+
+
Shares

ज्योति मगर : जनता नभएको देशको सच्चा जनता

आवेग भएका र विचार नभएका मानिसहरू आफ्नो कमजोरीलाई ढाक्नका लागि बेलाबेला राष्ट्रिय झन्डा ओढ्ने गरेको ज्योतिको दृष्टिकोण छ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ माघ २४ गते १०:१२

ज्योति मगर । यो नाम सुन्नेबित्तिकै बहुसंख्यक मानिसहरूको मस्तिष्कमा एउटा विरुप चित्रको निर्माण हुन जान्छ । परिधान र प्रवृत्तिमा विकृति भरिएको एउटा तस्वीर दिमागमा कोरिन जान्छ । हुन त ज्योतिले संगीतमा पनि योगदान नदिएकी होइनन्, तर आम मानिसहरूका लागि भने ज्योति केवल कामुक तस्वीर मात्र हुन गइन् ।

तर, ख्याल गर्नु पर्ने कुरा, ज्योति ती सस्ता आम व्याख्या भन्दा माथि उठेकी चरित्र हुन् । र त्यो चरित्र जुन हाम्रो धारहीन आम मस्तिष्कले छुट्याउन सकेको छैन, त्यो अत्यन्त दुर्लभ चरित्र हो । ज्योति जनता लोप हुँदै गएको देशकी जनता हुन्।

हुन त लोकतन्त्र जनताको हो भनेर भन्न सजिलो छ । लोकतन्त्रको केन्द्रविन्दु जनता हुन् र नेताजन परिधिमा रहेर परिभ्रमण गर्ने सेवक हुन् भनेर कल्पना गर्दा हाम्रो फोस्रो अभिमान अझै फुल्दै जान सक्छ । तर व्यवस्थाको केन्द्र जनता हुने भएपछि जनता हुनु चाहिँ सजिलो हुँदैन । शक्ति आफैँमा उत्तरदायित्वको पर्याय भएकाले पराश्रित मनोवृत्ति भएका जनताहरू भने लोकतन्त्रको केन्द्र हुँदैनन् । त्यसैले त हामी तिनै नेताजनका कठपुतली हुँदै आएका छौँ ।

पछिल्लो समय ज्योतिले आम मानिसबाट आलोचना खाइरहनुमा अर्को कारण थपिएको छ । त्यो कारण हो– उनी जनता नभएको देशमा जनता हुने कष्ट उठाउँदै छिन् । ज्योति लामो समयदेखि आफ्नो राजनीतिक विचारहरूको सामाजिक अभिव्यक्तिबाट आलोचित हुँदै आइरहेकी छिन्।

कार्तिक २० को कुरा हो। तत्कालीन सञ्चारमन्त्री जगदीश खरेललाई भेट्न कलाकारहरूको समूह नै गएको थियो । जानुको उद्देश्य थियो– सिनेमा क्षेत्रका अभावहरूबारे, समस्याहरूबारे मन्त्रीज्यूलाई अवगत गराउनु । त्यहाँ असल नीतिको अभावको कुरा उठ्यो। चलचित्रमा रहेका अपुगताहरूको बारेमा कुरा उठ्यो।

त्यसै क्रममा नीति शाहले भ्यानिटी भ्यानको कुरा उठाइन् । लोकेसनमै गएर सुटिङ गर्नुपर्दा महिलाहरूका नितान्त निजी सुविधाको भ्यानिटी भ्यानको कुरा आवश्यक नै थियो । तर यसै कुरालाई लिएर ज्योति फेसबुकमा व्यङ्ग्यको शैलीमा लेखिन्– ‘आम नेपालीले सिटामोल खान पाएका छैनन्, आम नेपालीका बालबच्चाहरूले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हिरोइनहरूलाई सुसु गर्न सजिलो होस् भनेर भ्यानिटी भ्यान चाहिएको छ ।’

