+
+
Shares
विचार :

लोहिया–नेहरूको त्यो पत्र, गगन–विश्व सन्देश र केपी–बालेन यो कटाक्ष

भोलि संसद्मा प्रस्तुत दलहरू एउटै विन्दुमा आएर संविधान संशोधन गर्न तयार भएनन् भने राजनीतिक अस्थिरताको दुष्चक्रबाट नेपाल बाहिर आउनै सक्दैन ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८२ माघ १५ गते ७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चुनावलाई नै चुनौती हुनेगरी विभिन्न दलका नेता जस्तै– ओली, बालेन, हर्क, महेश लगायतको अभिव्यक्तिले नेपाल बन्छ र नेपालमै केही गरौं भन्ने भावना भएकालाई ठेस नै पुर्‍याएको छ ।
  • उत्तेजनाको राजनीतिले भोलि नेपाल निर्माण सम्भव छैन । राजनीतिक अस्थिरताकै कारण मुलुकले बर्बादी व्यहोर्नु पर्‍यो ।
  • दलहरूले ‘लोहिया–नेहरू’ले झैं राजनीतिक संस्कार देखाउन सकेनन् भने भोलि एउटै विन्दुमा चाहिं आउलान् कसरी ?

प्रतिनिधिसभाको आसन्न निर्वाचन नजिकिंदै गर्दा विघटित संसद्का उपल्लो तहका नेता बीच सार्वजनिक कटाक्षयुक्त उत्तेजक अभिव्यक्तिले सुरक्षा चुनौती त देखियो नै, एक्काइसौं शताब्दीमा पनि दलहरूले संस्कारको राजनीति गर्न नसक्दा दलहरूतर्फ ‘राजनीतिक संस्कार’को विषयमा प्रश्न समेत खडा भएको छ । प्रधानमन्त्रीका प्रत्यासीत्रय गगनकुमार थापा, केपी शर्मा ओली र बालेन्द्र शाह बीच एउटै मञ्चमा बसेर ‘सार्वजनिक बहस’ गरिनुपर्ने आवाज उठेलगत्तै कांग्रेस सभापति गगनकुमार थापाले आफू उक्त ‘पब्लिक डिबेट’का लागि तयार रहेको सन्देश दिए । उक्त पार्टीका उपसभापति विश्वप्रकाश शर्माले त उक्त बहस टुँडिखेलमै गर्न सकिने बताए ।

तर, एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भने– ‘पब्लिक डिबेटका लागि तयार छौं, नयाँ पुराना सबै दल अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्ष बीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी देश बनाउने तर्फबाट मैदानमा छ ।’

रास्वपाका वरिष्ठ नेता तथा उक्त पार्टीबाट प्रधानमन्त्रीका लागि प्रत्यासी बनाइएका बालेन्द्र शाहले तत्काल जवाफ फर्काइहाले । उनले भने– ‘आफूलाई देश जलाउनेका रूपमा स्वीकारेको त ठिकै छ, हुन पनि नेताहरूको घर कता–कता छन्, तपाईंहरूलाई नै थाहा थियो, तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ।’

ओली–बालेन यो ‘नेक्स लेवल’को कटाक्षले आगामी दिन ‘एमाले–रास्वपा’ मूठभेडको जोखिम बढाएको छ । निर्वाचन पछि एमाले बलियो बन्दा ओली नेतृत्वमा र रास्वपा बलियो बन्दा बालेन नेतृत्वमा सरकार निर्माण गरिने जोड–घटाउ एमाले–रास्वपाको छ । केपी–बालेन एउटै क्षेत्रबाट प्रत्यासी भएकैले पनि निर्वाचन जित्नै पर्ने दबाब उनीहरू दुवै जनामा छ ।

ओली निर्वाचन हार्दा तत्कालै एमाले भित्रैबाट राजीनामा मागिनेदेखि राजीनामा नदिए कांग्रेस नेता शेरबहादुर देउवाको नियति भोग्नुपर्ने विषयबाट ओली बेखबर छैनन् । उता, आफ्नै ‘क्रेज’का कारण पार्टीलाई बलियो बनाइने तर आफैं हार्दा आसन्न निर्वाचनको सम्पूर्ण राजनीतिक ‘बेनिफिट’ उक्त पार्टीका सभापति रवि लामिछानेले लिने एकातिर र अर्कातिर काठमाडौं महानगरको मेयर हुँदादेखि नै बालेनमाथि केपी समूहले लगाएको आरोपको पनि पुष्टि भइछाड्ने भएकैले झापा ५ बाट निर्वाचन जित्नै पर्ने दबाबमा बालेन पनि छन् ।

