+
+
Shares

मनऋषिको ‘आँखा’ ले खोजिरहेको जुम्ली सामर्थ्य

धितालको चुनावी शैली परम्परागत तामझामभन्दा ठ्याक्कै उल्टो छ । उनी प्राय: एक्लै गाउँ–बस्ती डुलिरहेका छन् । एक ‘सोलो’ यात्री झैँ, जो जुम्लीको दैलोमा पुगेर मत मात्र होइन, उनीहरूको ‘सामर्थ्य’ सम्झाइरहेका छन् ।

विक्रम तिरुवा विक्रम तिरुवा
२०८२ फागुन १० गते ९:०१
किताब बेचेर चुनाव प्रचार गर्दै धिताल र प्रचारका क्रममा मतदाताको घरमा ।

१० फागुन, जुम्ला । हिउँदको चिसो बतासले सिन्जा उपत्यकाका कान्लाहरू सुसाइरहँदा एकजना व्यक्ति झोलामा केही थान किताब बोकेर घरघर चहारिरहेको देखिन्छ । ती व्यक्ति अरू कोही नभएर जुम्लाको चुनावी मैदानमा होमिएका पूर्वपत्रकार मनऋषि धिताल हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार धिताल काँधमा झुण्डिएको झोला, हातमा आफ्नै केही थान कृतिहरू र अनुहारमा एउटा फरक चमक बोकेर जुम्ली जनताको सामर्थ्य सम्झाउँदै भोट मागिरहेका छन् ।

धितालको चुनावी शैली परम्परागत तामझामभन्दा ठ्याक्कै उल्टो छ । उनी प्राय: एक्लै गाउँ–बस्ती डुलिरहेका छन् । एक ‘सोलो’ यात्री झैँ, जो जुम्लीको दैलोमा पुगेर मत मात्र होइन, उनीहरूको ‘सामर्थ्य’ सम्झाइरहेका छन् ।

किताब बेचेर चुनाव खर्च : स्वाभिमानको राजनीति

किताबसँग उनको विशेष लगाव छ । केही वर्ष अष्ट्रेलिया बसेर फर्किएका मनऋषिले चुनावमा टिकट पाउनुअघि नै अष्ट्रेलियन साथीको सहयोगमा हिमा गाउँपालिकाको बुअमा पर्ने हिमा आवासीय स्कुलमा नयाँ फर्निचरसहितको आकर्षक कक्षाकोठा निर्माण गरिदिएका थिए । सो स्कुलमा आवासीय रुपमा ६३ जना अनाथ बालबालिका अध्ययनरत छन् ।

अहिलेका चुनावहरू ‘पैसाको खोलो’ बगाउने होडबाजी जस्ता लाग्छन् । तर, पूर्व पत्रकार तथा लेखक धितालले भने एउटा भिन्न र साहसी बाटो रोजेका छन् । उनले आफ्नो चुनावी खर्च जुटाउन आफूले लेखेका ८ वटा पुस्तकहरूको बन्डल ५ हजार रुपैयाँमा बिक्रीमा राखेका छन् ।

‘मैले चन्दा मागेर होइन, विचार बेचेर चुनाव लड्ने संकल्प गरेको छु,’ उनी जुम्लाका बस्तीहरूमा भन्दै हिँड्छन् ।

विचारका लागि चन्दा होइन, सिर्जना साटेर चुनावी अभियान चलाउने उनको यो शैलीले अहिले धेरैको ध्यान तानेको छ । आफ्नो यो शैलीलाई धेरैले मन पराइरहेको भन्दै मनऋषी मख्ख छन् । भन्छन्, ‘मतदाताहरू मेरो सादगी र स्वाभिमान देखेर उत्साहित छन् र सहानुभूति देखाइरहेका छन् ।’

सिञ्जाको  माटो र जुम्ली सामर्थ्य

धितालको जन्मथलो सिञ्जा उपत्यका हो, जुन जुम्लाकै सबैभन्दा धेरै मतदाता भएको र ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । उनले गाउँ–गाउँ पुगेर भनिरहेका छन्, ‘जुम्लासँग सामर्थ्य छ, तर सही नेतृत्व छैन । त्यसैले म नेतृत्व गर्न आएको छु । ‘टेस्टेड’ नेतृत्वको साटो नयाँ विकल्प छान्ने सामर्थ्य देखाउने बेला आएको छ ।’

जुम्लाको राजनीतिमा यो पटक सिञ्जा क्षेत्र ‘निर्णायक’ बन्ने निश्चित छ । सिञ्जा उपत्यकाको धेरै भन्दा धेरै भोट जसले बटुल्न सक्छ त्यसकै जित निर्णायक हुने स्थानीय बताउँछन् ।

