७ फागुन, महतो राजविराज (सप्तरी) । सप्तरीको सदरमुकाम राजविराजस्थित नगेश्वर चोकमा पुग्ने जो कोहीलाई त्यो बाटो राजमार्ग हो भन्ने विश्वास लाग्दैन। लागोस् पनि कसरी? हुलाकीहरूले चिठीपत्र ओहोरदोहोर गराउँदा हिँडेको बाटोलाई आधार मानेर रेखाङ्कन गरिएको हुलाकी राजमार्ग त्यही नगेश्वर चोक भएर गएको छ।
तर, त्यो बाटो राजमार्ग त के, भित्री सडक भन्न मिल्ने पनि छैन। कालोपत्रेको नामनिसान भेटिँदैन। दायाँबायाँ निर्माण सामग्री असरल्ल छन्। र, ठूला सवारीसाधन हिँड्दा बेस्सरी धुलो उड्छ। त्यहीँ अघिल्तिर घर भएका शिक्षक शिवशङ्कर लाल दासलाई लागेको छ– जनताले अलि बढी दबाब दिन नसकेकाले ठेकेदारले तदारुकता नदेखाएका हुन्।
हुन पनि त्यो सडकको वारि र पारि रहेका राजविराज नगरपालिकाको वडा नम्बर ८ र ३ का बासिन्दाहरूबीच नाला निर्माणको विषयमा केही विमतिहरू छन्। अनि ठेकेदारले पनि कामलाई गति दिन सकेका छैनन्। वरपरका बासिन्दाले दिनहुँ धुलो खाइरहेका छन्।
सप्तरीको क्षेत्र नम्बर २ मा पर्ने त्यो ठाउँमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रतिस्पर्धामा छन् र उनको निर्वाचन सम्पर्क कार्यालय त्यहाँभन्दा केही पर छ। अघिल्लो पटक त्यहीँबाट प्रतिस्पर्धा गरेका उपेन्द्र यादव सप्तरी–३ मा पुगेका छन्।
सडकको अस्तव्यस्तता, धुलोधुवाँ र निर्वाचन राजनीतिलाई नजिकैबाट नियालिरहेका शिक्षक दासलाई लागेको छ– अघिल्लो पटक सीके राउत र उपेन्द्र यादवबीच जस्तो चर्को प्रतिस्पर्धा थियो, यसपटक पात्र फेरिए पनि अवस्था उस्तै छ। आचारसंहिताबारे सचेत देखिएका उनले सङ्केतमा भने, ‘मिडियामा यसरी खुलेरै भन्न त मिलेन, तर प्रतिस्पर्धा अघिल्लोभन्दा कम छैन, निकै चर्को छ।’

उनीसँगै भेटिएका शिवशङ्कर लाल दास राजविराजका स्थायी बासिन्दा हुन्। उनले जनताको नजरमा नेताहरू असफल हुनुमा प्रतिबद्धता र इमानदारीको अभावलाई मुख्य कारण मानेका छन्।
उनले मैथिली भाषामा टुक्का जोड्दै भने, ‘खेतमे धान लगाकर मेहनत नै करवै त केना फरतै? नेता सबके खेती जनताके सेवा है, इहे बात नेता सब नई बुझै छै।’ अर्थात् ‘खेतमा धान लगाएर त्यसको स्याहारसुधार गरेन भने फल्दैन। नेताहरूको खेती भनेकै जनताको सेवा हो, त्यो उनीहरूले बुझेनन्।’
राजविराजमा भेटिएका सञ्जयकुमार यादव केही महिनाअघि प्रदेश प्रमुखको कार्यालयबाट अवकाश पाएका करारका कर्मचारी हुन्। नेताहरूको व्यक्तित्व, सामुदायिक पृष्ठभूमि र कामले मतदाताको मुडमा प्रभाव पार्ने ठानेका उनी सप्तरीमा काम गर्नका लागि नेताहरूसँगै बर्गेल्ती एजेन्डाहरू भएको ठान्दा रहेछन्।
उदाहरणका लागि राजविराजमा विकास निर्माण गर्नुपर्ने कामहरू थुप्रै छन्, शिक्षाको अवस्था खस्किएको छ। जताततै फोहोर र अस्तव्यस्त छ। सडक सुधार, सरसफाइ र नगर चुस्तदुरुस्त बनाउने काम हुन सकेको छैन। उनलाई लागेको छ, ‘तराईको संवेदनशीलता र महत्त्व नबुझेका नेताहरूले विकास निर्माणमा प्राथमिकता दिएनन्।’

