+
+
Shares

बाहिरियो हिउँदे वर्षा गराउने प्रणाली, सबैभन्दा धेरै वर्षा सुर्खेतमा

जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद बरुण पौडेलले पश्चिमी न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएकाले आजबाट देशका अधिकांश ठाउँमा मौसम सुधार हुने र घाम लाग्ने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ६:२३

१५ माघ, काठमाडौं । नेपालका धेरै ठाउँमा पानी र हिउँ पार्ने गरी सक्रिय पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि बाहिरिएको छ ।

मंगलबार साँझदेखि सक्रिय यो प्रणालीले सुदूरपश्चिमदेखि कोशी प्रदेशका पहाडी जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा गराएको छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात भएको छ ।

यस हिउँदे वर्षाले चिसो बढाएर जनजीवन प्रभावित भए पनि कृषि बालीलाई फाइदा हुने कृषि क्षेत्रका विज्ञहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद बरुण पौडेलले पश्चिमी न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएकाले आजबाट देशका अधिकांश ठाउँमा मौसम सुधार हुने र घाम लाग्ने जानकारी दिए । तर कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा भने अझै हल्का हिमपात र वर्षाको सम्भावना रहेको उनले बताए ।

कहाँ कति पानी पर्‍यो ?

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको प्रभाव सुदूरपश्चिममा बढी र जति पूर्वसर्‍यो त्यति कम परेको थियो । त्यसैले वर्षा पनि पश्चिम नेपालमै बढी भएको छ ।

बुधबार साँझपख काठमाडौं उपत्यकामा समेत हल्का पानी परेको थियो । काठमाडौंका लागि यो यस वर्षको पहिलो हिउँदे वर्षा हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर पानी परेको रेकर्ड छ । त्यसपछि रुकुमको सेरागाउँमा ३८ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, मनाङमा ३२.४, जाजरकोटमा ३३, डोल्पामा ३१ र बाजुरामा बाजुरमा ३०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौं उपत्यकाको हकमा ललितपुर र भक्तपुरमा बढी वर्षा भएको छ । यी दुवै जिल्लामा ४.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । यसैगरी काठमाडौंमा भने २.२ मिलमिटर पानी परेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?