News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेटअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध ३१ रनको अग्रता बनाएको छ।
- बागमतीले पहिलो इनिङमा २०७-९ रन बनाएर इनिङ घोषणा गरेको थियो र एपीएफले जवाफी ब्याटिङमा २३९ रन बनाएको थियो।
- दोस्रो इनिङ सुरु गरेको बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको छ र ३१ रनले पछाडि छ।
८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलको पहिलो दिनको समाप्तिमा एपीएफविरुद्ध बागमती ३१ रनले पछाडि छ ।
खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । ५४.५ ओभरमा २०७-९ को अवस्थामा बागमतीले इनिङ घोषणा गरेको थियो । बागमतीका लागि बिबेक मगरले सर्वाधिक ४२ रन बनाए । आशुतोष घिरैया र रिजन ढकालले समान ३५ रन बनाए भने शुभ कंसाकारले ३४ रन बनाए । सूर्य तामाङले २७ रन बनाए ।
एपीएफका लागि इर्साद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २-२ तथा अमरसिंह राउटेला र अभिशेष गौतमले १-१ विकेट लिए ।
त्यसपछि जवाफी ब्याटिङमा एपीएफ ४९.२ ओभरमा ३२ रनको अग्रतासहित २३९ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित पौडेलले अविजित ८७ रन बनाए भने सन्दीप जोराले ६१ रन बनाए ।
दीपक बोहराले ३८ तथा आसिफ शेखले २८ रन बनाए । लोअर अर्डर ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।
बागमतीका लागि रिजन ढकालले ३ विकेट लिँदा बिपिन आचार्य र सूर्य तामाङले २-२ अनि तिलकराज भण्डारी र इशान पाण्डेले १-१ विकेट लिए ।
३२ रनले पछाडि परेको अवस्थामा दोस्रो इनिङ थालेको बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको छ । नाइट वाचम्यान सूर्य तामाङलाई एपीएफका कप्तान रोहित पौडेलले आउट गरेपछि बागमती १-१ को अवस्थामा छ र ३१ रनले पछाडि छ ।
प्रतिक्रिया 4