+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : दलका शीर्ष नेतृत्वहरूसँग को-को महिला भिड्दैछन् ?

दलहरूले यसपालि पनि विगतमा जस्तै सीमित स्थानमा मात्रै महिला उम्मेदवारहरू अघि सारेका छन् । जसलाई अघि सारेका छन् ती महिलाहरू पनि केही दलका शीर्ष नेताहरूसँग भिड्दैछन् ।

केशव सावद केशव सावद
२०८२ माघ १४ गते २०:१०

१४ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि २ हजार ६५५ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको दिन (६ माघ) बेलुकी निर्वाचन आयोग जारी गरेको विज्ञप्तिअनुसार कुल मनोनयनमध्ये दलीय र स्वतन्त्र गरी ३०३ महिला उम्मेदवार थिए ।

मनोनयन दर्तासँगै दलहरूमा चुनावी सरगर्मी बढे पनि उनीहरूले विगतमा जस्तै पार्टीमा आवद्ध महिला आकांक्षीहरूका प्रति भरोसा भने जाग्न सकेको देखिएन । दलहरूले यसपालि पनि विगतमा जस्तै सीमित स्थानमा मात्रै महिला उम्मेदवारहरू अघि सारेका छन् ।

विघटित प्रतिनिधिसभाका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महिला आकांक्षीहरू प्रति उदार भएनन् । उम्मेदवारीमा दलहरूमा पुरूषवाद हाबी देखिन्छ ।

गत निर्वाचनसम्म राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दल सबैको नेतृत्व पुरूषले नै गरिरहेका छन् । यहाँ हामीले ती दलका नेतृत्वसँग कुन क्षेत्रमा कुन दलले महिला उम्मेदवार खडा गरेको भनेर चर्चा गरेका छौं ।

गगनकुमार थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा काठमाडौं–४ छोडेर मधेश प्रदेश झरेका छन् । उनले आसन्न निर्वाचनका लागि सर्लाही–४ बाट मनोनयन दर्ता गराएका छन् ।

उनीसँग नेकपा एमालेका अमनिसकुमार यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रजनिश राय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह, जनमत पार्टीबाट राकेशकुमार मिश्र उम्मेदवार छन् ।

सर्लाही–४ मा ३८ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गगनकुमार थापासँग आम जनता पार्टीकी उम्मेदवार रिंकीकुमारी साह एकमात्र महिला उम्मेदवार हुन् ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंह २० हजार १७ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएको थियो ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् । चौथो भएका जसपा नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ पाएका थिए । नेता सिंह प्रवेश गरेको दल रास्वपाका उम्मेदवार धिरज ठाकुर ३१८ पाएर नवौं स्थानमा आएका थिए ।

केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । यहाँ नेपाली कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार बालेन्द्र शाह (वरिष्ठ नेता) पनि चुनाव लड्दैछन् । उनी काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर हुन् ।

चिमरिया राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन् । उनले दमकमा बाल आश्रम स्थापना गरेकी छन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी चिमरिया महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् ।

झापा–५ मा एमाले अध्यक्ष ओली, कांग्रेस नेतृ चिमरियासँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला उम्मेदवार छन् ।

झापा–५ बाट एमाले अध्यक्ष ओलीसँग स्वतन्त्र उम्मेदवारहरू रञ्जना गौतम र शोभा भण्डारीले पनि उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमाले अध्यक्ष ओली कांग्रेस नेता खगेन्द्र अधिकारीभन्दा दोब्बर बढी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

ओली ५२ हजार ३१९ मतसहित निर्वाचित हुँदा अधिकारीको पक्षमा २३ हजार ७४३ मत खसेको थियो । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७५९ मतका साथ तेस्रो भएका थिए ।

पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यहाँ पनि कांग्रेसले महिला उम्मेदवार खडा गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ सँग कांग्रेसले केन्द्रीय सदस्य कुसुम थापामगरलाई चुनावी प्रतिष्पर्धामा उतारेको हो ।

उनी विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित नेतृ हुन् । विघटित प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत् सांसद बनेकी उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् ।

रूकुम पूर्वमा एमालेबाट लिलामणि गौतम, रास्वपाबाट लखनकुमार थापा, राप्रपाबाट रोषण शाहलगायत कुल ११ उम्मेदवार छन् । यहाँ मंगोल नेशनल अर्गनाइजेसन पार्टीले महिला (ज्योति रोका मगर) उम्मेदवार अघि सारेको छ ।

गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर १२ हजार २६२ मतका साथ सांसद बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत पाएका थिए । उक्त निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो ।

रवि लामिछाने

रास्वपा सभापति रवि लामिछाने चितवन–२ मा चुनाव लड्दैछन् । कांग्रेसले यहाँ नेतृ मीनाकुमारी खरेललाई प्रतिस्पर्धामा उतारेको छ । चितवनमा कांग्रेसको राजनीतिमा सक्रिय खरेलले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिसकेकी उनी कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य र १४ औं महाधिवशेनबाट महासमिति सदस्य भएकी थिइन् । सामाजिक कार्यमा सक्रिय खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएकी छन् ।

चितवन–२ मा जनमत पार्टीबाट निर्मालाकुमारी ठाकुर, नेपाल मजदुर किसान पार्टीबाट शोभा बासुकला, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, मंगोल नेशनल अर्गनाइजेसनबाट ऋषा गोले, आम जनता पार्टीबाट देवीकुमारी मगर पनि उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा चितवन–२ बाट रास्वपा सभापति लामिछाने ४९ हजार ३०० मतसहित निर्वाचित भएका थिए । कांग्रेस नेता उमेश श्रेष्ठ १४ हजार ९८८ मतसहित देस्रो हुँदा तेस्रो भएका एमाले नेता कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी–२ बाट उम्मेदवार छन् । यहाँ कांग्रेसबाट एमालेका मोहम्मद जियाउल रहमान, कांग्रेसबाट रामकुमार यादव, नेकपाबाट सूर्यनाथ प्रसाद यादव र रास्वपाबाट रामजी यादवसहित ३४ जना उम्मेदवार छन् ।

सर्लाही–२ मा नेपाल जनता पार्टीबाट रञ्जुकमारी झा (ठाकुर) ले पनि उम्मेदवारी दिएकी छन् । उनी पूर्व सांसद हुन् । यस्तै नेपाल मजदुर किसान पार्टी निलमकुमारी यादव तथा स्वतन्त्रतर्फ साधना दास र अम्बिकादेवी साफीले मनोनयन गराएका छन् ।

जनमत अध्यक्ष राउत गत निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । उनी ३५ हजार ४२ मतसहित सांसदमा चुनिँदा निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत पाएका थिए । लोसपाका जयप्रकाश ठाकुर ७ हजार ३४७ मतका साथ तेस्रो भएका थिए ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ बाट मनोनयन दर्ता गराएका छन् । उनीसँग यो क्षेत्रमा एमालेबाट ताराकान्त चौधरी, कांग्रेसबाट दिनेशकुमार यादव, नेकपाबाट अरूणकुमार साह र रास्वपाबाट अमरकान्त चौधरी भिड्दै छन् ।

जसपा अध्यक्ष यादव उम्मेदवार रहेको क्षेत्रमा २२ जना उम्मेदवार छन् । जसमध्ये चार जना महिला छन् । यहाँ स्वतन्त्रतर्फ कौशलकुमारी चौधरी, कोशिलादेवी पासवान, रजियादेवी सदा र सरिताकुमारी यादवले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस नेता दिनेशकुमार यादव २६ हजार १६६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाएका थिए । तेस्रो भएका जनमत पार्टीका अनिश अन्सारीको पक्षमा १५ हजार ११४ मत खसेको थियो ।

राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट चुनावी प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा कांग्रेसले राजेन्द्रकुमार घिमिरे, एमालेले हरिबहादुर राजवंशी, नेकपाले डिल्लीराम घिमिरे र रास्वपाले प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ ।

लिङ्देनको क्षेत्रमा नेमकिपाले धर्मलक्ष्मी दुवाल (लघु), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चन्द्रकला सावा र जनता समाजवादी पार्टीले विनिताकुमारी राजवंशीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा लिङ्देन यही क्षेत्रबाट सांसद बनेका थिए । एमालेका समर्थन पाएका उनको पक्षमा ४० हजार ६६२ मत खसेका थियो । लिङ्देनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ६६२ मत पाएका थिए । रास्वपाका प्रकाश पाठक ३ हजार ४६१ मतसहित तेस्रो भएका थिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?