लीलानाथ शर्माको सामाजिक सञ्जालमा २१ फेब्रुअरीको मध्याह्नतिर एउटा पोस्ट देखें। त्यसमा बायाँतर्फ ‘बुक लन्च’ र दायाँतर्फ एक झुप्पो जङ्गली फलको तस्बिर समावेश छ। जङ्गली फलको तस्बिरले तुरुन्तै ध्यान तान्यो। त्यो जङ्गली फल विगत आधा शताब्दीदेखि चिन्दै आएको ‘ठेकीफल’ को हो। यसको यति सुन्दर तस्बिर यसअघि कहिल्यै देखेको थिइनँ।
विमोचन हुन लागेको पुस्तक ‘जलथलका रूखहरू’ भास्कर अधिकारी, लीलानाथ शर्मा, योगेन्द्र बि. पौडेल र मार्क एफ. वाटसनले लेखेका हुन्। अधिकारी र वाटसन नेपालको वनस्पति अध्ययन–अनुसन्धानमा संलग्न हुँदै आएका बेलायत निवासी वनस्पतिविज्ञ हुन्। बाँकी दुई जनामध्ये शर्मा फरेस्ट एक्सनका कर्मचारी तथा पौडेल त्रिभुवन विश्वविद्यालयका अध्यापक हुन्।
कस्तो संयोग! बाल्यकालमा हरेक वर्ष एकाधपटक ‘ठेकीफल’ खान्थें। हिजोआज पनि सुनसरीस्थित मेरो घरनजिकै उत्तरपश्चिममा ‘ठेकीफल’ को एउटा निकै अग्लो रूख छ, जसको टुप्पो केही दशकअघि भाँचिएको थियो, तर अझै बचेकै छ (तस्बिरमा देखिएका भाँचिएपछि पलाएका हाँगाहरू)। पहिले यो करिब ३०–३५ मिटर जति अग्लो थियो होला। रूख सुरिलो थियो। हाँगा मात्र टुप्पोमा पलाएको थियो। यसमा कसैले चढ्ने खाप (खुकुरीले काटेर खुट्टो राख्ने ठाउँ) बनाएको थियो। त्यसमा टेक्दै यो पङ्क्तिकार करिब साढे चार दशकअघि उक्त रूखमा पाकेको फल टिप्न चढेको थियो।
चर्चा गरिएको ‘ठेकीफल’ को रूख रामधुनी नगरपालिकाको कुमरखत सामुदायिक वनको हो। मेरो घरको पूर्वदक्षिण खेतनजिक तर जङ्गलमा करिब २०३६ सालसम्म थप दुई वटा ‘ठेकीफल’ का रूख थिए। हिजोआज त्यहाँ अतिक्रमण भएर मानव बस्ती छ।
मेरो घरभन्दा करिब दुई किलोमिटर पूर्वतर्फ सेउती खोला नजिक कुँवर काजीको बाँध किनारमा ‘ठेकीफल’ का दुई वटा रूखहरू देखेको थिएँ, त्यहाँ हिजोआज छैनन्। त्यहाँको ‘ठेकीफल’ अलि सानो फल्थ्यो। फल चाम्रो र नमिठो हुन्थ्यो। सायद, त्यो अर्कै प्रजाति थियो होला।
‘ठेकीफल’ को रूख मैले सुनसरी जिल्लामा अन्यत्र एक ठाउँ कालाबन्जर नजिक बाङ्गेको जङ्गलमा निकैवटा देखेको छु, करिब ६ वर्षअघि। त्यसबेला त्यहाँ बेपारी भनिने रूख पनि देखेको थिएँ। त्यो रूख जलथलमा पनि थियो। हिमालखबर को २ फागुन २०७८ को संस्करणमा ‘नेपालको निम्ति नयाँ रूख प्रजाति भनेर सुनसरी र झापामा भेटिएको व्यापारी रूख कस्तो वनस्पति?’ भनेर लेखें ।
सप्तकोशी पश्चिममा चाहिं ‘ठेकीफल’ सायदै पाइन्छ। उदयपुरका मित्र भगवत रावतले अघिल्लो वर्ष गाईघाटदेखि पूर्वतर्फ सडकछेउ रूख रोप्ने योजना बुनेका थिए। त्यसबेला यो पङ्क्तिकारले सकभर जङ्गली फल हुने रूखहरू रोप्न सुझाएको थियो। उनले ‘ठेकीफल’ त्यहाँको जङ्गलमा छ कि छैन भनेर सोधीखोजी गर्दा नपाएको बताएका थिए ।