खै जादुको छडी ?
जनकपुर मन्दिर परिसरमा भेटिएका केही स्थानीयहरू मुलुककै प्रमुखमध्येको एक जानकी मन्दिर वरपरको अस्तव्यस्तता र फोहोर देखेर दिग्दार रहेछन्। मटिहानीबाट जानकी मन्दिर आएका र आफ्नो नाम राजन बताउने एक युवकले अहिलेको अवस्था देखेर, ‘देशमा केही हुनेवाला छैन, खाडीतिर लाग्नुपर्छ’ भन्ने निष्कर्ष निकालिसकेका रहेछन्।
जनकपुर नजिकैको मटिहानीका सरकारी स्कुलमा पटक्कै राम्रो पढाइ भएन रे! जसले गर्दा आफूले राम्रोसँग पढ्न नपाएको बताउने उनी १२ कक्षाको पढाइ सकेपछि ‘विदेश जाने’ मुडमा रहेछन्।
नेताहरूप्रतिको वितृष्णा र दिग्दारीले गर्दा उनले केही महिनाअघिको मतदाता नामावली दर्ता अभियानमा समेत नाम दर्ता गराएनछन्। ‘यो देशमा कुनै राम्रो नेता आए पनि काम गर्न दिँदैनन्, बालेन दाइ आए पनि केही हुनेवाला छैन’ ती युवाले आफ्नो निष्कर्ष सुनाउँदै भने, ‘पुरानाको विश्वास भएन, नयाँसँग जादुको छडी छैन।’

बजरङ्ग यादव जानकी मन्दिर अगाडि किताब पसलमा काम गर्छन्। जानकी मन्दिरको सरसफाइमा ध्यान नपुगेकोमा दिग्दार उनले धनुषाका विभिन्न क्षेत्रबाट कांग्रेस, मधेशवादी र एमालेका उम्मेदवारहरू निर्वाचित भए पनि कसैले जानकी मन्दिरको सुधारमा ध्यान नदिएको गुनासो गरे। उनीहरूलाई लागेको रहेछ, ‘काठमाडौँ महानगरपालिकामा मेयर बालेनले राम्रो गरेकाले युवायुवतीहरू उनीप्रति आकर्षित भएका रहेछन्।’
त्यही मन्दिरमा भेटिएका धनुषाकै दिनेश मण्डल बिजुली, सडकको माग पूरा केही भए पनि खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता सामाजिक मुद्दा सम्बोधन हुनुपर्ने देख्छन्। खानेपानीको समस्या बढ्दै गइरहेको भन्दै उनी थप्छन्, ‘जथाभावी खुलेका क्रसर खुला राख्ने सरकारका कयौँ निर्णयहरू गलत छन्।’
ब्याज कहिले तिरेर सक्ने?
बटेश्वर गाउँपालिकाको शान्तिनगर टोल छेवैको चोकमा एउटा बरको रूख छ। त्यहाँ खुला ठाउँमा गाउँपालिकाले शारीरिक व्यायाम गर्ने जिमका सामान राखिदिएको छ। त्यही छेवैमा ७० वर्षीया बिन्दा यादव भैँसी चराउँदै थिइन्।
चुनावी प्रचारप्रसार अभियान सुरु भएकै दिन गाउँमा उम्मेदवार र कार्यकर्ताहरूको चहलपहल देखेर उनी दङ्ग देखिन्थिन्। चुनावी माहोल के छ भनेर सोध्न नपाउँदै उनी आफ्नो परिवारको समस्यामाथि खुलेर बोल्न थालिन्।
‘मैले भोट त धेरै पटक खसालेँ, भोट खसालेर हाम्रो ऋण नघट्दो रहेछ’ उनले भनिन्, ‘हामी सबै ऋणमा डुबेका छौँ। साहुवाला संस्थालाई पैसा मात्रै लिनु, ब्याज दिन सक्दैनौँ भनेका थियौँ। उनीहरूले मानेनन्, ब्याजको पनि थप ब्याज चाहियो रे!’

