१५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।
गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै टोलीले जित निकाल्दा न्युकासलले भने बराबरी खेल्यो । आर्सनलले काइरातलाई ३-२ गोलअन्तरले पराजित गर्यो । आर्सनलले ८ खेलमै जित निकालेर २४ अंक जोडेर शीर्षस्थानमा रह्यो ।
लिभरपुलले काराबागलाई ६-० को फराकिलो अन्तरले पराजित गर्यो । लिभरपुल ८ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । टोटनहमले फ्रान्कफर्टलाई २-० ले पराजित गर्यो । टोटनहम १७ अंकका साथ चौथोमा रह्यो ।
यस्तै चेल्सीले नापोलीलाई ३-२ गोलअन्तरले पराजित गर्यो । चेल्सी १६ अंकका साथ छैटौं स्थानमा रह्यो । म्यान्चेस्टर सिटीले गालातासारेलाई २-० ले हराउँदै आठौं स्थानमा रहेर अन्तिम १६ का लागि छनोट हुन सफल भयो ।
न्युकासलले भने पीएसजीसँग १-१ गोलको बराबरी खेल्दा शीर्ष ८ भित्र पर्न सकेन र १२औं स्थानमा रहेर प्लेअफका लागि छनोट भयो ।
च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।
प्रतिक्रिया 4