News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा सुरु भएको छ।
- प्रतियोगितामा ३८ आंगिक क्याम्पसका १,३४० विद्यार्थी खेलाडी र २८० भन्दा बढी प्रशिक्षक, निर्णायक सहभागी छन्।
- प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले माघ २२–२३ मा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिविको प्रतिनिधित्व गर्नेछन्।
१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । माघ १४ देखि १८ गतेसम्म चल्ने प्रतियोगिता शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजना गरिएको हो ।
उद्घाटन समारोहको अध्यक्षता विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीले गरे । औपचारिक उद्घाटन त्रिवि सेवा आयोगका अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईले ओलम्पिक ज्योतिको प्रतीकस्वरूप दियो प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा सहभागी टोलीहरूको मार्चपास, राष्ट्रिय गान र खेलाडीहरूको शपथ ग्रहण गरिएको थियो ।
कार्यक्रममा बोल्दै डा. पराजुलीले सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक र अतिथिलाई स्वागत गरे । उनले प्रतियोगिताको उद्देश्य, खेलका प्रकार र खेलस्थलबारे जानकारी दिए ।
उनले निर्देशनालयले अतिरिक्त क्रियाकलापलाई क्रेडिट–आधारित प्रणालीमा विकास गर्ने तयारी भइरहेको बताए । साथै, विद्यार्थी, शिक्षक र कर्मचारीका लागि सुरु गरिएको स्वास्थ्य उपचार कार्यक्रम र त्रिविका शिक्षक–अनुसन्धानकर्ताहरू विश्वका शीर्ष वैज्ञानिकहरूको सूचीमा परेकाले विश्वविद्यालयको शैक्षिक स्तर उच्च रहेको बताए ।
डा. पराजुलीका अनुसार प्रतियोगितामा त्रिविका ३८ आंगिक क्याम्पसबाट १,३४० विद्यार्थी खेलाडी सहभागी छन् भने २८० भन्दा बढी प्रशिक्षक, टोली व्यवस्थापक, निर्णायक तथा प्राविधिक जनशक्ति संलग्न छन् ।
उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने खेल सामग्री हस्तान्तरण पनि गरिएको थियो । प्रमुख अतिथि प्रा. डा. घनश्याम भट्टराईले यस स्तरको प्रतियोगिता आयोजना गरेकोमा निर्देशनालयको प्रशंसा गरे र सफलताको शुभकामना दिए ।
उद्घाटनपछि आज अपराह्न ३ बजेपछि खेलहरू सुरु भएका छन् । प्रतियोगितामा भलिबल, बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी पाँच खेल समावेश छन् ।
यस प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले माघ २२–२३ मा काठमाडौंमा हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिविको प्रतिनिधित्व गर्नेछन् ।
उत्कृष्ट खेलाडीहरू फिसुलगायत अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि समेत योग्य हुनेछन् ।
प्रतिक्रिया 4