News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले २० माघ, चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको वार्म अप खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको छ।
- आरिफ शेखले ३७ बलमा ६१ रन र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ५० रन बनाएर शतकीय साझेदारी गरेका हुन्।
- नेपालले यूएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।
२० माघ, काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी बनाएपछि आईसीसी टी-२० विश्वकपको आफ्नो पहिलो वार्म अप खेलमा नेपालले यूएईलाई पराजित गरेको छ ।
मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
आरिफले ३७ बलमा अविजित ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा ५० रनमा नटआउट रहे । नेपाल ४५-३ को अवस्थामा हुँदादेखि यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए । हर्षित कौशिकले ३१ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
नेपालले अब अर्को वार्म अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ ।
टी-२० विश्वकपको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4