राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीचको भएको भेटघाटको गोप्य फोटो सार्वजनिक भएको दाबी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तर हाम्रो तथ्य जाँचले गोप्य भनिएको यो फोटो लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेको बेला गृह मन्त्रालयकै वेबसाइटमा अपलोड भएको भेटिएको छ।
के हो दाबी ?
एक लाख ३८ हजार बढी फलोअर्स भएका Bhim Psd Adhikari नामको फेसबुक प्रयोगकर्ताले बुधबार (फेब्रुअरी १८) साँझ ‘भारतीय राजदूतसँगको गोप्य भेटको फोटो सार्वजनिक । रविलाई तनाव‘ लेखिएको फोटो पोस्ट गरे। फोटोमा भारतीय राजदूत नवीन श्रीवास्तव र रवि लामिछाने देखिन्छन्।
‘चुनावको बेला भारतीय राजदूतसँग होटेलमा भेट ? केका लागि ’ क्याप्सनसहित अपलोड गरिएको फोटोमा हामीले शुक्रबार अपराह्न तथ्य जाँच गर्दैगर्दा ९ सय २७ रियाक्सन, एक सय ९१ कमेन्ट र दुई सय ७ पटक शेयर गरिएको छ । शुक्रबार बिहान समाचार प्रकाशित गर्नेबेलासम्म एक हजार दुई सय रियाक्सन, दुई सय ६१ कमेन्ट र २८४ पटक सेयर गरिएको छ ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क
सोही फोटोलाई अरुण नेपाली लुइँटेल नामक फेसबुक प्रयोगकर्ताले बुधबार दिउँसो फेसबुकमा अपलोड गरेका छन्। ६५ हजार फलोअर्स भएका लुइँटेलको फेसबुकमा पनि ‘चुनावको बेला भारतीय राजदूतसँग होटेलमा भेट ? के का लागि ???’ क्याप्सनसहित फोटो अपलोड गरिएको छ । उक्त फोटोमा हामीले तथ्य जाँच गर्दैगर्दा एक सय ३८ रियाक्सन, २८ कमेन्ट र ८ पटक शेयर गरिएको छ । शुक्रबार बिहान त्यो संख्या केही बढेको छ ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भएको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा गृह मन्त्रालयको आधिकारिक वेबसाइटको ग्यालेरी नामक पृष्ठमा उक्त फोटो फेला पार्यौँ।
गृह मन्त्रालयको वेबसाइटमा ‘मा. उपप्रधानमन्त्री एवम् गृह मन्त्रीज्यूसँग भेट गर्नु हुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव २०८० चैत्र १३’ शीर्षकसहित राखिएको छ।
हेर्नुहोस् स्क्रिनसट:

गृह मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्। अर्काइभ लिङ्क।
गृह मन्त्रालयको वेबसाइटमा अहिले भाइरल भएको भारतीय राजदूत र रवि लामिछाने दुई जना मात्र रहेको फोटोसहित अरू दुई वटा फोटो पनि राखिएका छन्, जसमा दुई देशका अरु प्रतिनिधिहरू पनि देखिन्छन्। हेर्नुस् स्क्रिनसट
लामिछानेले दोस्रो पटक २०८० फागुन २३ गतेदेखि २०८१ असार ३० सम्म उपप्रधान एवम् गृहमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए। यो त्यही बेलाको फोटो हो।
यस सम्बन्धी २०८० चैत १३ मा अनलाइनखबरमा पनि गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता शीर्षकमा समाचार प्रकाशन भएको हामीले भेट्यौँ।
तथ्य जाँच
दाबी : चुनावको बेला भारतीय राजदूतसँग रवि लामिछानेको होटेलमा गोप्य भेटको फोटो सार्वजनिक।
दाबीकर्ता : भीम प्रसाद अधिकारी र अरुण नेपाली लुइँटेल नामक फेसबुक प्रयोगकर्ता।
तथ्य : भ्रामक सूचना। सामाजिक सञ्जालमा “चुनावको बेला होटलमा गोप्य भेटको फोटो सार्वजनिक भनेर प्रस्तुत गरिएको फोटो वास्तवमा २०८० चैत्र १३ गते गृह मन्त्रालयको कार्यालयमा भएको औपचारिक भेटको हो, जहाँ त्यसबेला उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच कूटनीतिक छलफल भएको थियो। भेटको फोटो अहिले पनि गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ। निर्वाचनसँग कुनै सम्बन्ध नरहेको उक्त औपचारिक भेटलाई होटलमा भएको गोप्य भेटका रूपमा प्रस्तुत गर्नु सन्दर्भ तोडमोड गरी गरिएको भ्रामक दाबी हो।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
प्रतिक्रिया 4