+
+
Shares

नेकपा माओवादी रुपन्देहीका उम्मेदवारको प्रतिबद्धता सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १८:४६

१ फागुन,बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले रुपन्देहीका तीन क्षेत्रका  उम्मेदवारको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ३१ औं जनयुद्ध दिवसको अवसर पारेर पार्टीले बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही २, ४ र ५ का उम्मेदवारको प्रतिबद्धता सार्वजनिक गरेको हो ।

रुपन्देही २ मा पार्टी जिल्ला सेक्रेटरी वीरेन्द्र विक, ४ मा  बिष्णु तिवारी र ५ मा विष्णुप्रसाद भट्टराई (विश्वास) उम्मेदवार छन् ।

रुपन्देही २ का उम्मेदवार विरेन्द्र विकले लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति, तिनाउ दानव कोरिडोर निर्माणको क्रममा विस्थापितलाई  क्षतिपूर्ति सहित उचित ठाउँमा जग्गासहित बसोबासको व्यवस्था, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण र फोहोर सरसफाई व्यवस्थापन  नि:शुल्क गर्नेे आफ्नो प्रतिवद्धता रहेको बताए ।

यस्तै बुटवलमा १७ हजार बढी संख्यामा रहेका भूमीहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण वितरण, सामुदायिक विद्यालयमा विभिन्न शिर्षकमा अभिभावकबाट शुल्क लिने गरिएकाले पूर्णत: निशुल्क गर्ने जितगढी किल्ला र पुरानो बुटबललाई जोडेर ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक नगरको रुपमा विकास गर्ने र अमरपथ तथा कालिकापथ बजार रात्रीकालिन बजार संचालन गर्ने विकका प्रतिवद्धता छन् ।

बन्द रहेको बुटवल धागो कारखानालाई पुन: संचालन, झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने  उनको प्रतिवद्धता छ । गोलपार्क लक्ष्मी नगर पहिरो नियन्त्रण, तिनाउ दानव र सुखौराको जोखिम पूर्ण बस्तीहरुलाई जोगाउन तटबन्धन, मिटर ब्याजीले कब्जा गरेका सम्पत्ति र सहकारी पीडितहरुको बचत फिर्ता आफ्नो प्राथमिकतामा रहने विकले बताए ।

क्षेत्र नं ४ र ५ का उम्मेदवारहरू बिष्णु तिवारी र ५ मा विष्णुप्रसाद भट्टराई (विश्वास)ले  दुबै क्षेत्र किसान वाहुल्य क्षेत्र भएकाले किसानलाई समयमै मल, बीउ, सिंचाई र कृषिजन्य सामाग्री नि:शुल्क वितरण,परम्परागत कृषिलाई आधुनीकिकरण र व्यवसायीकरण, किसानको उत्पादनलाई सिधै बजारमा पुराउने व्यवस्था गरी बिचौलियाको अन्त्य गरिने प्रतिवद्धता रहेको बताए । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य बसन्त श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणालीमा जानुपर्ने, संविधान पुनर्लेखन गर्नुपर्ने पार्टीको एजेण्डा रहेको बताए । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरणमा जनयुद्धको भुमिका ऐतिहासिकरुपमा  महत्वपुर्ण रहेको बताए । जनयुद्धका उपलब्धिमा रमाउने र लाभ लिने तर जनयुद्धलाई गलत भन्ने विडम्बना रहेको श्रेष्ठको भनाई छ ।

‘राजतन्त्रवादीहरुले जनयुद्धको विरोध गर्नु जायज भए पनि गणतन्त्र बादीहरुले विरोध गर्नु राजनीतिक बेइमानी हो,’ श्रेष्ठले भने, ‘जनयुद्धका मर्म र भावना अनुसार चल्न नसक्दा र नदिइंदा  नागरिकमा असन्तुष्टी र वितृष्णा बढेर जेन जी आन्दोलन निम्तिएको हो तर  अब हुने चुनावले पनि विद्यमान समस्या समाधान हुने विश्वास छैन ।’

पुरानाको विकल्प भन्दै नयाँ भन्ने हरुमा नजन्मिँदै पुरानाको रोग सरेको र उनीहरुले देशको नेतृत्व पाए देशको राष्ट्रियता जोगिन्छ कि रहन्न भन्ने संकटपूर्ण अवस्थामा मुलुक उभिएको उनले औंल्याए ।

तडकभडकपूर्ण खर्चिलो निर्वाचन भ्रष्टाचारको बीउ भएको भन्दै श्रेष्ठले राजनीतिक प्रणाली, न्याय प्रणाली, कर्मचारीतन्त्र र अर्थतन्त्र सबै क्षेत्रमा सुधार मुख्य एजेण्डा रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?