News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक सुरुवात मुम्बईको वाङ्खेडे रंगशालामा शनिबार साँझ हुने उद्घाटन समारोहबाट हुनेछ।
- नेपालले समूह 'सी' मा वाङ्खेडे रंगशालामा चार खेल खेल्दै दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदै सुपर एटमा पुग्ने लक्ष्य राखेको छ।
- दक्षिण एसियामा राजनीतिक विवादका कारण बंगलादेशले भारतमा खेल्न अस्वीकार गर्दा स्कटल्यान्डलाई प्रतिस्थापन गरिएको र पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको छ।
२४ माघ, मुम्बई । मुम्बईस्थि आइकोनिक वाङ्खेडे स्टेडियम । जहाँ आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक सुरुवातको भएको घोषणा आज हुँदैछ ।
यही स्टेडियममा शनिबार साँझ संगित र खेलको मिश्रण देख्न पाइनेछ । वाङ्खेडे रंगशालमा सांगित माहोल हुनेछ आतिशवाजी हुनेछ र त्यससँगै औपचारिक रूपमा सुरु हुनेछ—आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ।
जहाँ सह आयोजक भारतले समूह ए को खेलमा अमेरिकासँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोहका कार्यक्रम हुनेछ ।
हुन त टी-२० विश्वकपको खेलहरू शनिबार चाँडै सुरु भइसकेको छ । अर्को सह आयोजक श्रीलंकामा समूह ‘ए’ कै पाकिस्तान र नेदरल्यान्ड्सबीच पहिलो खेल सुरु भइसकेको छ । यस्तै समूह सी मा रहेको वेष्ट इन्डिज र स्कटल्याण्ड भारतको कोलकातास्थित एडेन गार्डेनमा दिउँसो प्रतिस्पर्धामा उत्रनेछन् ।
क्रिकेटको छोटो फर्म्याट टी-२० विश्वकपको इतिहास दुई दशक पूरा हुँदैछ भने पुरुष टी-२० विश्वकपको यो दशौं संस्करण हुनेछ ।
सन् २००७ मा भारतबाटै सुरु भएको टी–२० विश्वकप क्रिकेटले दुई दशक पूरा गर्दै गर्दाको ऐतिहासिक क्षणको साक्षी पनि वाङ्खेडे रंगशाला बन्नेछ । टी-२० क्रिकेटलाई सबैभन्दा रोमाञ्चक, ग्ल्यामरस र अनुमान गर्न नसक्ने खेलको रुपमा हेरिन्छ । क्रिकेटको रोमाञ्चक ढाँचाको रुपमा यसलाई हेरिन्छ ।
भारत र श्रीलंकामा अबको एक महिना टी-२० विश्वकप क्रिकेटको माहोल हुनेछ । दुई दक्षिण एसियाली राष्ट्रमा सञ्चालन हुने यस विश्वकप क्रिकेट एक प्रतियोगिता मात्र क्रिकेटकै महाउत्सव पनि हो । जहाँ विश्वका उत्कृष्ट २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
२० दिन सम्म चल्ने यस प्रतियोगितामा कूल ५० खेल हुनेछ र २० टोलीबाट अन्तिममा एक टोली च्याम्पियन बन्नै टी२० विश्वकपको ट्रफी उठाउनेछ ।
दक्षिण एसियामा विश्वकपको घरफिर्ती र विवादको छायाँ
टी–२० विश्वकप पुन: एकपटक दक्षिण एसियामा फर्किएको छ । तर दक्षिण एसियाकै केही राष्ट्रबीचको राजनीतिक र कुटनितिक टकरावको कारण टी-२० विश्वकपको माहोल भने छायाँमा परेको छ ।
बंगलादेश टी-२० विश्वकपबाट बहिर्गमन हुनु र पाकिस्तानले श्रीलंकामा हुने भारत विरुद्धको खेल बहिस्कार गर्ने घोषणा गर्नुले टी-२० विश्वकप सुरु हुनुअघि नै केही नमज्जा बनेको छ । खाने बेला सुरुमै किरकिर लागे जस्तो बनेको छ ।
दक्षिण एसियामा क्रिकेटको चर्को समर्थन छ । क्रिकेटका लागि पागल बन्नेहरू यहीँ छन । क्रिकेटको माहोलमा टी-२० विश्वकपको उत्साहले अझ रमाइलो बनाएपनि केही विवादले छायाँमा पारेको हो ।
बंगलादेशको अनुपस्थिति र पाकिस्तानले भारतविरुद्ध श्रीलंकामा हुने खेल बहिस्कार गर्नुपर्ने निर्णयले विश्वकपको सुरुआती दिनमै चर्चा क्रिकेटभन्दा बाहिर पनि पुगेको छ।