उनको परिवारले लिएको ६० हजार ऋण अहिले बढेर एक लाख रुपैयाँ पुगेको रहेछ। उनलाई कहिले ऋण लिएको हो भन्ने थाहा छैन, घरमा रहेको टिपोट अरूलाई देखाएर मात्रै बताउन सक्छिन्। नत्र साना किसान बैंकबाट ऋण लिएको तिथिमितिबारे उनलाई उतिसारो हेक्का छैन।
ब्याजदर चाहिँ ठ्याक्कै थाहा छ, किनभने सय कडा तीन (वार्षिक ३६ प्रतिशत) दरले ऋणको ब्याज मात्रै महिनाको १८ सय ब्याज बुझाउनुपर्छ, नत्र त्यही ब्याज ऋणमा जोडिन्छ।
त्यत्रो ब्याजको भार खेपिरहेकी उनलाई जेनजी आन्दोलनमा भएको घटनाक्रममा सामाजिक सञ्जालमा छाएको एउटा दृश्यले निकै चर्याइरहेको छ, ‘जेन–जीको बेला काठमाडौँको एक घरमा पैसा जलेछ, त्यसरी पैसा जलाउनुभन्दा हामीजस्ता गरिबलाई सहायता गरेको भए के बिग्रन्थ्यो?’
ऋण चुलिँदै गएपछि उनका दुई छोराहरू पैसा कमाउन विदेशिएका छन्। एउटा साउदी (साउदी अरब) गए, कान्छा चाहिँ दुबईमा छन्। उनीहरूले पठाउने पैसाले अलिअलि भए पनि ऋण घटाउन सकिएला भन्ने आशा लागेको छ।
उनका श्रीमान्लाई खोकी लागिरहने, सञ्चो नहुने समस्याले दुःख दिइरहेको छ। स्वास्थ्यचौकीमा देखाएपछि टीबीको आशङ्कामा ९ महिना खानुपर्ने औषधि दिए।
‘मेरो श्रीमान्ले बीचैमा बदमासी गरिदिनुभयो’ उनी भन्छिन्, ‘डाक्टरले दिएको औषधि नखाएर बीचमै छाडिदिनुभयो, अनि फेरि खोकी लागिरहने भयो।’

पछिल्ला पाँच/सात वर्षमा गाउँमा विकास निर्माणका काम नभएका होइनन्। बस्ती–बस्तीमा बिजुली पुगेको छ, कालोपत्रे सडक पुगेको छ। गाउँका खाली ठाउँमा पालिकाहरूले व्यायाम गर्ने सामानहरू राखिदिएका छन्।
तर आँखालाई मात्रै शान्ति हुने ती सबै कुरा देख्दादेख्दै बिन्दालाई लागेको छ, ‘यी सबै कुराले पापी पेट नभरिने रहेछ। सबै ऋण तिरेका दिन टाउको हलुका हुन्छ, अनि त्यसपछि नयाँ जीवन सुरु गर्नुपर्ला।’
आफूलाई ऋण दिने साहुवाला संस्थाझैँ पुरानाहरूले जीवन बर्बाद मात्रै गरे भन्ने लागिरहेको थियो, त्यहीबीचमा नयाँवालाहरूको लहर आयो। ऋणमुक्तिसहितको नयाँ जीवन आउने दिनको अड्कल नहुँदा पनि गाउँमा आएको नयाँ लहरले उनलाई पनि तानेको रहेछ।

यता, उता सबैतिरका छिमेकीहरू नयाँ उम्मेदवार, पार्टी र बालेन भन्दै कुदेका छन्। ऋणमुक्तिको झिनो आशामा नयाँ लहर देखेका उनी भन्छिन्, ‘काठमाडौँको मेयर भएर धेरै गरेका रहेछन्। हाम्रो मधेशको पनि काम गर्छन् कि भन्ने आशा छ।’
क्षिरेश्वरको पकडियामा भेटिएका रामलोचन साहलाई भने दायाँबायाँ मतलब थिएन। घरनजिकैको खेतमा पानी लगाउन पुगेका उनलाई लागेको छ– नयाँ–पुरानाहरू सबै उस्तै हुन्। तिनीहरूले भोट पाउन जस्ता पनि आश्वासन दिन्छन्, तर पछि काम गर्दैनन्।
उनले ‘बाहिरको माहोल जे जस्तो भए पनि आफ्नो भोट दायाँबायाँ नहुने’ सङ्केत गरे। उनी भन्छन्, ‘यहाँका मानिसहरूले जे जस्तो सोचे पनि मेरो भोट दायाँबायाँ हुँदैन, पहिले जहाँ हालेको थिएँ, हात त्यहीँ जान्छ।’
तस्वीरहरू : कमल प्रसाईं
प्रतिक्रिया 4