News Summary
Generated by OK AI. Editorially reviewed.- सिंगापुर एयरलाइन्सले मार्च र अप्रिल २०२६ मा सिंगापुर-काठमाडौं रुटमा वाइड बडी जहाज सञ्चालन गर्ने भएको छ।
- सातामा दुई उडान वाइड बडी जहाजबाट हुनेछन् जसमा ३ सय ३७ सिट उपलब्ध छन्।
- वाइड बडी जहाज बुधबार र शुक्रबार सञ्चालन हुनेछ र यात्रुहरूको लागि असीमित निःशुल्क वाइफाई सेवा उपलब्ध हुनेछ।
२० माघ, काठमाडौं । सिंगापुर एयरलाइन्सले मार्च र अप्रिल २०२६ को यात्रु चाप लक्षित गर्दै सिंगापुर-काठमाडौं रुटमा वाइड बडी जहजा सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार साताका सात उडानमध्ये दुई उडान वाइड बडी जहाजबाट सञ्चालन गरिने छ।
मार्च र अप्रिलमा यात्रु माग बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइड बडी जहाज प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्सको नेपालस्थित कार्यालयले जनाएको छ । वाइड बडी जहाज हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने सिट क्षमताका आधारमा सबैभन्दा ठूलो हो।
वाइड बडी जहाजमा कुल ३ सय ३७ सिट उपलब्ध हुनेछन्, जसमा ३६ बिजनेस क्लास र ३ सय १ इकोनोमी क्लास सिट छन् । बिजनेस क्लासका सिट ७६ इन्च लामो पूर्णरूपमा समतल हुने बेडमा परिवर्तन गर्न सकिने छन् भने सबै सिटमा सिधै आइज्ल (गलियारा) पहुँच उपलब्ध छ ।
इकोनोमी क्लासमा एर्गोनोमिक रूपमा डिजाइन गरिएका सिट, ६ तिर समायोजन गर्न मिल्ने हेडरेस्ट तथा घाँटीलाई राम्रो समर्थन दिने संरचना छ।
यात्रुहरूले सिंगापुर एयरलाइन्सको इन-फ्लाइट मनोरञ्जन प्रणाली क्रिसवर्ल्ड मार्फत १ हजार ९ सयभन्दा बढी चलचित्र, टीभी कार्यक्रम, संगीत एल्बम तथा खेल सुविधा पाउनेछन् ।
यस प्रणालीमा व्यक्तिगत प्लेलिस्ट बनाउने, सामग्री सेभ गरी अर्को उडानमा निरन्तर हेर्ने तथा यात्रु रुचि अनुसार सिफारिस प्राप्त गर्ने सुविधा पनि समावेश छ ।
वाइड बडी जहाजमा असीमित निःशुल्क वाइफाई सेवा उपलब्ध रहने छ । बिजनेस क्लास यात्रु, पीपीएस क्लब सदस्य तथा पूरक कार्डधारकले स्वतः असीमित वाइफाई प्रयोग गर्न सक्नेछन् । इकोनोमी क्लास यात्रुले भने निःशुल्क वाइफाई प्रयोग गर्न क्रिसफ्लायर सदस्य हुनुपर्ने छ, जुन निःशुल्क छ ।
सिंगापुर एयरलाइन्सका अनुसार मार्च र अप्रिलमा विदेश बसोबास गर्ने नेपाली स्वदेश फर्किने तथा नेपालबाट विदेश यात्रा गर्ने संख्या बढ्ने अपेक्षा छ। साथै, यही समय नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटक संख्या पनि उल्लेख्य रहने कम्पनीको विश्वास छ।
वाइड बडी जहाज मार्फत सञ्चालन हुने सिंगापुर-काठमाडौं उडान बुधबार र शुक्रबार हुनेछ । सिंगापुरबाट काठमाडौंतर्फको उडान साँझ ६:५५ बजे प्रस्थान गरी राति ९:४० बजे काठमाडौं आइपुग्ने छ ।
त्यस्तै काठमाडौंबाट सिंगापुरतर्फको उडान राति ११:०५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान ६:१५ बजे सिंगापुर पुग्ने तालिका छ ।
अन्य पाँच दिन (सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार) सिंगापुर-काठमाडौं उडान भने न्यारो बडी जहाजबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4