२० माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देश विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको बताउँदै महामन्त्री पौडेलले अब सुधारिएको कांग्रेस नेतृत्वले नै देश विकासको नेतृत्व लिने दाबी गरेका हुन् ।
‘कांग्रेससँग नागरिकका गुनासा छन्’, महामन्त्री पौडेलले भने, ‘अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ ।’
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको मार्गचित्र तय गर्ने बताए । उनले भने, ‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ । तपाईँ सबैको साथ अपेक्षा गरेका छौँ ।’
देशैभर कांग्रेस उम्मेदवारहरू चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ ऊर्जा दिएको बताए ।
काठमाडौं–५ मा प्रतिनिधिसभा उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सो क्षेत्रको सांसदका रूपमा आफूले विगतमा इमान्दार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको दाबी गरे ।
प्रतिक्रिया 4