+
+
Shares

शिशु मृत्युदर सुदूरपश्चिममा अधिक, बागमतीमा कम

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १४:३०

२६ माघ, काठमाडौं । नेपालमा नवजात शिशु, शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा  अनुसार प्रादेशिक रुपमा सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिममा भएको पाइएको छ ।

सर्वेक्षण अनुसार नेपालमा हरेक एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ । प्रतिहजार जीवित जन्ममा पाँच वर्षमुनिका ३१ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । साथै प्रत्येक एक हजार जीवित जन्ममा एक महिनाभित्र १७ नवजात शिशुको मृत्यु हुने गरेको सर्वेक्षणबाट देखिएको छ ।

यसमध्ये नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा एक हजार जीवित जन्ममा २६ जना रहेको छ । बागमतीमा १० रहेको छ । शिशु मृत्युदरसमेत सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रतिहजारमा ३८ रहेको छ । सबैभन्दा कम बागमतीमा १७ छ । पाँच वर्ष मुनीका बालबालिकाको बालमृत्युमा समेत सबैभन्दा धेरै सुदूरपश्चिममा प्रतिहजार ४८ जना रहेको छ । सबैभन्दा कम गण्डकीमा प्रतिहजार २० जना रहेको देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न र स्तरीय एवम: तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण गरिएको हो ।

यस सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभर ५४० क्लष्टर (गणना क्षेत्र)मध्ये शहरी क्षेत्रबाट ३०४ र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर छानिएको थियो । हरेक क्लष्टरबाट २४ परिवार छनोट गरी तथ्यांक संकलन गरिएको थियो । यसरी छानिएका १२ हजार ९६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।

दीगो विकास लक्ष्य अनुसार विश्वव्यापी रुपमा नवजात शिशु मृत्युदुर प्रतिहजारमा १२ वा सो भन्दा कममा झार्ने उद्देश्य लिइएको छ । ५ वर्ष मुनीको बालमृत्युदुर प्रतिहजार जीवित जन्ममा २५ वा सो भन्दा कममा झार्ने लक्ष्य रहेको छ ।

सर्वेक्षणको नतिजा अनुसार एक महिनाभित्रका नवजात शिशुको मृत्युदर शहरमा प्रतिहजार १६ र ग्रामीण भेगमा प्रतिहजार जीवित जन्ममा १९ रहेको छ । जुन एक वर्षमुनिका शिशुको हकमा शहरमा २६ र ग्रामीण भेगमा २७ जना रहेको छ । यो दर पाँच वर्षमुनिका बालबालिकाको हकमा हेर्दा शहरमा ३१ र ग्रामीण भेगमा ३० जना रहेको छ ।

उता, बालक र बालिका अनुसार हेर्दा नवजात, शिशु र बालबालिका सबैमा  बालकको मृत्युदुर माथि छ । हरेक १ हजार जीवित जन्ममा एक महिना भित्रका १८ बालकको मृत्यु भएको देखिन्छ । बालिकाको दर प्रतिहजार जीवित जन्मा १५ रहेको छ । शिशुको हकमा प्रतिहजार जीवित जन्ममा बालक २७ र बालिका २६ को मृत्यु हुने गरेको छ । पाँच वर्षमुनिको हकमा बालक ३१ र बालिकाको मृत्युदुर प्रतिहजार जीवित जन्ममा ३० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?