News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९७६ मा रिलिज भएको ट्याक्सी ड्राइभर फिल्मले शहरी एक्लोपन र हिंसात्मक रिसलाई चित्रण गरेको छ।
यदि ट्राभिस बिकल आजको समयमा जीवित हुन्थे भने उनी सायद न्युयोर्कको सडकमा ट्याक्सी गुडाउँदै गरेका भेटिने थिएनन् । बरू उनी आफ्ना आमाबुबाको घरको एउटा कोठामा कम्प्युटर चलाइरहेका भेटिन्थे । र, इन्टरनेटमा महिला र समाजप्रति घृणा पोखिरहेका हुन्थे ।
सन् १९७६ मा रिलिज भएको कालजयी हलिउड फिल्म ‘ट्याक्सी ड्राइभर’का लेखक पल श्रेडर मुख्य पात्रलाई लिएर आजको परिवेशलाई यसरी नै विश्लेषण गर्छन् । ‘त्यसबेला ‘इन्सेल’ भन्ने शब्द त थिएन, तर ट्राभिस त्यस्तै पात्र थिए । जो एक्लो हुन्छ, जो महिलासँग सम्बन्ध जोड्न सक्दैन । र आफूभित्रको रिसलाई हिंसाको माध्यमबाट बाहिर निकाल्न चाहन्छ, ’उनी भन्छन् ।
यो फिल्मपश्चात धेरैले उस्तै कथावस्तु र शैलीमा फिल्म बनाएका छन् । प्रख्यात निर्देशक मार्टिन स्कोरसेजीले निर्देशन गरेको यो फिल्मको मुख्य कथा भने शहरी एक्लोपन हो । र, लेखक पल श्रेडरले यसका कथा आफ्नै जीवनको एउटा कठिन मोडबाट टिपेका थिए ।
२६ वर्षको उमेरमा श्रेडर आफ्नो जीवनको कठिन समयमा थिए । उनले जागिर गुमाएका थिए । उनको वैवाहिक सम्बन्ध टुटेको थियो । उनीसँग बस्नलाई घरसमेत थिएन । उनी रक्सीमा डुबेर आफ्नै गाडीमा सुत्थे र खतराबाट बच्न साथमा एउटा बन्दुक सदा राख्थे ।
त्यस्तो अव्यवस्थित जीवन बिताइरहेका उनी अस्पतालमा भर्ना हुन पुगे । त्यसैबेला उनलाई एउटा ट्याक्सीको दृश्य दिमागमा आएको थियो । जसलाई उनले आफू ठाने । पहेँलो बाकसभित्र थुनिएको मान्छे, जो ढलमा तैरिरहेको हुन्छ । उसको वरिपरि हजारौँ मान्छे हुन्छन्, तर ऊ पूर्ण रूपमा एक्लो हुन्छ ।
त्यस्तो महसुस गरेपछि ट्राभिस बिकलको पात्रको जन्म भएको थियो । जसलाई पर्दामा भने रोबर्ट डी निरोले जीवन्त बनाइदिएका थिए । यो फिल्मको सबैभन्दा चर्चित दृश्यमा ट्राभिसले आफैंसँग कुरा गरिरहेको हुन्छ । ट्राभिसले ऐनाअगाडि उभिएर ‘यु टकिङ टू मी’ भनिरहेका हुन्छन् । रोचक कुरा के भने त्यो दृश्य पटकथामा भने लेखिएकै थिएन । डी निरोले अभिनय गर्दागर्दै आफैंले त्यो संवाद बोलेका थिए । तर, आज वर्षौंपश्चात समेत संसारभरका फ्यानहरूले त्यही संवादमार्फत उनलाई चिन्छन् ।
आजको समयमा त झन् उक्त दृश्य संवाद र अभिनयमा मात्र रहेन । त्यस्तै फिल्मको दृश्यले वास्तविक जीवनमा समेत प्रभाव छोडेको छ । सन् १९८१ मा जोन हिन्कली नामका एक व्यक्तिले फिल्मकी अभिनेत्री जोडी फोस्टरको ध्यान तान्न अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार गरेका थिए । ती व्यक्ति फिल्मको प्रभावमा यति पागल थिए कि उनले फिल्म र वास्तविकताको भिन्नता नै बिर्सिएका थिए ।
तर, अहिले समय फेरिएको छ । ७० को दशकको त्यो अस्तव्यस्त न्यूयोर्क अहिले अर्कै भइसकेको छ । तर, पनि ट्राभिस बिकलहरू हराएका छैनन् । बस्, उनीहरूको ठेगाना मात्र फेरिएको छ ।
श्रेडरका अनुसार आजको पुस्तामा ट्राभिस जस्ता युवाहरू धेरै छन् । जो समाजबाट अलग्गिएका हुन्छन् र इन्टरनेटको माध्यमबाट आफ्नो रिस पोखिरहेका हुन्छन् ।
यसरी ‘ट्याक्सी ड्राइभर’ रिलिज भएको ५० वर्ष बितिसक्दा पनि उत्तिकै सान्दर्भिक छ । ७० को दशकको अमेरिकाको निराशालाई देखाइएको यो फिल्मले मान्छेहरूको मनभित्र लुकेको एक्लोपनलाई उजागर गरेको छ ।
त्यसैले त यो फिल्म हिजो पनि जीवित थियो, आज पनि छ र भोलि पनि रहनेछ ।
(गार्डियनबाट)
प्रतिक्रिया 4