अब अलिकति ‘केपी–बालेन’ कटाक्षसँगै उत्पन्न राजनीतिक परिस्थिति र यतिबेला निर्वाह गर्नुपर्ने राजनीतिक संस्कारका बारे चर्चा गरौं ।

लोहिया–नेहरू पत्र

भारतीय समाजवादी नेता राममनोहर लोहिया, जवाहरलाल नेहरूको अत्यन्त आलोचक हुनुहुन्थ्यो । उहाँ व्यक्तिगत रूपमा भने सम्मान गर्ने भए पनि सिद्धान्तत: नेहरूको यति आलोचक हुनुहुन्थ्यो कि, अन्तत: नेहरू रहेको पार्टी नै परित्याग गरी नेहरूकै विरुद्धमा निर्वाचन समेत लड्नुभयो । नेहरूका विरुद्ध निर्वाचन लड्ने निष्कर्षमा पुगेलगत्तै लोहियाले नेहरूलाई एउटा पत्र लेख्नुभयो । दक्षिणएशियाकै राजनीतिमा उक्त पत्रले अर्थात् लोहियाले दिन खोजेको सन्देशको महत्व आज पनि छ । पत्रमा लोहिया लेख्छन् —

प्रिय प्रेसिडेन्ट,

यो सम्बोधन पढेर तपाईंलाई आश्चर्य लाग्ला तर, आज तपाईंलाई केही लेख्न म मजबूर भएको छु खास गरेर जब तपाईंका विरुद्ध चुनाव लड्ने फैसला गरें, धेरै नयाँ–पुराना कुरा याद आउन थाले । तर, राजनीतिमा निजी सम्बन्धले कुनै अर्थ राख्दैन । जब म कांग्रेसको अफिसबाट अन्तिम पटक बाहिर निस्किएको थिएँ, अरुणा आसफली साथमा थिइन् । उनले सोधेकी पनि थिइन्, यो के गरेको ? कहीं भावुकतामा हत्तपत्त निर्णय नहोस् । यतिका दिनपछि म यो निर्णयमा पुगेको छु कि, त्यो फैसला हतारमा गरिएको थिएन । तपाईं र मेरो त्यो आखिर भेट थियो ।

यो चुनावमा तपाईंको जीत निश्चितप्राय: छ । यदि तपाईं (नेहरू)ले हार्नुभयो भने म त खुशी नै हुनेछु, देशको पनि भलो हुनेछ । तपाईंलाई पनि सुधारिएको राम्रो मान्छे बन्ने मौका मिल्नेछ । सोच्दछु कि, तपाईंले मेरो यो पत्रलाई निर्वाचनमा प्रयोग गर्नुहुनेछ । निश्चित नै छ, तपाईंले आजसम्म मेरो जे–जति बिगार्नुभयो, योभन्दा ज्यादा बिगार्ने नै के छ र ? म चाहन्छु, तपाईंको चिरायु होस्, मलाई मौका मिलोस् कि, म तपाईंलाई सुधार्न सकौं र सन् ४७ भन्दा पहिलेको जवाहरलाल नेहरू बनाउन सकूँ ।

उही, तपाईंको

राममनोहर लोहिया

नेहरूले पनि तत्कालै जवाफ दिइहाल्नुभयो—

प्रिय राममनोहर,

विना तारिख र ठेगानाको तपाईंको पत्र पाएँ, किनकि; तपाईंको ठेगाना मसँग छैन, सोही कारण यो पत्र तपाईंको सोसलिष्ट पार्टीको ठेगानामा पठाउँदैछु । मलाई हर्ष छ, राजनीतिमा तपाईं जस्तो गम्भीर पुरुष मेरा विरुद्ध चुनावमा आउनुभएको छ । आशा छ, यो चुनावमा सिद्धान्तमा ज्यादा बहस हुनेछ । एउटा कुरोमा ध्यान राख्नुहोला, निजी चर्चा कम होस् । म आफ्नो तर्फबाट बचन दिन्छु कि, म त्यही गर्नेछु ।

