+

अष्ट्रेलियामा शिभालीको उत्कृष्ट प्रदर्शन, दुई खेल जित्दै सेमिफाइनलमा 

२०८२ माघ  १५ गते ९:४५ २०८२ माघ १५ गते ९:४५
अष्ट्रेलियामा शिभालीको उत्कृष्ट प्रदर्शन, दुई खेल जित्दै सेमिफाइनलमा 

१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।

अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेकी हुन् ।

शिभालीले ग्रुप ए को तेस्रो खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गरिन् । मेलवर्न पार्क–वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६–०, ६–१ ले सहजै पराजित गरिन् ।

यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।

ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन् ।

यस समूहबाट नेपालकी शिभाली र भारतकी जेन्सीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

शिभालीले अब सेमिफाइनलमा न्युजिल्याण्डकी मुसेम्मा सिलेकसँग बिहीबारै प्रतिस्पर्धा गर्नेछिन् । यो खेल मेलवर्न पार्क–वेस्ट कोर्ट १४ मा हुनेछ ।

भारतीय खेलाडी जेन्सीले भने जापानी खेलाडी आयोइ योसिदासँग प्रतिस्पर्धा गर्नेछिन् । यो खेल मेलवर्न–वेस्ट कोर्ट १२ मा हुनेछ ।

समूह ए बाट सिलेक र योसिदा पनि दुई–दुई खेल जित्दै सेमिफाइनल पुगेका हुन् ।

यसैगरी ब्वाइजतर्फ दक्षिण कोरियाका सियुन किम र अष्ट्रेलियाका टोमी कामुस, अखमादी माखानोभ र थिएन अनह ले सेमिफाइनल पुगेका छन् ।

एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गर्ल्स र ब्वाइज दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएर खेलाइएको थियो ।

शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय