+
+
Shares
प्रतिनिधि सभा निर्वाचन :

मकवानपुर-२ : विकट क्षेत्रमा ‘बेदाग’ छविको परीक्षा

२०७९ को स्थानीय तहको प्रत्यक्ष र प्रतिनिधिसभाको समानुपातिक मतको आधारमा दलको सांगठनिक शक्तिमा एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तत्कालीन माओवादी (हाल नेकपा) भने तेस्रो शक्तिको रुपमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते ७:५४

२० माघ, हेटौंडा । मकवानपुरको दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्र भौगोलिक विकटता, विपन्न तथा अति सिमान्तकृतको बाक्लो बसोबास भएको ठाउँ हो ।

मध्यमवर्गीय समुदायको बसोबास रहेको यहाँ यतिबेला चुनावी सगर्मी बढ्दो छ । जनताको घरदैलोमा २१ जना उम्मेदवारहरु आफ्ना एजेण्डा बोकेर पुगिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालय, मकवानपुरका अनुसार १८ जना दलीय र ३ जना स्वतन्त्रले प्रतिस्पर्धामा भाग लिँदा २ जना मात्रै महिला छन् ।

चुनावी मैदानमा कतिपय उम्मेदवारले यहाँको संवेदनशीलता बुझेका छन् भने कतिले भर्खरै बुझ्दैछन् । अर्थात, परिचित अनुहार र नयाँ उम्मेदवारहरुको २ नम्बर क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुनेछ ।

यस क्षेत्रमा नागरिकको बग्रेल्ती दु:ख, कष्ट र समस्याको चाङ छन् । २०४६ को बहुदलदेखि संघीयतासहितको अभ्यास थालेको ८ वर्ष बितिसक्दा पनि २ नम्बर क्षेत्रको समस्या ज्युँकात्युँ छ । स्थानीय सरकारको कामबाट भने गाउँमा विकासको बाटो देखाएको आभाश नागरिकले गरेका छन् ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले मानव–वन्यजन्तुको द्वन्द्व भइरहने मनहरी गाउँपालिकादेखि यस क्षेत्रमा भौगोलिक विकटताको कठिनाइले अँध्यारा बस्ती अझै छन् । गाँजा-अफिम उत्पादन र ओसारपसार हुने भएकाले राक्सिराङ र कैलाशका सयौं नागरिक (अधिकांश युवा उमेरका) कारागारमा सजाय काटिरहेका छन् ।

भोकमरीको चपेटामा पर्ने अति सिमान्तकृत चेपाङ समुदाय बसोबास गर्ने राक्सिराङ, कैलाश गाउँपालिका, २०७० पछि शहरी क्षेत्रमा विकास हुँदै आएको पर्यटकीय गाउँ थाहा नगरपालिका, इन्द्रसरोबर, भीमफेदी गाउँपालिका यही क्षेत्रमा पर्छन् ।

मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा र प्रदेश मुकामसमेत रहेको हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडाबासी २ नम्बर क्षेत्रका मतदाता हुन् ।

नागरिकका अनेक दु:ख सुनाइरहने संवेदनशील भूगोल मानिने मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको सूचि जति लामो छ, उति नै जनताको अपेक्षा पनि ।

बर्तौला, लामा र विष्टबीच मुख्य प्रतिस्पर्धा

२ नम्बर क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

एमालेबाट महेश बर्तौला, कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट र रास्वपाबाट जेनजी उम्मेदवार प्रशान्त उप्रेती मैदानमा छन् ।

रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको हो ।

२०७९ को प्रतिनिधिसमा निर्वाचनमा यसै क्षेत्रबाट चार पटक सांसद भइसकेका विरोध खतिवडालाई हराएका एमालेका केन्द्रीय सदस्यसमेत रहेका ४३ वर्षीय बर्तौला दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । ५८ वर्षीय लामा कांग्रेस जिल्ला सभापति र ५४ वर्षीय विष्ट थाहा नगरपालिकाको निवर्तमान मेयर हुन् ।