तर मैदान बाहिर जे भएपनि जसले जे कुरा गरेपनि अन्तत क्रिकेटको पहिलो बल पिचमा फालेपनि मैदान भित्रको प्रतिस्पर्धा सुरु हुनेछ र त्यसले अन्य विवादलाई छायाँमा पार्ने आशा गरिएको छ ।
बीसीसीआईले बंगलादेशी बलर मुस्ताफिजुर रहेमानलाई कोलकता नाइडर्सको टोलीबाट हटाउन निर्देशन दिएपछि विवादको कथा सुरु भएको थियो ।
त्यसपछि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा विश्वकप नखेल्ने र श्रीलंकामा आफ्नो खेल सार्न आग्रह गर्यो । साथै भारतको क्रिकेट गतिविधिलाई आफ्नो देशमा बन्देज लगाउने निर्णय पनि गर्यो ।
बंगलादेशले विश्वकप खेल्ने तर आफ्ना खेलहरू बाहिर सार्नुपर्ने अडान कायमै राख्यो । तर आईसीसीले छोटो समय बाँकी रहँदा यो सम्भव नभएको भन्दै बंगलादेशलाई भारतमै खेल्न भनेको थियो । बंगलादेश आफ्नो अडानमा कायमै रहँदा आईसीसीले बंगलादेशलाई हटाएर अन्तिममा स्कटल्यान्डलाई टी-२० विश्वकपमा समावेश गर्यो ।
यसपछि पाकिस्तानले पनि बंगलादेशको निर्णयमा ऐक्यबद्धता जनाउँदै विश्वकप खेल्ने/नखेल्ने निर्णय गर्न केही दिन लगायो । त्यसपछि पाकिस्तान सरकारले श्रीलंकामा टी-२० विश्वकप खेल्न जाने तर भारत विरुद्धको खेल बहिस्कार गर्ने निर्णय गर्यो । यो निर्णयले आयोजक र भारतलाई आश्चर्यमा पार्यो । यसको सम्भावित असरदेखि यसले पर्ने करोडौंको घाटाको बारेमा पनि चर्चा भइरहेको छ ।

वाङ्खेडेमा ओपनिङ सेरेमोनी
जब खेलकुदमा संगीत जोडिन्छ त्यसको मज्जा अझ बेग्लै हुन्छ । ठिक त्यस्तै हुनेछ शनिबार साँझ वाङ्खेडे रंगशाला । यो रंगशाला क्रिकेट मैदान मात्र नभई केही बेरका लागि एउटा विशाल मञ्च बन्नेछ । जहाँ विभिन्न कलाकारले आफ्नो जोडदार प्रस्तुतिका साथ दर्शक र समर्थकलाई क्रिकेटअघि सांगितक माहोलको मज्जा दिनेछन् ।
उद्घाटन समारोहमा संगीत, नृत्य र अत्याधुनिक दृश्यको प्रभाव देख्न पाइनेछ । टी-२० विश्वकप ट्रफीको भव्य आगमनसँगै यो विश्वकप आधिकारिक रूपमा सुरु हुनेछ ।
थुप्रै ऐतिहासिक पलहरू देखिसकेको वाङ्खेडे स्टेडियम आज फेरि अर्को क्रिकेटिङ अध्यायको साक्षी बन्नेछ ।
भारतीय समय अनुसार साँझ ६ बजेदेखि उद्घाटन समारोह कार्यक्रम सुरु हुनेछ ।
क्रिकेटको छोटो फर्म्याटको यो मेलामा संगितलाई पनि जोड्ने प्रयाससहित उद्घाटनको महफललाई भव्य बनाउने प्रयास गरिएको छ । जहाँ संगीत, विशाल नृत्य संयोजन र दृश्यात्मक प्रस्तुतिसहितको आकर्षक मञ्चमा रूपान्तरण हुनेछ ।
उद्घाटन समारोहमा भारतीय कलाकार ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् । यी चार जनाको प्रस्तुतीले रंगशालालाई सांगीतिक माहोलले भरिने आईसीसीले जनाएको छ ।
वाङ्खेडेमा इतिहास रच्ने नेपालको लक्ष्य
छिमेकी भारतमा टी-२० विश्वकप अनि नेपालको तेस्रो सहभागिता । नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ । कुनै बेला टी-२० विश्वकपमा छनोट हुनु नै सपना रहेको नेपाली क्रिकेटका लागि अब छनोट हुनु नौलो कुरा रहेन । टी-२० विश्वकपमा बलिया टेस्ट टिमसँग खेल्दै उत्कृष्ट प्रदर्शन गर्ने र नतिजा आफ्नो पक्षमा पार्ने अब नेपालको लक्ष्य बनिसकेको छ ।
टी-२० विश्वकपको सहभागितापछि अब नेपालको नजर यसलाई निरन्तर खेल्ने र ५० ओभरको विश्वकपदेखि टेष्ट राष्ट्रको मन्यता पाउनेसम्म हुनेछ ।
