+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हरियो तरकारी भाउमा व्यापक गिरावट, ७७ प्रतिशतसम्म सस्तियो

मौसममा आएको सुधार र तराई तथा स्थानीय क्षेत्रबाट तरकारी उत्पादन एकैसाथ बजार भित्रिएकाले यो अवस्था सिर्जना भएको हो ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ फागुन ३ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक महिनामा कालीमाटी बजारमा काउलीको भाउ ७७.२७ प्रतिशतले घटेर ८८ रुपैयाँबाट २० रुपैयाँमा झरेको छ।
  • तरकारी आपूर्तिमा वृद्धि र मौसमी सुधारका कारण हरियो तरकारीको भाउ ५० देखि ७७ प्रतिशतसम्म घटेको छ।
  • नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडाले अहिले तरकारीमा नेपाल आत्मनिर्भर भएको जानकारी दिनुभयो।

३ फागुन, काठमाडौं । एक महिना अवधिमा हरियो तरकारीको भाउमा उल्लेख्य गिरावट आएको छ । केही महिना अघिसम्म आकाशिएको तरकारीको भाउ अहिले सर्वसाधारणको पहुँचमा पुग्न थालेको छ । विशेषगरी मुख्य सहरका थोक तथा खुद्रा बजारमा काउली, बन्दा, मुला, फर्सी, सिमी, केराउ, साग र गोलभेँडा जस्ता दैनिक उपभोग्य तरकारीको भाउ अघिल्लो महिनाको तुलनामा निकै घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो एक महिनाको तथ्यांक विश्लेषण गर्दा हरियो तरकारीको भाउमा अत्यन्तै ठूलो गिरावट आएको देखिएको छ । १ माघको तुलनामा ३ फागुनसम्म आइपुग्दा अधिकांश तरकारीको मूल्य आधाभन्दा धेरै घटेको छ ।

यस अवधिमा सबैभन्दा धेरै भाउ घटेको तराई काउलीमा ७७.२७ प्रतिशत गिरावट देखिएको छ । माघ सुरुमा किलाकोे ८८ रुपैयाँमा बिक्री भइरहेको उक्त काउली अहिले २० रुपैयाँमा झरेको छ भने स्थानीय काउली पनि ९६ बाट २२ रुपैयाँमा झरेको छ ।

सागपातको भाउमा पनि उस्तै किसिमको भारी गिरावट आएको छ । १ माघमा प्रतिकिलो ७२ रुपैयाँ रहेको चम्सुर साग अहिले ६५.५२ प्रतिशतले घटेर २५ भएको छ । त्यसैगरी सोही भाउमा बिक्री भइरहेको पालुङ्गोको साग ६२ प्रतिशतले सस्तिएर २७ रुपैयाँमा झरेको छ भने प्रतिकिलो ४५ रुपैयाँ पर्ने तोरी साग अहिले २० रुपैयाँमै पाइन थालेको छ ।

भान्सामा दैनिक प्रयोग हुने लोकल सानो गोलभेँडाको भाउमा पनि ५९.६८ प्रतिशतको गिरावट आएको छ । माघ सुरुमा ६२ रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा अहिले २५ मात्र पर्छ । यस्तै ठूलो गोलभेँडा भारतीयको मूल्य पनि किलोको ९८ बाट ६५ रुपैयाँमा झरेको छ । यस्तै, १ सय १० रुपैयाँ किलो पुगेको ब्रोकाउलीको भाउ ५९ प्रतिशत घटेर अहिले ४५ मा सीमित भएको छ ।

तथ्यांक अनुसार एक महिना अवधिमा मुला र गाजरको मूल्यमा २० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । एक महिनाअघि प्रतिकिलो १७ रुपैयाँमा पाइने स्थानीय सेतो मुला अहिले १४ रुपैयाँमा झरेको छ भने हाइब्रिड मुला २३ बाट घटेर १७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी प्रतिकिलो ७० रुपैयाँ पर्ने स्थानीय गाजर २१.४३ प्रतिशतले सस्तिएर ५५ रुपैयाँमा झरेको छ भने तराई गाजर ५५ बाट घटेर ४५ रुपैयाँमा उपलब्ध छ ।

