+
+
Shares

काठमाडौंका पानी उद्योगमा फोहोर र मापदण्ड विपरीत जारको बिगबिगी

विभागको टोलीले ती उद्योगबाट २२ थानभन्दा बढी प्रयोग गर्न नमिल्ने र लेउ लागेका जारहरू तत्कालै नष्ट गरिदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा सञ्चालित खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।
  • अनुगमनमा ओसियन र सिद्धकाली आक्वा उद्योगमा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नभएको र उत्पादन कक्षमा पानी जमेको पाइएको छ।
  • विभागले २२ थानभन्दा बढी प्रयोग गर्न नमिल्ने जारहरू नष्ट गरी उद्योगलाई मर्मत र दैनिक सरसफाइ गर्न कडा निर्देशन दिएको छ।

१४ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा सञ्चालित विभिन्न खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार मोबाइल खाद्य प्रयोगशाला भ्यानसहित निस्किएको विभागको विशेष टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उद्योगहरू निरीक्षण गर्दा सरसफाइमा गम्भीर लापरबाही र न्यूनतम मापदण्ड समेत पालना नगरेको फेला पारेको हो ।

अनुगमन क्रममा मनोहरा फुड एन्ड बेभरेज, ओसियन ड्रिंकिङ वाटर, सिद्धकाली आक्वा र भद्रकाली पानी उद्योगमा कैफियत भेटिएको छ । ओसियन र सिद्धकाली आक्वाजस्ता उद्योगमा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, उत्पादन कक्षको भुइँमा पानी जमेको र लेउ लागेका तथा कुच्चिएका जारहरूमा पानी भरेर बिक्रीका लागि राखिएको पाइएको थियो ।

विभागको टोलीले ती उद्योगबाट २२ थानभन्दा बढी प्रयोग गर्न नमिल्ने र लेउ लागेका जारहरू तत्कालै नष्ट गरिदिएको छ । साथै, कतिपय उद्योगको आफ्नै प्रयोगशाला नभएको र प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका बमोजिमको अभिलेख समेत नराखिएको पाइएकाले उनीहरूलाई सुधारका लागि कडा निर्देशन दिइएको छ ।

विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार अनुगमन गरिएका सबै उद्योगबाट पानीका नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

उद्योग परिसर र उत्पादन कक्ष तत्कालै मर्मत र दैनिक सरसफाइ गर्न निर्देशन दिँदै विभागले संकलित नमुनाको प्रयोगशाला प्रतिवेदनमा कैफियत देखिए ऐन बमोजिम थप कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?