+
+
Shares

ट्रेन ड्रिम्स– घुमन्ते श्रमिकको रहस्यसँगको साक्षात्कार

चाँडै नै त्यो मूल्य ठूलो डढेलोको रूपमा आउँछ, जुन बोनर्स फेरिमा अत्यन्त उग्र रूपमा फैलिन्छ र ग्रेनियरको फार्म, श्रीमती र छोरीसहित सबै नष्ट गर्छ ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ माघ २७ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रेन ड्रिम्स फिल्मले बीसौं शताब्दीको सुरुवाततिरका अमेरिकी घुमन्ते श्रमिकहरूको जीवन र संघर्षलाई चित्रण गरेको छ।

हरेक मानिसको नाम इतिहासको पृष्ठमा लेखिन असम्भव छ । तिनीहरू आफ्नो क्षणिक आयुमा बाँच्छन् र समाजको समीकरणमा कुनै उल्लेखनीय परिवर्तन नल्याई मर्छन् । तर यो ‘कन्जर्भ्ड’ संसारमा तिनीहरू पूर्णरूपमा विलुप्त हुँदैनन् । जब इतिहासका ठूला–ठूला नामहरू समयक्रममा उपहास र उपेक्षाका पात्र बन्छन्, तब हामी तिनै व्यक्तिहरूको खोजी गर्छौं जो इतिहासका हरफहरूबाट चुपचाप चिप्लिएका हुन्छन् ।

हो, त्यस्तै एउटा खोजको संकेत हो– ट्रेन ड्रिम्स । यो कथा हो, बीसौं शताब्दीको सुरुवाततिरका ती शोषित घुमन्ते श्रमिकहरूको । उनीहरूले बाक्ला जङ्गलहरू फाँडे, पुलहरू बनाए र अमेरिकी रेलमार्गका लागि बाटो खोलिदिए । निर्माण र आविष्कारको श्रेय लिन धेरैले हतार गरे होलान्, तर यी श्रमिकहरू चुपचाप आफ्नो कर्ममा लागिरहे र जीवनका गहिरा अनुभवहरू सँगाले । यिनीहरूले रूख काटे, रूखहरू विनाप्रतिवाद लडे ।

फिल्मका मुख्य पात्र रोबर्ट ग्रेनियरका निद्राहरू अनेकन् सपनाले कोट्याइरहन्छन् । रूख फाँड्ने बलिष्ठ शरीरभित्र कति कोमल र सहज स्वप्नहरू फुल्छन्– रोबर्ट त्यसको प्रतिनिधि पात्र हुन् । उनका सपना विगतका स्मृतिहरू र वैकल्पिक जीवनको सम्भावित भविष्य हुन् ।

निर्देशक क्लिन्ट बेन्ट्लीले डेनिस जोन्सनको सन् २०११ को उपन्यासलाई अत्यन्त सुन्दर र प्रगाढ अनुभूतिरसले सिञ्चित फिल्ममा उतारेका छन् । सूर्यास्तका दृश्यले पात्रहरूको भावनात्मक एकतालाई जीवन्त बनाउँछन् । गम्भीर आवाजमा गरिएको न्यारेटिभ भ्वाइसओभरले फिल्मको गहनतालाई संकेत गर्छ । पर्वत, खोला, जङ्गल र तिनमा व्याप्त ध्वनि तथा शून्यताको संयोजनले फिल्मलाई आनन्दको स्रोत पनि बनाएको छ ।

जोएल एडगर्टनले निभाएको रोबर्टको भूमिका एउटा यस्तो व्यक्तिको हो, जो इडाहोमा अनाथ भएर आइपुग्छ– खोलाको लहरले बगाएका पातजस्तै । सुरुमै ३० सेकेन्डभित्रै चलचित्रले उनको बाल्यकाललाई मोन्टेज दृश्यहरूको सुन्दर शृङ्खलामा चित्रण गर्छ । गोठमा दुई टाउको भएको बाच्छोसँग खेलिरहेको बालक, तालबाट निकालिएको ठूलो माछा । किशोरावस्थामा उनले जङ्गलको भुइँमा लुटिएको, खुकुरी प्रहार गरिएको र सडेर मरिरहेको एक व्यक्तिको शव देख्छन् ।

