२३ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ छन् ।
रुपेश काभ्रेको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३२ का बासिन्दा हुन् । हिरा भने धादिङको खनेबास घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ६ का बासिन्दा हुन् ।
रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ ठगेको पाइएको प्रहरीले जनाएको छ । यसैगरी हिराले स्लोभाकिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरेर विदेश नपठाइ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाउने गरी बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भएका भन्दै पीडितहरुले उजुरी दिएका थिए । सोही उजुरी अनुसार अनुसन्धान गरी उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4