर्टअनुसार नगरपालिकाका १० वटै वडाका एकहजार ६०२ जनामा मधुमेह परीक्षण गरिएको थियो । जसमा ८१९ महिला र ७८३ पुरुष थिए । जसमध्ये ३६० जनामा मधुमेह भेटिएको स्वास्थ्य शाखा संयोजक वैजनाथ साहले जानकारी दिए । उनकाअनुसार १० देखि ४० वर्षसम्म उमेर समूहका १०३ जनामा अत्यधिक मात्रामा मधुमेह देखिएको छ ।

स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ पुस २३ गतेदेखि माघ १० गतेसम्म घरघरसम्म पुगेर मधुमेह जाँच गरेको थियो ।

बोदेबरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले युवाहरूमै मधुमेह देखिनुले गम्भीर अवस्था देखाएको बताए । ‘निकै चिन्ताजनक अवस्था देखाएको छ । अब अन्य रोगसरह मधुमेहको चिन्ता पनि गर्नुपर्ने भयो,’ उनले भने ।

स्वास्थ्य शाखा संयोजक साहले फेरिँदो आहार व्यवहारका कारण यस्तो चिन्ताजनक अवस्था सिर्जना गरेको बताए । यस्तोमा समस्या सुरुमै पत्ता लगाउनु झन् जरुरी बनेको पनि साहको भनाई छ । ‘समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो,’ उनले भने, ‘रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रम सञ्चालन गर्दा मधुमेहको समस्या अगाडि आयो ।’

स्वास्थ्य शाखाले मधुमेह परीक्षणबाहेक घरघरमा पुगेर गर्भवती जाँच, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएको संयोजक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?