आधारभूत रूपमा यो स्टाटस नीति शाहको मागलाई ओझेल पार्ने हिसाबले लेखिएको भने देखिँदैन । यो फेरि पनि कानै चिरेका जोगीहरूको मन्त्रीमण्डललाई प्रहार गरिएको शब्दवेधी तीर थियो । वास्तविक देशसँग छुट्टिएर आत्मरतिमा रमाइरहेको सरकारप्रतिको कटाक्ष थियो। सरकारको प्राथमिकता क्रममाथि गरिएको प्रश्न थियो ।

अब यसमा ‘हाम्रो प्राथमिकता त चुनाव गराउनु थियो’ भनेर निवर्तमान मन्त्री खरेल उम्किने ठाउँ नै छैन । आफैँ चुनावमा होमिएपछि उनको तार्किक अस्त्र निरुपाय भएको छ । केही सीमित समूहमा भने उनको बौद्धिकतामाथि प्रश्न समेत गरिएको छ । भलै उनका शब्दहरू तथाकथित विद्वान् वर्गको भन्दा अपरिष्कृत होलान्, तर उनले उठाएका प्रश्नहरू भने त्यस्ता कथित विद्वतालाई पनि फिक्का तुल्याउने खालका छन् । विद्वता शब्दको कोरीबाटी मात्र होइन, असली प्रश्न गर्ने साहस पनि हो।

जेनजी आन्दोलनपश्चात् ज्योतिले कतिपय अन्तर्वार्ताहरूमा आन्दोलनका बारेमा आफ्ना धारणाहरू व्यक्त गरेकी थिइन् । समय बदलिसकेको थियो । नेपाली भूमि नयाँ भइसकेको थियो । नेपाल सेप्टेम्बर 8 पश्चात्को भूमि भइसकेको थियो । बानेश्वरमा बहेको रगतले सिङ्गै नेपालको मनोविज्ञानमा प्रभाव पारिसकेको थियो । तर यस सिक्काको अर्को पाटो पनि थियो।

सुदन गुरुङ, मिराज ढुङ्गानाहरू तारिफको पुल चढिरहेका थिए । जेनजीको अभिप्राय विपरीतको अराजकतालाई सकारात्मक आलोकमा उभ्याउने चेष्टा भइरहेको थियो । तर ज्योतिले त्यस समयको सामूहिक भावनामा आफूलाई बाँध्न असहमत भइन् । उनले आन्दोलनको वास्तविक प्रयोजनमाथि प्रश्न उठाइन् । प्रयोजन र परिणतिबीचको दूरतालाई जनतामाझ देखाउने प्रयास गरिन् । संयोगले नेता बन्न पुगेकाहरूको राजनीतिक चेतनामाथि औँला उठाइन् ।

ज्योति आफूभित्रका अन्य विभिन्न ज्योतिहरूलाई बिस्तारै फक्रन दिँदै छिन् । उनका नयाँ व्यक्तित्वहरूले उनको अस्तित्वलाई गरिमामयी आयाम प्रदान गरिरहेका छन् । उनको चेतनाको असामान्य स्तरले उनलाई हेर्ने आम दृष्टिकोणहरूलाई भत्काउँदै गइरहेको छ ।

भर्खरै ज्योति मगरको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा छाएको छ । त्यसमा केही प्रश्नकर्ताहरूले उनलाई केपी ओलीको समर्थन गरेको भन्दै प्रश्न गरेका थिए । त्यहाँ पनि उनले संयम गुमाएको भीडलाई प्रश्न गर्नु र केपी ओलीको समर्थन गर्नु पृथक् कुरा हुन् भनेर भनेकी छिन् ।

त्यो भिडियोमा पनि उनले जेनजी आन्दोलनहरूलाई हाम्रा पुराना ऐतिहासिक आन्दोलनहरूसँग जोडेर एउटा विचार दिएकी छिन् । पुराना आन्दोलन र हत्याकाण्डहरूमा तत्कालीन सरकारहरूले पनि त्यसको जिम्मा लिएका छैनन् । यो आजको गलत अभ्यासहरू कसरी पुराना प्रवृतिहरूसँग जोडीएका छन् ,तथाकथित पत्रकारहरूलाई आरम्भदेखि समस्याको समाधान खोज्न आग्रह गर्नु ज्योतिको अर्को बौद्धिक पक्ष थियो ।