रोचक त के छ भने, राप्रपाका चर्चित उम्मेदवार ज्ञानेन्द्र शाही र मनऋषि सिञ्जा क्षेत्रको एउटै वडाका हुन् । शाही गत २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरलाई हराएर प्रतिनिधि सभा सदस्य चुनिएका थिए ।

यसपटक माओवादी र एकीकृत समाजवादी लगायतका दलहरु मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले टिकट पाएका छन् । कर्णाली प्रदेशका पूर्वमन्त्री समेत रहेका उनी पनि प्रभावशाली उम्मेदवार मानिन्छन् ।

ज्ञानेन्द्र र नरेशको चुनाव प्रचार शैली आक्रामक छ । उनीहरुका नाममा बनाइएका चुनावी गीत बजाउँदै समर्थकको हुल प्रचारमा सक्रिय छ ।

अर्कोतर्फ कांग्रेसका दीपबहादुर शाही, नेकपा एमालेका शान्तिलाल महत र रास्वपाका विनिता कठायत जस्ता प्रभावशाली उम्मेदवार पनि आआफ्नै शैलीमा प्रचार गरिरहेका । चुनावी प्रतिस्पर्धामा नेमकिपाका विर्षबहादुर रावत, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका विर्षबहादुर शाही, नेपाल जनता पार्टीका रनिल विक्रम शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल पनि छन् ।

धितालले कसैलाई गाली नगरीकन शान्त शैलीमा केवल विकल्प र विचारको कुरा गर्दै भोट मागिरहेका छन् । उनको यो शैली संसदीय राजनीतिमा कति काम लाग्छ हेर्न बाँकी छ ।

समृद्ध जुम्लाको संकल्पपत्र

 

एक हप्ता अगाडि पत्रकार सम्मेलन गरी मनऋषिले चुनावी संकल्पपत्र सार्वजनिक गरेका थिए । उनको संकल्प पत्रमा जुम्लाको भूगोल र माटो सुहाउँदो विकासको खाका कोरिएको छ । उनका मुख्य एजेन्डाहरू यसप्रकार छन्–

ऐतिहासिक पुनर्जागरण : खस सभ्यता र सिञ्जाको ऐतिहासिक गौरवलाई विश्वभर चिनाउने र पर्यटनको मेरुदण्ड बनाउने ।

ब्रान्डिङ र व्यावसायिक कृषि : जुम्लाको रैथाने स्याउ, सिमी र मार्सी धानको ब्रान्डिङ गरी किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्ने ।

पलायन रोक्ने योजना : युवाहरूलाई वैदेशिक रोजगारीबाट फर्काउन स्थानीय स्तरमै उद्यमशीलता, सीप विकास र कृषि-आधारित उद्योगहरूको स्थापना गर्ने ।

आधारभूत सेवामा पहुँच : शिक्षा र स्वास्थ्यमा विशेषज्ञ सेवा विस्तार गर्ने र मानसिक स्वास्थ्यका कार्यक्रमहरूलाई गाउँ तहसम्म पुर्याउने।

सुशासन र जवाफदेहिता : ‘चुनाव जितेपछि काठमाडौँका महलमा हराउँदैन’ भन्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शितामा जोड दिएका छन् ।

‘आश्वासनको होइन, संकल्पको राजनीति गरौं’ भन्ने मूल मन्त्र बोकेका धितालका लागि यो चुनाव केवल अंकगणितको खेल मात्र होइन । यो त जुम्लीको आत्मसम्मान बिउँझाउने र पुराना दलहरूको ‘टेस्टेड’ नेतृत्वको साटो नयाँ विकल्प छान्ने अवसर पनि हो ।

उनी भन्छन्, ‘म कुनै बाहुबली नेताले मात्रै समाज विकासको ठेक्का लिन्छ भन्ने भाष्य परिवर्तन गरेर आम जनताको सामूहिक सपना र त्यो सपनालाई सामूहिक रुपमा कार्यान्वयन गरेर विपनामा परिणत गर्न सकिन्छ भन्ने विश्वास गर्दछु ।’

हातमा आफ्ना पुस्तक र मनमा जुम्लाको चित्र बोकेर ‘आँखा’ चिह्नका साथ चुनाव प्रचारमा हिँडिरहेका मनऋषि धितालले यसपटक जुम्लाको राजनीतिमा कस्तो तरंग ल्याउलान्, त्यो भने फागुन २१ को परिणामले नै देखाउनेछ । तर, उनको यो ‘सोलो’ यात्राले जुम्लाको राजनीतिक संस्कारमा एउटा नयाँ मानक भने पक्कै खडा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?