२१ माघ, विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन शाहले सम्पदा संरक्षणको क्षेत्रमा प्राथमिकताका साथ काम गरे । मेयरबाट राजीनामा दिएपछि झापाको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका बालेन भिन्न रूपमा देखिएका छन् ।
कम बोल्ने र एकै ठाउँमा धेरै नबस्ने बालेन भूगोल र संस्कृतिसँग घुलमिल हुने प्रयास गरिरहेका छन् । उनले प्रतिस्पर्धी केपी शर्मा ओलीलाई सांकेतिक रूपमा काउन्टर पनि दिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेपछि देश दौडाहमा निस्किएका बालेन ठाउँ अनुसारको भाषाशैलीमा प्रस्तुत भएका छन् । देश दौडाहलाई उनले मतदाताको मन जित्ने प्रयासस्वरूप सांस्कृतिक महत्वका विषयलाई बढी प्रचार गरिरहेका छन् ।
माघ ६ गते उम्मेदवारी दर्तापछि बालेनको पहिलो गन्तव्य बन्यो ताप्लेजुङको पाथिभरा मन्दिर । उनले इलाम पाँचथर, ताप्लेजुङमा पार्टीको चुनावी प्रचार गर्दै पाथिभरा (मुकुमलुङ)को दर्शन गर्दै धार्मिक सद्भावसँग जोड्ने प्रयास गरे । पाथिभरामा केबलकार पुर्याउने विषयमा विवाद भएको थियो । त्यहाँका पहिचानवादी नेताहरूले पवित्र मुकुङलुङलाई विकासको नाममा विगार्न नहुने भन्दै लामो आन्दोलन गरेका थिए ।

ताप्लेजुङबाट तेह्रथुम पुग्दा स्थानीय मन्दिरमा पुगे । पश्चिम यात्राका क्रममा पनि बाटोमा मठ-मन्दिर प्रवेश गरे । मंगलबार झापाको चुनावी प्रचारका क्रममा दुर्गा मन्दिरको दर्शन गरेको तस्वीर पनि सार्वजनिक भयो ।
बालेन बुधबार हिन्दू धर्मावलम्बीहरूले धर्तीको पहिलो तीर्थको रूपमा रहेको बराहक्षेत्र पुगे । त्यहाँबाट सुनकोशी, अरुण र तमोरको त्रिवेणीमा रहेको ‘खुवालुङ’ पुगेर किराँत समुदायको मुन्धुम र सभ्यतासँग जोडिएको एउटा जीवित आस्था खुवालुङ हो भन्ने सन्देश पनि दिए ।
यो त्यही खुवालुङ हो, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउन बाधा पुर्याएको भन्दै भत्काउने अभिव्यक्ति दिएका थिए ।
८ फागुन २०७७ मा विराटनगरमा आयोजित एक सभामा तत्कालीन प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट चलाउन तगारो बनेको खुवालुङ फुटाउने बताएका थिए ।
प्रधानमन्त्रीको अभिव्यक्ति किराँती समुदायमाझ डढेलो सरी फैलियो । त्यसपछि खुवालुङदेखि काठमाडौंसम्म विरोध भयो । ओली ब्याक भएनन्, तर विरोधका कारण योजना अघि बढेन ।
बुधबार खुवालुङ अगाडि खिचेको तस्वीर सामाजिक सञ्जालमा राख्दै बालेनले लेखेका छन्, ‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा ‘सभ्यताको द्वार’ मानिन्छ । मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो । यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्छ ।’

स्टाटसमार्फत विकासका नाममा सम्पदा विकासको विपक्षमा नभएको सन्देश पनि दिएका छन् उनले । किराँत धर्मावलम्बीहरूको मन जित्ने आधार खुवालुङलाई बनाएका छन् । यो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चालेको काउन्टर पनि हो ।
बालेनले आफ्नो चुनावी अभियानलाई ठाउँ अनुसारको अवतारको रूपमा प्रस्तुत गरेका छन् । सुदूरपश्चिम पुगेर उनले ‘सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई’ भन्दै पोस्ट गरेका थिए ।
त्यसपछि कर्णाली पुगेर ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’ भन्दै पोस्ट गरे । पश्चिम नेपालको यात्रा गर्दा त्यहाँको भाषामा प्रस्तुत भएका उनले पूर्वमा आउँदा किराँत संस्कृतिसँग जोडिएको संकेत दिए ।
धार्मिक महत्वका क्षेत्रहरूमा पुगेर बालेनले आफ्नो आधुनिकतावादी छविलाई आध्यात्मिक भावनात्मक प्रभाव देखाइरहेका छन् ।
बालेनको यो सक्रियता मतदाता फकाउने ‘सेन्टिमेन्टल मार्केटिङ’ पनि हो । तीन पटकका प्रधानमन्त्री र प्रभावशाली नेता केपी शर्मा ओलीविरुद्ध उभिएका बालेनले कहिले मन्दिर र कहिले खुवालुङको छेउमा उभिएर आफूलाई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि देखाएका छन् ।
विराटन गरका राजनीतिक विश्लेषक गिरिश भट्टराई बालेन मतदाताको मन जित्न धार्मिक सेन्टिमेन्टमा जोडिन खोजेको बताउँछन् ।
‘कताबाट जनताको मत संकलन गर्न सकिन्छ भनेर लागिरहेका छन्, सामाजिक सञ्जाल र इमोसनल्ली प्रयोग गर्न खोजिएको छ,’ उनले भने, ‘नेपालमा मात्रै हेर्ने होइन, भारतमा धर्मको राजनीतिले एकछत्र स्थान पाएको छ ।’

उनले थपे, ‘चुनावको पिक आवरमा बालेनले मतदातासँग कसरी जोडिन सकिन्छ भनेर धार्मिक यात्रा गरेका हुन् । निर्वाचनअघि भएको भए उनको यात्राको त्यस्तो चर्चा हुने थिएन ।’
सामाजिक सञ्जालको प्रयोग गरेर बालेनले भावनात्मक रूपमा मतदातासँग जोडिन खोजिरहेको भट्टराईले बताए । ‘सामाजिक सञ्जाललाई त समातेकै थिए, युवा जमातको सेन्टिमेन्ट त छँदै थियो,’ उनले भने, ‘उमेर पुगेका पुस्तामा बढी धर्मप्रति चासो छ । हरेक जात, वर्ग, समूह, उमेर समूहलाई बालेनले सकेसम्म नछोड्ने किसिमको प्रयास गरेको देखिन्छ ।’
मतदाता भेटघाटका लागि भने उनको शैली अन्य नेताको भन्दा फरक छ । बुधबार मोरङ, सुनसरी र उदयपुरको यात्रा गरेका बालेले मतदाताको अगाडि घण्टी बजाएर सांकेतिक रूपमा भोट मागे । कुनै क्षेत्रमा १० मिनेटभन्दा बढी बसेनन् ।
‘बालेन शाह १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने रणनीतिअनुसार दौडिरहनु भएको छ,’ रास्वपा नेता तथा मोरङ-३ का उम्मेदवार गणेश कार्की भन्छन्, ‘धेरै क्षेत्र घुम्नुपर्ने भएकाले अलिक हतार भए जस्तो देखिएको हो ।’

प्रतिक्रिया 4