शायद ज्योतिले मात्र होला यस आन्दोलनलाई ‘हिट अफ द मोमेन्ट’सँग पनि जोडेर हेरेकी छिन् । आन्दोलनहरू कसरी कहिलेकाहीँ भीडको मनोविज्ञानले डोहोरिएर अराजक क्रियाकलाप गर्न पुग्छन्, ज्योतिले यस विषयमा पनि आफ्नो कुरा राखेकी छिन्।

जेनजी आन्दोलनको करणी र कथनीबीचमा पनि ठूलो भिन्नता थियो । जुन तरिकाले आन्दोलन गरिने भनिएको थियो त्यस अनुरूप भने आन्दोलन भएको थिएन । ज्योतिका वाक्यहरू त्यस प्रदर्शनात्मक विरोध नै खराब हो भन्ने विषयमा भने थिएनन् । उनले केवल प्रदर्शनमा संलग्न हिंसाजनित कुराहरूमाथि मात्र प्रश्न उठाएकी हुन् । उनी प्रष्ट छिन्- कमजोर समयको मौका छोपेर नेता बन्न गएका पात्रहरूको योग्यतामाथि उनको सन्देह जीवित नै छ ।

बिहीबार सामाजिक सञ्जालमा उनले राष्ट्रिय झण्डाको आवरणमा देशलाई नै क्षति पुर्‍याउने प्रवृत्ति बढेको भन्दै चिन्ता प्रकट गरेकी छन् । ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने मान्यतालाई नै अन्तिम सत्य मानेर हिडिरहेका उम्मेदवारलाई ज्योतिले टड्कारै चिनेको आभास हुन्छ ।

‘नेपालको झण्डा ओढेर राजनीति गरेको देखेँ, झण्डा ओढेरै देश छोड्दै गरेको र नागरिकता त्यागेको पनि देखेँ। देशकै झण्डा ओढेर देश नै खतम छ भन्दै गाली गरेको पनि देखेँ’, उनी लेख्छिन्, ‘देशको झण्डा ओढेर एक पटक देश विदेशीलाई दियो भने भारतमा ब्रिटिसले विकास गरे जस्तै विकास गर्दिन्छन् भनेको नि देखेँ ।’

आखिर भिन्न मत राख्न पनि डराउनु पर्ने स्थितिमा समेत आफ्नो साहसिक अभिव्यक्ति राख्न नडराउने ज्योतिले आवेग भएका र विचार नभएका मानिसहरू आफ्नो कमजोरीलाई ढाक्नका लागि बेलाबेला राष्ट्रिय झन्डा ओढ्ने गरेको अवलोकन गर्न सक्नुले उनको दृष्टिकोणको मिहीनतालाई फेरि एकपटक देखाएको छ ।

‘मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झण्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारपूर्वक टुलुटुलु हेर्नु मेरो आजभोलिको दिनचर्या भएको छ,’ उनले लेखेकी छिन् । राष्ट्रवादलाई आफ्नो अपूर्णता ढाक्ने साधनको रूपमा मानिरहेका नेताजनदेखि जोगिनु पर्ने समयमा ज्योतिका स्टाटसहरूले ‘कोही जनता छ’ भन्ने प्रत्याभूति दिइरहेका हुन्छन् ।

हामी विल्कुलै नयाँ समयमा प्रवेश गरेका छौँ । बालेन र रविको समर्थक नहुनु समाजमा असान्दर्भिक हुनु भन्ने भाष्यको निर्माण भइरहेको छ । यो व्यवस्था त फरक मतप्रतिको सहिष्णुताको लागि लक्षित थियो । तर लोकतन्त्र समयक्रममा विद्रुप हुँदै जाँदा, जनताहरू सुषुप्त हुँदै जाँदा ज्योति मगरहरूको जन्म हुनुपर्छ ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?