२८ माघ, काभ्रे । सिन्धुलीको सुनकोशी मरिण डाईभर्सन आयोजनाको निर्माण स्थल कमलामाई नगरपालिका २ कुसुमटारमा एक जना मजदुरको मृत्यु भएको छ ।
मरिण डाइभर्सनको ठेक्का रद्दपछि आफ्नो सामान झिक्ने क्रममा फलामको बिमले लागेर घाइते भएका कमलामाई नगरपालिका १ आंपचौर बस्ने करिब ३१ वर्षीय अर्जुन भुजेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
मरिण डाइभर्सन नजिक पुरानो घर भत्काई राखिएको बिम क्रेनमार्फत उचाल्ने क्रममा क्रेनले अचानक नियन्त्रण गुमाउँदा कम्पनीमा कार्यरत भुजेललाई बिमले टाउको, अनुहार र घाँटीमा लागेको थियो ।
घटनापछि सहकर्मीहरूले उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए । चिकित्सक टोलीले आकस्मिक कक्षमा उपचार सुरु गरेको थियो । यद्यपि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र क्रेनको प्राविधिक अवस्थाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले क्रेनको चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4