केही समयपछि उनी काठ काट्ने मजदुर बनेर जङ्गलतिर लाग्छन् । एक्लोपनलाई दृढतापूर्वक स्वीकार गर्दै कठिन श्रम गर्छन् । उनी मजदुरमाथि हुने जातिवादी आक्रमणका त्रसित साक्षी पनि बन्छन् । जीवनको क्रममा थोरै नौलोपन थप्न चर्चमा ग्ल्याडिस (फेलिसिटी जोन्स) सँग भेट हुन्छ । उनीहरूको गहिरो प्रेम विवाहमा परिणत हुन्छ, सन्तान जन्मन्छ । तर परिवार पाल्न लामो समय टाढा बस्नुपर्दा उनी मर्माहत हुन्छन् ।

कामको सिलसिलामा उनी थोरै बोल्ने, कठोर मौसम झेलेका मजदुरहरूसँग काम गर्छन् । तिनीहरूको जीवनका कथा लडेका रूखहरूजस्तै अव्यक्त र दुर्गम्य लाग्छन् । फिल्म अगाडि बढ्दै जाँदा ती व्यक्तित्वका पत्रहरू क्रमशः खुल्दै जान्छन् । रोबर्टले तिनीहरूको नौलोपनाको स्वाद लिन्छन्, त्रसित र आनन्दित दुवै हुन्छन् ।

विलियम एच. मेसीले कुरौटे वृद्ध आर्नको भूमिका निभाएका छन्, जो असुरक्षित विस्फोटक पदार्थको जिम्मेवारी बोकेका हुन्छन् । पल स्नाइडरले अनौठो गरी बडबडाउने ‘अपोस्टल फ्र्याङ्क’ को भूमिका निर्वाह गरेका छन् । रोबर्टले दुवै पुरुषको हृदयविदारक भाग्य देख्छन् । उनी वरपरको सुन्दरताबाट मन्त्रमुग्ध हुन्छन्, तर आफैंले त्यसलाई विनाश गरिरहेकोमा चिन्तित पनि हुन्छन् ।

जङ्गललाई विनाश गर्दा जङ्गलले पनि प्रतिकार गरिरहेको भावनाले उनलाई डसिरहन्छ । जब फिल्मका एक उत्कृष्ट पात्र आर्न पिपल्स रूखको हाँगाले थिचिएर मर्छन्, तब एक वृद्ध मजदुर भन्छन्- ‘जब तिमी यसलाई एक्लै छोडिदिन्छौ, तब मात्र एउटा रूखले तिमीसँग साथी जस्तो व्यवहार गर्न सक्छ । ब्लेडले काट्न सुरु गरेपछि त तिम्रो आफ्नै युद्ध सुरु हुन्छ ।’

पिपल्सको मृत्युभन्दा केही अघि उनी र ग्रेनियर सँगै टेन्टमा सुत्ने प्रयास गरिरहेका हुन्छन् । ग्रेनियर सोध्छन्, ‘आर्न, के तिमीलाई लाग्छ कि हामीले गरेका खराब कामहरूले जीवनभर हाम्रो पछ्याइरहन्छन् ?’

