७ फागुन, महोत्तरी । मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको लस्कर आज महोत्तरीको मटिहानी आइपुगेको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने माध्यमिकी परिक्रमाका यात्रीलाई मटिहानीमा भव्य स्वागत गरिएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, सहायक प्रमुख जिल्ला अधिकारी सन्जयकुमार पोखरेललगायत सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न विशिष्ट व्यक्तिहरूका साथै मटिहानीवासीले मिथिला बिहारी र किशोरीजीको डोलासँगै सम्पूर्ण परिक्रमा यात्रीलाई नेपाली सेनाको ब्याण्डसहित स्वागत गरेका छन् ।
त्रेताकालमा माता सीताको विवाह हुँदा मटोकर विधी मटिहानीमै भएको मानिन्छ । त्यहाँ आज पुगेको परिक्रमा यात्रीको भगवान् राम सीताको जयजयकारको भक्ति संगितले उत्सवमय बनेको छ ।
परिक्रमाको चौथो विश्रामस्थलको रुपमा रहेको मटिहानीमा स्वास्थ्य, खानेपानी, सरसफाई, बिजुलीबत्ति, शौचालय लगायतको आवश्यक बन्दोबस्त मिलाइएको मेयर मण्डलले जनाए । उनका अनुसार परिक्रमा स्वागत गर्ने सौभाग्य मटिहानीवासीलाई प्रारम्भकाल देखि हुदै आएको छ ।
फागुने औँशीदेखि पूर्णिमासम्म सञ्चालन हुने यस परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक तथा ऐतिहासिक स्थल समेटिँदै करिब १३३ किलोमिटर दूरी पार गरिन्छ । परम्पराअनुसार नेपालतर्फ १०७ र भारततर्फ २६ किलोमिटर पैदलयात्रा गर्ने चलन छ ।
विश्वकै लामो धार्मिक पदयात्राको रुपमा परिचित परिक्रमा सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र बाजागाजासहित राम–जानकीको डोला प्रस्थान गरेको थियो । डोला सोमबारै जनकपुरधाम आइपुगेर रत्नसागर मठ हुँदै जानकी मन्दिरमा पुगेपछि जनकपुरका विभिन्न मठ–मन्दिरबाट ल्याइएका अन्य डोलासमेत समावेश गरिएको थियो ।
त्यसपछि औपचारिक रूपमा परिक्रमा यात्रा प्रारम्भ भएको मानिन्छ । मौलिक पहिरन, परम्परागत बाजागाजा, झाँकी–कीर्तन र लावालस्करसहित हजारौं नरनारीको सहभागिताले यसलाई धार्मिक यात्रासँगै सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको छ ।
ं
१५ दिने यात्राका क्रममा क्रमशः जनकपुरको हनुमाननगर, बिहारस्थित कलना (कल्याणेश्वर), फुलहरको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत) र विसौल (भारत) हुँदै अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी यात्रा सम्पन्न हुने परम्परा छ ।
प्रतिक्रिया 4