News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ र यसपालि ३४०६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालीको संख्या बढ्दै गएको छ र उनीहरूलाई चुनावभन्दा परिवार र भविष्यको चिन्ता बढी छ।
- वैदेशिक रोजगारीमा रहेका नेपालीले देशमै योग्यता अनुसार रोजगारी नपाएको र शिक्षा प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
११ माघ, काठमाडौं । आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् ।
निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि देशमा परिवर्तन र विकासको अपेक्षा बढेको देखिए पनि चुनावी उत्साह भने सबै नागरिकलाई उस्तै छाएको छैन ।
चुनावी माहोल तातिरहेका बेला अर्कातर्फ रोजगारी र राम्रो शिक्षा खोजीमा परदेशिने नेपालीको संख्या बढ्दो क्रममा छ । बाध्यतावश वैदेशिक रोजगारी र अध्ययनका लागि देश छाड्नुपर्ने नेपालीका लागि निर्वाचन प्राथमिकता बनेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने नेपालीको लामो लाइन देखिन्छ । हातमा झोला, आँखामा अनिश्चित भविष्यको चिन्ता र मनमा परिवारप्रतिको जिम्मेवारी बोकेर उनीहरू जहाज चढ्ने तयारीमा छन् ।
चुनावभन्दा उनीहरूलाई आफ्नो घरपरिवार र भविष्यको चिन्ताले बढी पिरोलेको देखिन्छ । पटक–पटकका राजनीतिक परिवर्तन तथा चुनावले देश परिवर्तन हुन नसकेपछि वैदेशिक रोजगारी धेरै नेपालीको बाध्यता बन्दै गएको छ ।
‘योग्यता अनुसार काम भएको भए परदेश जानु पर्थेन’
बर्दिया बारबर्दिया–९ का वैदेशिक रोजगारीका लागि कतार गएका छन् । कतार जाने बेला त्रिभुवन विमानस्थलमा भेटिएका उनको अनुहार एकदम मलिन देखिन्थ्यो । देश चुनावी माहोलमा रहेको बेला परदेशिनु पर्दा उनी दु:खी देखिन्छन् ।

‘साह्रै दु:ख लागेर आउँछ हाम्रो देशको स्थिति देखेर, जुनसुकै सरकार आए, जति संगठन भए, नेपाली युवाले नेपालमै कहिल्यै रोजगारी पाएनन्,’ उनले भने, ‘योग्यता अनुसारको रोजगारी भइदिएको भए सायद हामी परदेशिनुपर्ने थिएन ।’
युवाले नेपालमै योग्यता अनुसार रोजगारी पाएको खण्डमा खाडीमा कोही पनि पसिना बगाउन नजाने उनको भनाइ छ ।
शिक्षा प्रणालीप्रतिको असन्तुष्टि
सर्लाहीका १९ वर्षीय मिथिलेश महतो अध्ययनका लागि बेलायत गएका छन् । उनको गुनासो नेपालको शिक्षा प्रणालीप्रति छ ।

‘यहाँको एजुकेसन सिस्टम अझै पनि थ्योरीमै सीमित छ,’ उनी भन्छन्, ‘प्राक्टिकल नलेज, सामग्री र राम्रो कलेज–युनिभर्सिटीको अभाव छ, गाउँ–तराईतिर त झन् पढ्ने राम्रो संस्था नै छैन, काठमाडौं आएर पढ्दा खर्च धान्नै गाह्रो हुन्छ, त्यसैले बाध्य भएर विद्यार्थी विदेश जान्छन् ।’
नेपालमा पढ्दा खर्च मात्रै हुने तर विदेशमा पढ्दा पढाइसँगै आम्दानी पनि गर्न सकिने र त्यसले आफ्नो भविष्य राम्रो बनाउन सकिने उनको भनाइ छ । देशमै राम्रो पढ्ने ठाउँ र पर्याप्त रोजगारीका अवसर भएको खण्डमा कोही पनि नेपाली पढ्न तथा काम गर्न विदेश नजाने उनको भनाइ छ ।
‘बाध्यता हो, जानैपर्ने’
नुवाकोटका ४२ वर्षीय रणबहादुर तामाङ साउदी अरब गएका छन् । उनले आफ्नो २० वर्षभन्दा बढी समय विदेशमै बिताएका छन् । नेपाल फर्किने र घरपरिवारसँगै बस्ने चाहना हुँदाहँुदै परिवारको भविश्यका लागि उनी परदेश छाड्न सकिरहेका छैनन् । चुनावका बेला परदेशिनु रहर नभई बाध्यता भएको उनको भनाइ छ ।