माघ सुरुमा प्रतिकिलो १ सय ४२ रुपैयाँ पुगेको स्थानीय घिउसिमी अहिले २२.५४ प्रतिशतले घटेर १ सय ९ रुपैयाँमा झरेको छ । त्यस्तै ९५ रुपैयाँ प्रतिकिलो पर्ने टाटेसिमी २८.९५ प्रतिशत सस्तिएर ६७ रुपैयाँ ५० पैसा पुगेको छ भने हाइब्रिड घिउसिमी १ सय २० बाट ९५ रुपैयाँमा झरेको छ ।

कालीमाटी तरकारी बजार

दैनिक खपत हुने आलु र प्याजको भाउ हरियो तरकारीको तुलनामा केही कम गिरावट देखिए पनि यो स्थिर वा ओरालो लागेकै अवस्थामा छ । १ माघमा प्रतिकिलो ३० रुपैयाँ रहेको रातोआलु अहिले १३.३३ प्रतिशत घटेर २६ रुपैयाँ भएको छ ।

त्यस्तै ४५ रुपैयाँ प्रतिकिलोमा पाइने भारतीय सुकेको प्याजको भाउ झन्डै १८ प्रतिशत घटेर अहिले ३७ रुपैयाँ कायम भएको छ ।

अन्य तरकारीमा लौका प्रतिकिलो ८५ बाट घटेर ६७ रुपैयाँ ५० पैसा, हरियो फर्सी ४५ बाट २० रुपैयाँ र भन्टा लाम्चो ६५ बाट घटेर ५० रुपैयाँ भएको छ । अघिल्ला महिनाहरूमा अधिकांश हरियो तरकारीको भाउ होलसेलमै प्रतिकिलो १ सयदेखि १ सय ५० रुपैयाँसम्म पुगेको थियो ।

यसरी समग्र बजारमा तरकारी आपूर्ति मात्रा बढ्दा भाउमा आएको यो गिरावटले गर्दा उपभोक्ताको दैनिक खर्चमा ठूलो कटौती भएको छ । विशेषगरी काउली, गोलभेँडा र सागपातमा देखिएको ५० देखि ७७ प्रतिशतसम्मको यो गिरावटले बजारमा तरकारीको अधिक आपूर्ति भएको देखिन्छ ।

मौसममा आएको सुधार र तराई तथा स्थानीय क्षेत्रबाट तरकारी उत्पादन एकैसाथ बजार भित्रिएकाले यो अवस्था सिर्जना भएको हो ।

कालीमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले मौसमी चक्र, प्राकृतिक प्रकोप र बजारमा तरकारी आपूर्ति कमी हुँदा अघिल्ला महिनामा मूल्यवृद्धि भएको बताए । अहिले हिउँदे तरकारी बजारमा पर्याप्त मात्रामा आएपछि भाउ घटेको उनको भनाइ छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार अहिले तरकारीको मुख्य सिजन भएको र स्वदेशी उत्पादनमा उल्लेख्य वृद्धि भएकाले भाउ घटेको हो ।

अध्यक्ष खतिवडाले अहिले बजारमा पाइने गोलभेँडा शतप्रतिशत नेपाली उत्पादन रहेको जानकारी दिँदै आलु, काउली, बन्दा, मुला र गाजरजस्ता वस्तुमा नेपाल आत्मनिर्भर देखिएको बताए ।

‘अघिल्ला महिनामा तरकारीको भाउ घट्न सकेको थिएन,’ उनले भने, ‘अहिले सिजनका तरकारी ठूलो परिमाणमा आपूर्ति हुँदा भाउ पनि घट्न पुगेको हो ।’

हिउँदे सिजन सकिन लागेको हुँदा आगामी दिनमा तरकारी आपूर्ति भने केही कम हुन सक्ने अध्यक्ष खतिवडाको भनाइ छ ।

तर, अधिकांश हरियो तरकारीको मूल्य न्यून बिन्दुमा पुगे पनि अफसिजनका तरकारी भिन्डी, घिरौँला, करेला लगायत भारतबाट आयात भइरहेका छन् ।

सिजनका तरकारीका तुलनामा अफसिजनका तरकारी महँगो भाउमा बिक्री हुन्छन् । घिरौँलाको भाउ प्रतिकिलो १ सयबाट बढेर १ सय ३५ रुपैयाँ र तितेकरेला १ सय ६७ बाट बढेर १ सय ८४ रुपैयाँ पुगेको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?