काठमाडौं । भारत सरकारले संघीय बजेट २०२६/२७ मार्फत देशभर सातवटा उच्च–गतिको रेल (बुलेट ट्रेन) करिडोर विकास गर्ने योजना ल्याएको छ ।
भारतले हाल मुम्बईदेखि अहमदावाद जोड्ने ५०८ किलोमिटर लामो बुलेट रेल–वे बनाइरहेको छ । संघीय बजेट २०२६/२७ मार्फत् थप ७ बुलेट ट्रेन करिडोर निर्माणको महात्वाकांक्षी योजना अघि सारिएको हो ।
भारत केन्द्र सरकारका वित्त मन्त्री निर्मला सीथारमणले यही फेब्रुअरी १ तारिखमा आर्थिक वर्ष २०२६/२७ को वार्षिक बजेट सार्वजनिक गरेकी थिइन् । सो बजेट भाषणमा उल्लेख भए अनुसार मुम्बई–पुणे, पुणे–हैदराबाद, हैदराबाद–बेंगलुरु, हैदराबाद–चेन्नई, चेन्नई–बेंगलुरु, दिल्ली–वाराणसी (बनारस) र वाराणसी–सिलिगुडी जोड्ने गरी ‘बुलेट ट्रेन’ करिडोर बनाइने छ ।
बजेट भाषणपछि पत्रकार सम्मेलन गर्दै रेल मन्त्री अश्विनी वैष्णवले करिब ४ हजार किलोमिटर लामो यी सात बुलेट ट्रेन करिडोरको निर्माण एकसाथ अघि बढाइने बताए । ‘सन् २०४७ सम्म विकसित भारत बनाउने लक्ष्य पूरा गर्न यी परियोजना अत्यन्तै महत्वपूर्ण छन्,’ वैष्णवले भनेका छन् ।
यी करिडोर सञ्चालनमा आएपछि प्रमुख शहरबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्नेछ ।
रेल मन्त्री वैष्णवका अनुसार मुम्बई–पुणेको दुरी ४८ मिनेटमा छोट्टिने छ । पुणे–हैदराबाद १ घण्टा ५५ मिनेटमा, हैदराबाद–बेंगलुरु २ घण्टामा र हैदराबाद–चेन्नई २ घण्टा ५५ मिनेटमा पुगिने छ ।
यसैगरी चेन्नई–बेंगलुरु १ घण्टा १३ मिनेटमा, दिल्ली–वाराणसी ३ घण्टा ५० मिनेटमा र वाराणसी–सिलिगुडी २ घण्टा ५५ मिनेटमा पुगिने छ ।
मेची पारी गुड्ने छ बुलेट ट्रेन
यी सात करिडोरमध्ये दिल्ली–बनारस र बनारस–सिलिगुडी जोड्ने रेलमार्ग नेपालका लागि पनि अर्थपूर्ण छन् । किनभने यी नेपालको सीमा नजिक पर्दछन् ।
बनारस–सिलिगुडी जोड्ने रेल पटना हुँदै जाने छ । यो रेलमार्गलाई भविष्यमा आसामको गुहावटीसम्म पुर्याउने भारतको लक्ष्य छ ।
सिलिगुडी नेपालको पूर्वी सिमाना काँकडभिट्टा पानीट्यांकी नजिक पर्दछ । यो बंगलादेशसम्म पुग्ने छोटो मार्ग पनि हो ।
यही मार्गमा ‘चिकन्स नेक’ भनिने भूभाग पर्दछ । २२ किलोमिटर मात्र फराकिलो यो क्षेत्रले नेपाल, भारत, भुटान र बंगलादेशलाई जोड्छ । यो कुखुराको घाँटी जस्तो साँघुरो भएकाले ‘चिकन्स नेक’ भनिएको छ । यो भारतका आठ उत्तरपूर्वी राज्यहरुलाई जोड्ने एक मात्र स्थलमार्ग हो । त्यसैले यसलाई रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ ।
यही ठाउँमा भारतले बुलेट ट्रेन ल्याउने योजना बनाएको हो । नेपालको मेची पारी भारतीय भूभागमा यो ठाउँमा ४० किलोमिटर लामो भूमिगत टनेलभित्र बुलेट रेल चलाउने योजना छ ।
यो समथर मैदानी भाग हो । यहाँ जमिन माथि गुड्ने ब्रिटिशकालीन दुईतर्फी रेलमार्ग छ । त्यसलाई स्तरोन्नति गरेर चार लेनको बनाइँदै छ ।
त्यसको मुनि टनेल खनेर द्रुत गतिको रेल गुडाउने योजना भारतले बनाएको छ । रणनीतिक महत्वको ‘चिकन्स नेक’मा करोडौं खर्च गरेर टनेल मुनि रेल गुडाउने भारतको यो योजनालाई चासोका साथ हेरिएको छ ।
नयाँ आर्थिक करिडोर बन्ने दाबी
दिल्ली–वाराणसी–सिलिगुडी करिडोरले उत्तर प्रदेश, बिहार हुँदै पश्चिम बंगालसम्म नयाँ आर्थिक करिडोर निर्माण गर्ने भारतका रेल मन्त्री अश्विनी वैष्णवको भनाइ छ ।
चेन्नई, बेंगलुरु र हैदराबादलाई जोड्ने करिडोरलाई रेल मन्त्री वैष्णवले ‘दक्षिण हाई–स्पिड डायमन्ड’को संज्ञा समेत दिएका छन् । यसले कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु, केरल र पुदुच्चेरीमा आर्थिक गतिविधि तीव्र बनाउने विश्वास सरकारको छ ।
सरकारका अनुसार उच्च–गति रेल परियोजनाले केवल यात्रा सहज मात्र बनाउने छैन, बरु क्षेत्रीय विकास, रोजगारी सिर्जना र लगानी प्रवाहमा समेत महत्वपूर्ण योगदान पनि पुर्याउने छ ।
‘यो नेटवर्क दक्षिण भारतका लागि विकासको शक्तिशाली माध्यम बन्नेछ,’ मन्त्री वैष्णवले भनेका छन्, ‘स्वास्थ्य, शिक्षा र अन्य आर्थिक गतिविधिमा तीव्र वृद्धि हुनेछ ।’
प्रतिक्रिया 4