१५ माघ, काठमाडौं । स्पेनिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम लिग खेलमा कोपनहेगनमाथि ४-१ को सहज जित निकाल्दै बार्सिलोना लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, लामिन यमाल, राफिन्हा र मार्कस रासफोर्डले एक-एक गोल गरे । कोपनहेगनका भिक्टर डोआसनले सुरुवाती गोल गरेपनि अर्थपूर्ण हुन सकेन ।
चौथो मिनेटमा डोआसनले गोल गर्दै कोपनहेगनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले चार गोल फर्कायो ।
४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ६०औं मिनेटमा यमालले गोल थप्दा ६९औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गरे । ८५औं मिनेटमा रासफोर्डले गोल थप्दै ४-१ को जित पक्का गरे ।
जितपछि बार्सिलोना ८ खेलमा १६ अंकका साथ छैटौं स्थानमा रहेर सोझै अन्तिम १६ मा छनोट भएको हो । बार्सिलोनाको शहरी प्रतिद्वन्द्वी रियल मड्रिड भने शीर्ष ८ मा पर्न नसक्दा प्लेअफ खेल्ने भएको छ ।
यस्तै एट्लेटिको मड्रिडले पनि प्लेअफ खेल्दा भिल्लारियल भने ३५औं स्थानमा रहँदै बाहिरिएको छ ।
च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।
प्रतिक्रिया 4