तपाईंको,

जवाहरलाल नेहरू

सन् १९६२ मा भएको भारतको तेस्रो महत्वपूर्ण आम निर्वाचन पूर्वको सन्दर्भ थियो यो । धेरैको अनुरोधमा फुलपुर, इलाहावाद (हालको प्रयागराज) मा नेहरू विरुद्ध लोहिया निर्वाचन लड्नुभयो । यस प्रसंगलाई नेपाली प्रजातान्त्रिक आन्दोलनका एक योद्धा तथा विचारक सिके प्रसाईले आफ्नो ‘सिके प्रसाईका विचारहरू’ नामक पुस्तकमा रोचक ढंगले प्रस्तुत गर्नुभएको छ । अहिले भोटको राजनीतिका लागि राजनीतिक बजारमा चर्काे ‘स्टन्ट’ गर्नेहरूको बाढी नै छ । भोटको जोड–घटाउ वा भोट बटुल्न मात्र गरिने ‘चीज’को नाम राजनीति होइन । भोट त प्रबुद्ध वर्गको बसोबास रहेको काठमाडौंमा ‘नानीमैया दाहाल’ले पनि प्राप्त गरेर राष्ट्रिय पञ्चायत सदस्य भएकै हो ।

गेरुवा लगाउनु मात्र संन्यास होइन । आज भोटकै लागि उत्तेजक अभिव्यक्ति दिएर समाज नै भड्काउने प्रयत्न भएको पाइन्छ । आज विश्वभर मतदान गर्ने, मतदाता नामावलीमा नाम लेखाउनेहरूको संख्या घट्दै गएर विश्वभरका राजनीतिक शास्त्रीहरूलाई जसरी चिन्तित बनाएको छ, त्यसैगरी चुनावलाई नै चुनौती हुनेगरी विभिन्न दलका नेता जस्तै– ओली, बालेन, हर्क, महेश लगायतको अभिव्यक्तिले नेपाल बन्छ र नेपालमै केही गरौं भन्ने भावना भएकालाई ठेस नै पुर्‍याएको छ ।

यसै बीच बालेन, हर्क, महेश लगायत माथि निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधिसकेको छ । उनीहरूको अभिव्यक्तिले उनीहरूको दलले प्राप्त गर्ने मत घट्ने वा उनीहरूलाई मतदान गर्न तयार मतदाता भड्कनेसम्म त केही थिएन । ती मतदातामा जब ‘नेपाल बन्दैन’ भन्ने मनोविज्ञान पर्न पुग्दछ, तब त्यतिबेला भने देश नै हार्न पुग्दछ ।

गगन–विश्व सन्देश

‘वैधानिक विद्रोह’ मार्फत नेपाली कांग्रेसको नेतृत्व प्राप्त गर्ने अभियानमा जब नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीद्वय ‘गगन–विश्व’लाई सफलता प्राप्त भयो, तब उनीहरू यति जिम्मेवार रूपमा प्रस्तुत भए कि; देख्ने, सुन्ने आज सबै चकित छन् । देश, दुनियाँ चकित हुनु त स्वाभाविकै हो, ‘गगन–विश्व’लाई नै पार्टीबाट निष्काशन गर्ने ‘सात भाइ’ पनि उछिनपाछिन गर्दै हामी ‘गगन–विश्व’सँगै छौं भनेर सञ्चारमाध्यममा टिप्पणी छपाउँदै फुर्सद छैन ।

देउवा समूहले राष्ट्रिय सभा निर्वाचन लगत्तै ‘राष्ट्रिय भेला आयोजना गर्ने’ भन्ने ‘फेक न्यूज’ आउनासाथ पहिला देउवाकै सचिवालयले खण्डन जारी गर्‍यो । यसको मतलब ‘गगन–विश्व’को ‘वैधानिक विद्रोह’ त कांग्रेस पार्टी भित्र, जेनजी विद्रोह र समग्र देशकै भावना अनुसार पनि ठिक थियो नै । यो विषय आजसम्म आइपुग्दा अब बासी पनि भइसक्यो । तर, चर्चाको र नसेलाएको विषय चाहिं के हो भने– ‘गगन–विश्व’ले पार्टी र सिंगो मुलुकमा देखाएको परिपक्वपन । जेनजी विद्रोह लगत्तै र कांग्रेस पार्टी भित्रको ‘मिराकल चेञ्ज’सँगै यो निर्वाचनसम्म आइपुग्दा उनीहरूको ‘स्टेटमेन्ट’ हेर्दा नै स्पष्ट हुन सकिन्छ– उनीहरूको जिम्मेवारपूर्ण अभिव्यक्तिको नमूना ।

