२० माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताहरूबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले विगतमा सांसदका रूपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताएका हुन् ।
‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरू छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ महामन्त्री पौडेलले भने । आफू सांसद रहँदा विष्णुमति करिडोरको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भइरहेको उनले बताए ।
काठमाडौं–५ बाट कांग्रेस उम्मेदवार रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए ।
‘रिङ रोड भद्रगोल अवस्थामा थियो,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ रिङ रोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दूरावस्था कम भएको उनको भनाइ थियो ।
मेलम्ची खानेपानी आयोजनाअर्न्तगतको पानी रिङ रोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बूढानीलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको पौडेलले बताए ।
‘हामी आइसके पछि निरन्तर पैरवी गरेर रिङ रोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ महामन्त्री पौडेलले भने, ‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो सम्भव भएको थियो ।’
प्रतिक्रिया 4