+
+
Shares

पर्सा-४ मा बहुपक्षीय प्रतिस्पर्धा

पर्सा–४ मा वामपन्थी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक नयाँ दलहरूको आगमनले बहुपक्षीय प्रतिस्पर्धाको संकेत गरेको छ ।

सफल खतिवडा सफल खतिवडा
२०८२ माघ १३ गते १७:२५

१३ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–४ मा चुनावी गतिविधि बढ्दै गएको छ । उम्मेदवारहरू कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् ।

पर्सा सदरमुकामदेखि पश्चिमी भेगमा रहेको यो क्षेत्रमा शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको बाक्लो उपस्थिति रहेको छ ।

करिब ९५ हजार हाराहारी मतदाता रहेको पर्सा–४ मा विगतमा वामपन्थी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक भने बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ । पुराना अनुहारसँगै नयाँ पुस्ताका उम्मेदवारहरू मैदानमा उत्रिएपछि पर्सा–४ को चुनाव थप रोचक बनेको छ ।

नेपाली कांग्रेसले यसपटक पनि आफ्नो पुरानै प्रभाव कायम राख्ने रणनीतिका साथ अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ । पार्टी संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत बैंक कांग्रेसका उम्मेदवारको मुख्य आधार हो ।

२०४८ सालदेखि अहिलेसम्म रिजाल ८ पटक चुनावी मैदानमा ओर्लिएका छन् । ६ दशक लामो राजनीतिक संघर्ष गरेका रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी निर्वाचित भएका थिए ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीका रिजालले १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे ।

उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–२०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।

पर्सा–४ मा कांग्रेसको पकड खासगरी शहरी क्षेत्र, व्यापारी वर्ग र मध्यमवर्गीय मतदातामाझ बलियो देखिन्छ । यद्यपि, पार्टी भित्रको आन्तरिक असन्तुष्टि, गुटगत राजनीति र युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि उत्तिकै छ ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उनी उद्योग मन्त्री बनेका थिए ।

पर्सा–४ मा कांग्रेसको पकड खासगरी शहरी क्षेत्र, व्यापारी वर्ग र मध्यमवर्गीय मतदातामाझ बलियो देखिन्छ । यद्यपि, पार्टी भित्रको आन्तरिक असन्तुष्टि, गुटगत राजनीति र युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि उत्तिकै छ ।

नेकपा एमालेले पर्सा–४ मा संगठनात्मक बल र अनुशासित कार्यकर्तालाई आधार मानेर चुनावी मैदानमा उत्रिएको छ । अघिल्ला निर्वाचनहरूमा यस क्षेत्रबाट एमालेले उल्लेख्य मत पाउँदै आएको छ ।

एमालेको अहिलेका उम्मेदवार जालिम मियाँ मन्सुरी पार्टी पंक्तिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्ति हुन् । शहरी क्षेत्रसँगै मजदुर र निम्न आयवर्गमा एमालेको प्रभाव देखिन्छ । तर केन्द्रीय राजनीतिमा देखिएको उतारचढाव र अघिल्लो कार्यकालका कामप्रति उठेका प्रश्नले एमालेका लागि चुनाव सहज भने छैन ।

जहाँ कांग्रेस उम्मेदवार पार्टीको ऐतिहासिक मत बैंक र पुराना मतदातामा भर पर्छन्, त्यहीं मियाँ सक्रिय संगठन, बुथ तहको परिचालन र समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई आफ्नो मुख्य शक्ति बनाइरहेका छन् ।

७८ वर्षको उमेरसम्म पनि मियाँ राजनीतिमा छन् । उनी नेकपा माओवादीबाट २०७४ सालमा यस क्षेत्रको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित समेत भए । पार्टीको केन्द्रीय तहस्तरसम्म पकड जमाएका मियाँ २०७८ सालमा एमाले प्रवेश गरेर २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रिजालसँग पराजित भएका थिए ।

यदि चुनावमा कांग्रेस–एमालेको सिधा प्रतिस्पर्धामा सीमित रह्यो भने मन्सुरीको संगठनात्मक सक्रियताले कांग्रेसलाई कडा टक्कर दिन सक्ने अनुमान छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारप्रति बढ्दो आकर्षणले कांग्रेस र एमाले दलहरूलाई चुनौती दिने स्थिति पनि छ । यही परिवेशमा नेकपाका उम्मेदवार जयप्रकाश थारू पनि मतदाताको नजरमा छन् ।

जिराभवानी गाउँपालिका निवासी ६५ वर्षीय जयप्रकाश पर्साको राजनीतिमा आकस्मिक रूपमा उदाएका नेता होइनन् । एमाले हुँदै नेकपाका उम्मेदवार बनेका उनलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला समर्थक र पार्टी नेताहरू भने उनलाई स्थानीय राजनीति बुझेका र निरन्तर संघर्षबाट उदाएका उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् ।

जयप्रकाश पर्साको राजनीतिमा नयाँ अनुहार होइनन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट उनी पर्सा–५ बाट पहिलो पटक निर्वाचनको मैदानमा उत्रिए । त्यतिबेला कांग्रेस उम्मेदवार रिजालसँग पराजय बेहोरे पनि उनी स्थानीय राजनीतिमा स्थापित नेतामा गनिन्छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले एमालेबाट उम्मेदवारी दिँदै विजय हासिल गरे, जसले जिल्लास्तरीय राजनीतिमा चिनायो । त्यसपछि २०७४ र २०७९ मा पर्सा–४ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बने, तर दुवै पटक पराजित भए ।

तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्यको उम्मेदवारीले यस क्षेत्रमा केही अलग छाप छोड्ने देखिएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–४ मा राम्रो प्रभाव छाड्ने आकलन हुन थालेको छ । सुशासन, प्रतिबद्धता र पुराना दलप्रतिको असन्तुष्टिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै रास्वपाले युवा र शिक्षित मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्यको उम्मेदवारीले यस क्षेत्रमा केही अलग छाप छोड्ने देखिएको छ ।

पर्सा–४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृपासिन्धु चौधरीको उम्मेदवारीले कांग्रेसको मत संरचनामा असर पर्ने देखिन्छ । कांग्रेसको पृष्ठभूमिबाट राजनीति सुरु गरेका चौधरी जसपामा प्रवेश गरेर निर्वाचन मैदानमा उत्रिए हुन् ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख र राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत भइसकेका चौधरी त्यस भेगमा बौद्धिक छविका व्यक्ति मानिन्छन् ।

चौधरीको उम्मेदवारी केवल जसपाको तर्फबाट भएको प्रतिस्पर्धा होइन, यो कांग्रेस भित्र लामो समयदेखि दबिएको असन्तुष्टिको बाह्य अभिव्यक्ति पनि हो । यद्यपि, संगठनात्मक कमजोरी र स्थानीयस्तरमा प्रभावशाली अनुहारको अभावले नयाँ उम्मेदवारहरूलाई सहज भने छैन ।

यो क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उम्मेदवार उठाएको छ । २०७९ सालको स्थानीय तह चुनावमा ठोरी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका विष्णु लोप्चनलाई श्रम संस्कृति पार्टीले उम्मेदवार बनाएको छ । यस क्षेत्रमा लोप्चनले राम्रो प्रभाव पारिरहेको पार्टी जिल्ला संयोगक प्रताप पाख्रिन दाबी गर्छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका तीन पुराना अनुहार र नयाँ उम्मेदवारहरूको दौडले यस क्षेत्रको चुनावी भिडन्त निकै रोचक देखिने निश्चित छ ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?