कांग्रेस सभापति थापा आफू प्रत्यासी रहेको निर्वाचन क्षेत्र झर्दा नझर्दै उनले भने– म उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ । उग्र वाम विचारको झल्को आउने एमाले अध्यक्ष केपी शर्मा र उग्रदक्षिणपन्थी विचार लाग्ने बालेनको ‘संवादमै नबस्ने’ अभिव्यक्तिका बीच कांग्रेस सभापति थापाको अभिव्यक्ति अत्यन्तै मध्यमार्गी तथा उत्तेजनालाई निरुत्साहित गर्ने नै देखिन्छ ।

पार्टीभित्रको लडाइँमा पनि ‘कोही नहारेको’ बताउँदै परिपक्व अभिव्यक्ति दिए्र मधेश झरेका सभापति थापामा उत्तेजनाको राजनीतिले देशै बर्वाद होला कि भन्ने काफी चिन्ता देखिन्छ । ८० वर्षे इतिहास बोकेको कांग्रेस पार्टीको कान्छो केन्द्रीय सभापति ‘गगन’लाई त्यसै प्रधानमन्त्रीका दावेदारका रूपमा उभ्याइएको होइन भन्ने उनकै अभिव्यक्तिले पनि पुष्टि गर्दछ । अर्थात् संस्कारको राजनीतिमा ‘गगन–विश्व’को पाइला एकैठाउँमा देखिन्छ ।

केपी–बालेन कटाक्ष

लेखको प्रारम्भमै, केपी–बालेन कटाक्ष बारे धेरथोर उल्लेख गरियो । संस्कारका हिसाबले ‘लोहिया–नेहरू’ झैं, केपी–बालेन प्रस्तुत भइदिउन् भन्ने अपेक्षा खण्डित गर्न उनीहरू नै उद्यत छन् । यो कटाक्ष आज मात्र देखा परेको होइन । काठमाडौंका मेयर बालेन रहँदै आवश्यकता भन्दा ज्यादा एमालेको एउटा पंक्ति ‘महेश बस्नेत सहित’ नचाहिंदो ढंगले बालेन विरुद्ध लागेकै हो । उता भदौ २३ र २४ को घटना बारे छानबिन आयोग बनेर आयोगले काम गरिरहेकै बेला एकाएक सडकबाट कोही कसैलाई ‘हत्यारा’ करार गरिदिने शैलीलाई पनि ठिक मान्न सकिन्न ।

विधि, पद्धति र कानूनलाई हातमा लिने सुविधा कसैलाई हुन्न, पालना सबैले गर्नै पर्दछ । उम्मेदवारी दर्ताकै दिन झापामा एक प्रकारको घटना घट्न पुग्यो । त्यो नै अन्तिम घटना होस् । थप बाहुबल प्रयोग गरेर स्थितिलाई नियन्त्रण भन्दा बाहिर लैजाने प्रयत्न कहींबाट पनि नहोस् ।

कांग्रेस सभापति थापाले भने झैं उत्तेजनाको राजनीतिले भोलि नेपाल निर्माण सम्भव छैन । राजनीतिक अस्थिरताकै कारण मुलुकले बर्बादी व्यहोर्नु पर्‍यो, भोलि संसद्मा प्रस्तुत दलहरू एउटै विन्दुमा आएर संविधान संशोधन गर्न तयार भएनन् भने राजनीतिक अस्थिरताको दुष्चक्रबाट नेपाल बाहिर आउनै सक्दैन । त्यसका निम्ति दलहरूले ‘लोहिया–नेहरू’ले झैं राजनीतिक संस्कार देखाउन सकेनन् भने भोलि एउटै विन्दुमा चाहिं आउलान् कसरी ? प्रश्नको जवाफ एकअर्काप्रति कटाक्ष गर्नेहरूसँगै छ ।

लेखक
सुदर्शन आचार्य

(आचार्य, नेपाली कांग्रेसकाे महासमितिका पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?