८ फागुन, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लिथियम-आयन ब्याट्रीको भित्री भाग स्पष्ट रूपमा हेर्न मिल्ने एउटा नयाँ प्रविधि विकास गरेका छन्। यसले ब्याट्रीलाई छिटो चार्ज हुने र लामो समयसम्म टिक्ने बनाउन मद्दत गर्नेछ।
वैज्ञानिकहरूले ब्याट्री भित्रका इलेक्ट्रोडहरूलाई जोडेर राख्ने ‘पोलिमर बाइन्डर’ (एक प्रकारको ग्लु ) लाई हेर्नका लागि ‘स्टेनिङ’ प्रविधि प्रयोग गरे। यसमा चाँदी र ब्रोमिन जस्ता मार्करहरू प्रयोग गरिएको छ।
यो प्रविधिले १० न्यानोमिटर जति पातलो तहलाई पनि इलेक्ट्रोन माइक्रोस्कोपमार्फत स्पष्ट देखाउँछ। यसअघि यी बाइन्डरहरू कहाँ र कसरी बसेका छन् भनेर हेर्न असम्भव जस्तै थियो।
बाइन्डरको वितरणलाई सुधार्दा ब्याट्री भित्रको आन्तरिक अवरोध ४० प्रतिशत सम्मले घटेको पाइएको छ। यसको सीधा अर्थ ब्याट्री पहिलेको तुलनामा धेरै छिटो चार्ज हुन सक्छ।
यो प्रविधि हाल प्रयोगमा रहेका मोबाइल र गाडीका ब्याट्रीका साथै भविष्यमा आउने ‘सिलिकन’ आधारित ब्याट्रीहरूमा पनि प्रयोग गर्न सकिन्छ।
यो अनुसन्धानले ब्याट्री बनाउने तरिकामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, जसले गर्दा विद्युतीय गाडी र स्मार्टफोनका ब्याट्रीहरू थप शक्तिशाली र टिकाउ हुनेछन्।
प्रतिक्रिया 4