१५ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ ।
मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन् ।
सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर यस्तो व्यवहार गरिएको छ । यो निर्णय हामीलाई स्वीकार्य छैन ।’
महाधिवेशन प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी परेको र निर्वाचन अधिकृतले समेत १७ मंसिरमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा उम्मेदवारहरूको समेत सहमति नलिई सूची सार्वजनिक गरिने आपत्तिजनक भएको थारुले बताए ।
थारूले सामाजिक सञ्जालमार्फत उक्त सूची अस्वीकार गर्ने घोषणा गरेका छन् ।
उनले लेखेका छन्- ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि पर्सा निर्वाचन क्षेत्र नं ४ मा ११ मंसिरमा हामी उम्मेदवारहरूले मनोयन दर्ता गराएका थियौं । ३ वटा क्लस्टरका लागि १४ जना उम्मेदवार मनोयन दर्ता गराएका थियौं । र दलित ३ वटा क्लस्टरका लागि ४ जनाको उम्मेदवार मनोयन दर्ता भएको छ । निर्वाचन प्रमुख केशव शर्मा सरसँग हामी उम्मेदवारहरूले बसेर छलफल गरी सहमति अनुसार १७ मंसिरमा निर्वाचन प्रक्रियामा जाने सहमति भए अनुसार निर्वाचन प्रमुखले सूचना पनि प्रकाशन गरिसक्नु भएको छ । हामी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी मनोयन दर्ता फिर्ता पनि लिएका छैनौं । तर आज एकाएक सामाजिक सञ्जाल फेसबुकमा सहमतिबाट प्रतिनिधि छनोट भएको हेर्दा मलाई त अश्चार्य लागेको छ । साथै मेरो घोर आपत्ति छ । कुनै पनि हालतमा हामाीलाई स्वीकार्य छैन ।’
नेता थारू एमालेबाट २०७० सालको संविधान सभा निर्वाचनमा पर्साबाट निर्वाचित संविधान सभा सदस्य समेत हुन् ।

पर्सा क्षेत्र नम्बर ४ बाट खुलातर्फ जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ र वीरेन्द्र यादव, युवातर्फ सुभाषकुमार साह तथा महिलातर्फ गोकुली रेग्मी र अंशु आनन्द सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएको सूची सार्वजनिक भएको थियो ।
एमालेले पर्सा क्षेत्र नम्बर १, २ र ३ मा आइतबार नै महाधिवेशन प्रतिनिधिको टुंगो लगाइसकेको छ ।
एमाले पर्साका सचिव महेश दासले पर्साबाट छनोट भएका ३५ जना महाधिवेशन प्रतिनिधिहरूमध्ये ३० जना संस्थापन पक्षको रहेको दाबी गरेका छन् । बाँकी ५ जना प्रतिनिधिहरू कुनै पनि पक्षमा नखुलेको उनको भनाइ छ ।
प्रतिक्रिया 4