‘बस्न मिल्ने अवस्था भएको भए बसिन्थ्यो,’ उनी भन्छन्, ‘अब जनताले काम गर्ने खाले नेतालाई भोट दिए भने देश अलि राम्रो होला भन्ने आशा छ ।’
दोलखाका २७ वर्षीय नवराज महत पनि साउदी अरब गएका छन् । उनले जेनजी आन्दोलनभन्दा अगाडि नै वैदेशिक रोजगारीका लागि आवेदन दिएका थिए ।
‘पहिले नै आवेदन गरेर लगानी भइसकेकाले रोक्न सक्ने अवस्था भएन,’ उनी भन्छन्, ‘मेरो एउटा भोट घटे पनि परिवारलाई सही ठाउँमा भोट हाल्न लगाउने छु ।’

उनले नेपालमै बस्ने र भोट हाल्ने आफन्त तथा मतदातालाई यो पटक विगतको गल्ती नदोहोर्याउन आग्रह गरेका छन् । सही नेतृत्व आएको खण्डमा मात्रै देश विकास गर्न सकिने भन्दै त्यसका लागि सही उम्मेदवारलाई भोट गर्न उनले अपिल गरे ।
मतदाताले सही नेतृत्व छनोट गरेको खण्डमा मात्रै देश विकास हुने र परदेशिनुपर्ने बाध्यता अन्त्य हुने उनको बुझाइ छ ।
‘रेमिट्यान्सले देश चलेको छ’
सिन्धुलीका बाबुराम खत्री १४ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । ‘गरिबीले गर्दा घरपरिवार पाल्न परदेशिनु पर्यो,’ उनी भन्छन्, ‘सरकारले हाम्रा लागि केही गरेन, रेमिट्यान्सले देश चलेको छ, तर श्रमिकको पीडा कसैले सुन्दैन ।’

सरकारले केही गर्न नसक्दा धेरै युवा परदेशिनु परेको तथा परदेशमा रहेका समेत स्वदेश फिर्ता हुन नपाएको उनको भनाइ छ ।
सरकार आफूहरूले पठाएको रेमिट्यान्सले चलाउने तर बाध्यतात्मक परदेशीको पीडा राज्यले कहिल्यै नबुझेको उनको गुनासो छ ।
विगतमा सही नेता र नेतृत्व नहुँदा देश विकास हुन नसकेको बताउँदै उनले अबको चुनावमा सही नेतृत्वलाई भोट हाल्न सबैमा अनुरोध गरे ।
बुटवलकी शिला परियार वैदेशिक रोजगारीका लागि कतार गएकी छिन् । यसअघि कुवेतमा ६ वर्ष र कतारमा एक वर्ष काम गरिसकेकी उनी नेपालमा रोजगारी नपाएर फेरि परदेशिन बाध्य भएकी हुन् । ‘नेपालमा कामै नपाएपछि जानैपर्यो,’ उनी भन्छिन् ।

यो पटक नफर्किने गरी नेपाल आएको तर देशको अवस्था देखेपछि पुन: जानुपर्ने बाध्यता आएको उनको भनाइ छ ।
देश चुनावमय बनिरहेका बेला देश छाड्नेको चिन्ता र चासो भने देशको विकासमा छ । अबको चुनावबाट सही नेतृत्व छान्नुपर्ने र देशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।
प्रतिक्रिया 4