+
+
Shares

सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान

हेमन्त केसी हेमन्त केसी
२०८२ माघ २२ गते १४:२६

२२ माघ, जाजरकोट । एटिएम भन्दावित्तिकै झट्ट हाम्रो दिमागमा पैसा निकाल्ने मेसिनको याद आउँछ । यद्यपि समयसँगै एटिएम मेसिन प्रयोगका क्षेत्र बिस्तार हुँदै गएको छ ।

नेपालका विभिन्न ठाउँमा पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने मेसिन प्रयोगमा आइरहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको सो मेसिनलाई ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) नाम दिइएको छ । केही समय भित्र मेसिनबाट खाद्यान्न बिक्री वितरण सुरु हुने प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार यो मेसिन पूर्णरूपमा अटोमेटिक टेलर मेसिन (एटिएम) प्रविधिमा आधारित छ ।

प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छिटो छरितो बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ग्रेन एटिएम (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याएको कार्यालय प्रमुख बुढाले जानकारी दिए । यस खालको एउटा मेसिन काठमाडौंस्थित खाद्यको केन्द्रीय कार्यालय र दोस्रो सुर्खेतमा जडान गरिएको हो ।

मेसिनले कसरी काम गर्छ ?

मेसिन पूर्णरूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने बताइएको छ ।

ग्राहकले बिक्री केन्द्रमा रहेको मेसिनमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बरलगायत विवरण राखेर २० केजी सम्मको अन्नको रकम भुक्तानी गरेर खाद्यान्न पाउने छन् ।

कर्णाली प्रादेशिक कार्यालय प्रमुख बुढाले भने, ‘चामल र परिमाण छनोट गरेपछि मेसिनले स्वचालित रूपमा बिल सिर्जना गर्छ र स्क्रिनमा क्युआर कोड देखाउँछ । उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एपमार्फत उक्त क्युआर कोड स्क्यान गरी भुक्तानी गरेपछि मेसिनको तल्लो भागबाट तोकिएको परिमाणमा खाद्यान्न झर्छ र उपभोक्ताले आफ्नो झोला वा बोरामा सो खाद्यान्न राखेर लैजान सक्छन् ।’

यो प्रविधि नयाँ भएकाले सुरुवाती चरणमा ग्राहकलाई सहजीकरण गर्न कम्पनीले कर्मचारी समेत खटाउने व्यवस्था रहेको छ । चामल खरिद गर्न यो मेसिनबाट एकटकमा न्यूनतम १ देखि अधिकतम २० किलोसम्मको रकम क्युआर गरेर खरिद हुने व्यवस्था छ । धेरै परिमाण आवश्यक भए पुन: अर्को पटक निकाल्न सकिने उनले जानकारी दिए ।

‘अब कम्पनीको गोदाममा गएर चामलको दररेट सोध्नेदेखि बोराहरू तलमाथि पार्ने झन्झटबाट मुक्ति मिल्ने छ,’ कार्यालय प्रमुख बुढाले भने, ‘आफूले लिन चाहेको खाद्यान्न उक्त मेसिनमा राखिएको संकेत आधारमा आवश्यक विवरण समावेश गरेर बिल अनलाइनबाट भुक्तानी गरी खाद्यान्न खरिद हुने व्यवस्था छ ।’

कर्णाली प्रादेशिक कार्यालय सुर्खेतबाट सुरुमा दुई प्रकारका खाद्यान्न (दाल र चामल) मात्र यो मेसिनबाट बिक्री–वितरण हुने छ ।

योभन्दा अगाडि खाद्यको प्रादेशिक कार्यालय सुर्खेतबाट एक/दुई केजी चामल खरिद गर्न पाइँदैनथ्यो । २५ केजीभन्दा माथि खाद्यान्न खरिद गर्नका लागि मात्र यहाँ आउने गरिथ्यो । अब भने एटिएम मेसिनबाट उपभोक्ताले एकदेखि २० केजीसम्म समेत खरिद गर्न पाउने छन् ।

कर्णालीका सबै जिल्लाका मुकाम तथा पालिकामा आवश्यकता अनुसार कम्पनीका बिक्री केन्द्र तथा डिपोहरू रहेका छन् । त्यहाँबाट पोसिलो चामलदेखि अन्य खाद्यान्न कर्णालीमा बिक्री हुँदै आएको छ ।

कम्पनीसँग मिलेर प्रदेश सरकारले मिल स्थापना गर्नका लागि डीपीआर पुरा गरी अब बोलपत्रको तयारीमा छ । कृषि विकास निर्देशनालयले बोलपत्र गर्ने अधिकार पाएको छ । निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार कृषि मन्त्रालयबाट आवश्यक कागजातहरू प्राप्त हुनासाथ अध्ययन गरेर बोलपत्र निकालिने बताए ।

हालसम्म मन्त्रालयबाट कागजात प्राप्त नभएको उनले बताए । कर्णालीका उत्पादनलाई लोगो राखेर बिक्री गर्ने गरी प्रदेश सरकारले निर्णय गरे पनि व्यवहारमा अझै लागू हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?