+
+
Shares

रास्वपा बागमतीका उपसभापति हुमागाईंले गरे पार्टी परित्याग

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन ७ गते १२:५०

७ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।

उनले उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका हुन् । उनले नै काभ्रेमा रास्वपा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ ।

मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका र चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ ।

रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख छ ।

सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब नदेखाएको, विधानतः केन्द्रीय महाधिवेशन नगरिएको, वषौंदेखि खटिएका कार्यकर्ता छाडेर नयाँ र ‘चटकदार’ लाई टिकट दिएको, सीमित व्यक्तिले पार्टीलाई प्राइभेट कम्पनीजस्तो चलाएको, तल्लो तहका नेता-कार्यकर्तालाई ‘दास’ व्यवहार गरिएको, पार्टीभित्र ‘गणेश प्रवृत्ति’ (चाकडी गर्नेलाई पद दिने) मौलाएको, नीति र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित निर्णय हाबी, रवि लामिछानेको सहकारी प्रकरणले नैतिक संकट पैदा गरेको, महिला तथा समर्पित कार्यकर्ताको आत्मसम्मानमा चोट पुऱ्याएको, प्रधानमन्त्रीको रूपमा प्रस्तावित बालेनको नागरिकता कीर्तेले विश्वास र नैतिकतामा प्रश्न उठेको उनको आरोप छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका हुमागाईंले त्यसबेला १० हजार ५ सय ७३ मत पाएका थिए । यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी हुमागाईंले निर्वाचन आउन दुई साता बाँकी छँदा पार्टी परित्याग गरेका हुन् ।

हुमागाईंसहित पार्टी जिल्ला सभापती प्रविण ढकाल र अर्का नेता ताराबहादुर कुँवर उम्मेदवारको दौडमा रहेका थिए । तर अन्तिम समयमा बदन भण्डारीले टिकट पाएपछि रास्वपा काभ्रेमा चर्को असन्तुष्टी देखिएको थियो ।

हुमागाईंले पैसामा टिकट बेचिएको भन्दै सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टि पोख्दै आएका थिए । पार्टीको संगठन नै मजबुत नबनेको बेला सम्मानजनक मत ल्याएका हुमागाईं त्यसयता पार्टीलाई तल्लो तहसम्म विस्तारका लागि निरन्तर खटिएका थिए । उनी २०७९ सालमा नेपाली कांग्रेसबाट रास्वपा गएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?