शालिन व्यक्तित्व र छविमाथि लेखाजोखा

अघिल्लो निर्वाचनमा एमालेले ६२ वटा वडामा गरेर ३६ हजार ८३६, कांग्रेसले ३४ हजार १६९ र तत्कालीन माओवादीले २२ हजार २३७ मत ल्याएको थियो । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले २८ हजार २४६, कांग्रेसले २१ हजार ५६० र माओवादीले १३ हजार १३ मत पाएको थियो भने रास्वपाले ११ हजार २९७ मत ल्याएको थियो

२०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ल्याएको मतका आधारमा हेर्दा भने बर्तौला, लामा र विष्ट गरी तीन उम्मेदवार मुख्य प्रतिस्पर्धी हुन् ।

यी तीनै जना उम्मेदवारको भूगोलको राजनीतिमा समानता भने एउटै छ, शालिन स्वभाव र ‘बेदाग’ स्वच्छ छवि ।

सरकारमा मन्त्री बन्ने अबसर आउँदासमेत प्रतिनिधिसभाको मुख्य सचेतक रोजेका बर्तौलाले व्यक्तिगत रुपमा कुनै आरोपको सामना गर्नुपरेन ।

हालसम्म राजकीय भूमिकामा नरहेका लामा र २०७४ मा थाहा नगरपालिकाको मेयर भइसकेका नेकपा माओवादी पृष्ठभूमिका विष्टले पनि जनतासामू ‘बेदाग’ छवि बनाउन सके ।

मतदाताहरु भेट्दा राजनीतिक दल छनौटको विकल्पमा व्यक्तिको छविमाथि लेखाजोखा गर्ने मनसाय बनाएको बुझ्न सकिन्छ । ‘हामी मतदाताकोमा पुग्दा उहाँहरुले उम्मेदवारहरुको व्यक्तित्व र छविको बारेमा मिश्रित खालको कुराकानी गर्नुभएको छ । विगतमा थोरै व्यक्ति केन्द्रित र धेरै दलीय पहिचानका आधारमा मात्रै कुरा भएको पाउँथ्यौं । यो पटक अलि फरक महसुस भयो,’ एक नेताले अनलाइनखबरसँग भने ।

उम्मेदवारहरुको आ-आफ्नै प्रभाव क्षेत्र रहेको भूगोल छ । बर्तौलाको भीमफेदी, लामाको राक्सिराङ र विष्टको थाहा नगर उनीहरुका लागि धेरै भोट भएका क्षेत्र हुन् । आ-आफ्नो भूगोलमा राम्रो पकड बनाएका तीनै जनाबीच प्रतिस्पर्धा रोचक हुने अनुमान गर्न सकिन्छ ।

२०७९ को समानुपातिक मतको अवस्था

२०७९ को स्थानीय तहको प्रत्यक्ष र प्रतिनिधिसभाको समानुपातिक मतको आधारमा दलको सांगठनिक शक्तिमा एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तत्कालीन माओवादी (हाल नेकपा) भने तेस्रो शक्तिको रुपमा छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले ६२ वटा वडामा गरेर ३६ हजार ८३६, कांग्रेसले ३४ हजार १६९ र तत्कालीन माओवादीले २२ हजार २३७ मत ल्याएका थिए ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले २८ हजार २ सय ४६, कांग्रेसले २१ हजार ५६० र माओवादीले १३ हजार १३ मत पाएको थियो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ नै रास्वपाले ११ हजार २९७, राप्रपाले ३ हजार ४१ र तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५९० मत पाएको थियो ।

गत निर्वाचनमा यस क्षेत्रबाट ८२ हजार २ सय ९६ सदर मत खसेको थियो ।

२०८२ फागुन २१ मा हुने निर्वाचनमा कुल मतदाता एक लाख ५६ हजार ७ सय ९९ छन् ।

प्रतिनिधिसभा निर्वाचन-०७९ मा एमालेबाट बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।

यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।

गत निर्वाचनको मत हेर्दा बर्तौला बलियो उम्मेदवारको रुपमा देखिएका छन् । यसअघि गठबन्धन गरेका कांग्रेस र तत्कालीन माओवादी र नेकपा एकीकृत समाजवादी (हालको नेकपा)को आफ्नै उम्मेदवार रहेकाले यसपटक मत बाँडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?