यो प्रश्न पछाडि इतिहास र जातिवादसँग जोडिएको कारण छ । पुल निर्माण टोलीमा काम गर्दा उनका केही सहकर्मीहरूले एक चिनियाँ मजदुरलाई शारीरिक रूपमा उठाएर पुलबाट तल फाल्छन् । ग्रेनियर छेउमै उभिएका हुन्छन् र केही बेर त्यो व्यक्तिको खुट्टा समात्छन् । उनले बचाउन खोजेका थिए कि हत्यामा सहयोग गरेका थिए भन्ने कुरा अस्पष्ट रहन्छ ।

यी दृश्यहरूका बीच उनी केवल यस्तो भविष्य देख्न सक्छन्, जहाँ उनी रूख काट्ने मौन फिरन्ते समूहको हिस्सा मात्र रहन्छन् । श्रीमती र बच्चाको अनुपस्थितिले उनलाई पीडा दिन्छ । उनको र ग्ल्याडिसको सानो काठ मिल खोल्ने योजना छ– यो घुमन्ते जीवन त्यागेर त्यसलाई कार्यान्वयन गर्नु नै उत्तम हुन्छ ।

ट्रेन ड्रिम्समा मारिएका व्यक्तिको प्रेतात्माले ग्रेनियरलाई जीवनभर सताइरहन्छ । अल्फ्रेड हसिङले निभाएको त्यो पात्र सपनामा देखा पर्छ र केही चरम क्षणमा उनीसँगै बसिरहेको जस्तो लाग्छ । सपनाका दृश्यहरू प्रायः बिग्रने–भत्कने खालका हुन्छन्, तर बेन्ट्लीले तिनलाई कुशलतापूर्वक सम्हालेका छन्, जसले विगतका कार्यहरू फर्केर आउने र ठूलो मूल्य चुकाउनुपर्ने त्रास पैदा गर्छ ।

चाँडै नै त्यो मूल्य ठूलो डढेलोको रूपमा आउँछ, जुन बोनर्स फेरिमा अत्यन्त उग्र रूपमा फैलिन्छ र ग्रेनियरको फार्म, श्रीमती र छोरीसहित सबै नष्ट गर्छ । यो घटना सन् १९१० को ‘बिग बर्न’ मा आधारित छ, जसले उत्तरी इडाहो र मोन्टानालाई छपक्कै ढाकेको थियो । करिब ३० लाख एकड जमिन नष्ट भयो र तीव्र हावाले सयौं वर्ष पुराना रूखहरूलाई उखेलेर फाल्यो । तिमोथी इगनको पुस्तक ‘द बिग बर्न’ अनुसार, डढेलोको उत्कर्षमा आगो ‘घोडा दौडन सक्ने गतिभन्दा पनि छिटो’ अघि बढेको थियो ।

फिल्मको अर्को विशेषता भनेको जीवनका रहस्योद्‍घाटनको असफलताको सफल छायांकन हो । मोन्टाना नदेखेका रोबर्ट जीवनको अन्तिम अध्यायमा ठूला शहरका कथाहरूमा जोडिन पुग्छन् । यी दृश्यहरूले देखाउँछन् कि कुनै पनि जीवनको एउटा रहस्य भनेको यसको क्षणिकता हो र यसलाई सम्झनाका छोटा–छोटा क्षणहरूको शृङ्खलामा मात्र समेट्न सकिन्छ।

फिल्मको सुरुवातमै नेपथ्यबाट एउटा ध्वनि गुञ्जिन्छ– ‘कुनै समय पुरानो संसारतर्फ जाने गल्लीहरू थिए, अनौठा गोरेटाहरू थिए, लुकेका बाटाहरू थिए । तपाईं एउटा मोड काट्नुहुन्थ्यो र अचानक आफूलाई महान् रहस्य अर्थात् समस्त चीजहरूको आधारसँग आमने–सामने पाउनुहुन्थ्यो ।’

रहस्य खोज्ने अनेक तरिका छन्, बौद्धिक प्रचलन र आधारहरू छन् । तर एक घुमन्ते काठ काट्ने मजदुरको जीवनमा लागेको स्वाभाविक श्राप वा नियतिले डोर्‍याएको कथाबाट रहस्यलाई बोध गर्न ट्रेन ड्रिम्स एक स्वादिलो खुराक बन्न जान्छ ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?