तर अहिले तत्कालका लागि नेपाली क्रिकेटको नजर मुम्बईतिरै छ । किनभने यस पटक समूह ‘सी’ मा रहेको नेपालले आफ्नो समूहको चारै खेल यही वाङ्खेडे स्टेडियममा खेल्नेछ । दुईपटकको विश्वविजेता इंग्ल्याण्डसँग आइतबार खेल्दै नेपालले यस संस्करणको सुरुवात गर्नेछ ।

नेपालले अर्को टी-२० विजेता वेस्ट इन्डिजसँग पनि समूह चरणमै खेल्नेछ । यस्तै बंगलादेशको स्थानमा भाग्यमनी बन्दै टी-२० विश्वकप खेल्न आएको स्कटल्यान्डसँग पनि नेपालले खेल्नेछ भने यस विश्वकपको एक मात्र डेब्यूटान्ट टिम अर्थात फुटबलमा चर्चित र ४ पटक फिफा विश्वकप जितिसकको इटलीसँग पनि नेपालले समूह चरणमै खेल्नेछ ।
इटलीले अस्ट्रेलिया र दक्षिण अफ्रिकामा खेलिसेकेका खेलाडी समेटेर टिम बनाएको छ । विश्वकपअघि अभ्यास खेल, सिरिज र वार्म अप म्याचमा इटलीले राम्रो प्रदर्शन गर्दै आयरल्यान्ड, नामिबया, क्यानडा र यूएईजस्ता टोलीलाई हराइसकेको छ ।
यस्तै नेपालले पनि श्रीलंका र भारतमा अभ्यास खेल खेल्नुका साथै युएई र क्यानडालाई नै वार्म अप खेलमा पराजित गरेको थियो ।
नेपालले टी-२० विश्वकपमा अहिलेसम्म पहिलो चरण पार गर्न सकेको छैन । यसपटक मुम्बईको आइकोनिक वाङ्खेडेले रंगशालबाट नेपाल सुपर एटमा पुग्दै इतिहास रच्ने लक्ष्यमा छ ।
त्यसका लागि उत्कृष्ट प्रदर्शन गर्दै ठूला टिमलाई स्तब्ध पार्नुपर्नेछ । नेपालको ध्यान अहिले पहिलो खेलमै छ र कप्तान रोहित कुमार पौडेलले पनि सुपर एट लक्ष्य भएको बताइसकेका छन् ।
को बन्नेछ विजेता ?

टी-२० क्रिकेट विश्वकपको महाकुम्म आजदेखि सुरु भएपनि धेरै समर्थकलाई पनि यसअघि देखिनै चासो छ कसले जित्ला यो विश्वकप भनेर ।
के भारतले घरेलु भूमिमै टी-२० विश्वकपको उपाधि रक्षा गर्दै अर्को इतिहास रच्ला वा नयाँ टिम च्याम्पियन बन्ला ?
भारतसँगै वेस्ट इन्डिज र इंग्ल्यान्डले समान दुई पटक टी-२० विश्वकप जितेका छन् । यी तीनमध्ये जसले जितेपनि सर्वाधिक तेस्रो पटक विश्वकप जित्नेछ ।
यसबाहेक अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक-एक पटक टी-२० विश्वकपको ट्रफी उचालेका छन् । यी ६ मध्ये कुनै टिमले ट्रफी थप्नेछन् वा दक्षिण अफ्रिका, न्युजिल्याण्ड जस्ता टिम पहिलो पटक च्याम्पियन बन्नेछन् त्यसका लागि भने अबको एक महिना प्रतिक्षा गर्नुपर्नेछ ।
धेरै क्रिकेट पण्डित र विज्ञहरूले यस पटक भारत बलियो दाबेदार भएको र घरेलु भूमिमा खेल्दा अझ एडभान्टेज हुने बताइरहेका छन् । धेरै विज्ञले भारतसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डलाई सेमिफाइनल पुग्ने दाबेदारको रुपमा व्याख्या गरिरहेका छन् । कसैले दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई पनि सेमिफाइनलको दाबेदारको रुपमा राखेका छन् ।
पछिल्लो पटक सेमिफाइनलसम्म पुगेको अफगानिस्तान पनि त्यो लयलाई दोहोर्याउन चाहन्छ र ठूला टिमलाई स्तब्ध पार्ने लक्ष्यमा छ ।
यस पटक ९ एसोसिएट राष्ट्रहरू टी-२० विश्वकप खेल्दैछन् । उनीहरू पनि ठूला टेस्ट टिमलाई स्तब्ध पार्दै सकेसम्म नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् ।
पहिलो दिनको तीन भिडन्त
• पाकिस्तान vs नेदरल्याण्ड्स – कोलम्बो
• वेस्ट इन्डिज vs स्कटल्याण्ड – कोलकाता
• भारत vs अमेरिका – मुम्बई, वाङ्खेडे
प्रतिक्रिया 4