News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले १० दिनमा २१ वटा आचारसंहिता उल्लंघनका घटना पत्ता लगाएको छ र पाँच वटाको मात्र जवाफ प्राप्त भएको बताएको छ।
- आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
- ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ र आर्थिक विषय हेर्ने जिम्मेवारी प्रमुख कोष नियन्त्रकलाई दिइएको छ।
१५ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा आचारसंहिता उल्लंघनका २१ घटना भएका छन् । यीमध्ये पाँच वटाको मात्रै जवाफ आएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले १० दिनमा २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटाको मात्रै जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार बाँकी जवाफका लागि ताकेता भइरहेको छ ।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न भनेर आयोगले यही ४ माघबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।
यसबीचमा आचारसंहिता उल्लंघनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लंघनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण लिने कार्य निर्वाचन आयोगले गर्दै आएको छ ।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकबाट पनि बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ ।
साथै, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका अन्य विषयमा हेर्नेगरी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषय हेर्ने कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
प्रतिक्रिया 4