पाकेको ‘ठेकीफल’ ज्यादै मिठो हुन्छ। फल तस्बिरमा देखिए झैं झुप्पामा हुन्छ। फलको आकार गोलोदेखि डिम्बाकार (Ovoid) आकारको, बाक्लो हरियो–पहेंलो बोक्रायुक्त र पाक्दै जाँदा पहेंलो रङमा परिणत हुने विशेषता बोकेको हुन्छ ।
जीव विज्ञानमा डिप्लोमा पढ्दाताका यसको वैज्ञानिक नाम थाहा पाउन निकै चासो राखें, तर सकिनँ। स्नातकोत्तर तहमा मेरो शोधकार्य तत्कालीन कोशी अञ्चलका जङ्गली फलको सामान्य सर्वेक्षणमा ६७ प्रजातिका विवरण र तीमध्ये उपलब्ध नभएका १० वटा फलका चाहिं कार्बोहाइड्रेट, चिल्लो पदार्थ र खनिजहरू के–कति प्रतिशत छन् भनेर प्रयोगशालामा काम गरेको थिएँ ।
शोधकार्यमा ‘ठेकीफल’ को वैज्ञानिक नाम थाहा पाउन सकिनँ र त्यसलाई समावेश गरिनँ। नाम थाहा पाउन नसक्नुको कारण वनस्पतिविज्ञहरूले यो वनस्पति नेपालमा पाइन्छ भन्ने त्यसताकासम्म थाहा पाएका थिएनन् ।
सन् २००५ मा बेलायतस्थित रोयल बोटानिकल गार्डेन, इडिनबर्गको वानस्पतिक नमूना सङ्ग्रहालयमा यसको नमूना खोजें, फेला पार्न सकिनँ। त्यसपछि लन्डनस्थित ब्रिटिस म्युजियम (नेचुरल हिस्ट्री) मा यसको नमूना भारतबाट सङ्कलन गरेको फेला पारें।
यसको नाम ‘अल्फोन्सिया भेन्ट्रिकोसा’ (Alphonsea ventricosa) भन्ने थाहा पाएँ। बेलायतमा गुराँस परिवारका ३/४ वंशका नमूना जो नेपाल तथा दक्षिण एसियाबाट सङ्कलन भएका थिए, अध्ययन गर्न गएको थिएँ। त्यस क्रममा अर्कै परिवारको ‘ठेकीफल’ को वैज्ञानिक नाम थाहा पाउन सक्दा बढो हर्षित हुन पुगेको सम्झन्छु।
नेपालको निम्ति नयाँ
कुनै वनस्पति देश विशेषमा छ भनेर सार्वजनिक गर्न पुस्तक वा जर्नलमा त्यसको विवरण वा सूची प्रकाशन गरिन्छ। ‘ठेकीफल’ होइन, ‘ठेकीफल’ कै अल्फोन्सिया वंश नै नेपालको निम्ति सन् २००७ सम्म सूचीकृत थिएन। यसैले यो नेपालमा पाइन्छ भनेर विश्वजगतलाई जानकारी गराउन भारतबाट प्रकाशित हुने ‘प्लियुनी’ (Pleione) जर्नलमा लेखेर पठाएँ। त्यो सामग्री भोल्युम २, नम्बर २ (सन् २००८) मा ‘अल्फोन्सिया भेन्ट्रिकोसा: न्यु रेकर्ड फर द फ्लोरा अफ नेपाल’ शीर्षकमा प्रकाशित भयो।
यसपछि नेपाल सरकारको वनस्पति विभागअन्तर्गत राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी, ललितपुरले सन् २०११ को ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स’ भोल्युम २ मा अल्फोन्सिया भेन्ट्रिकोसा समावेश गरेर प्रकाशित गर्यो। त्यस पुस्तकमा सुनसरीस्थित चारकोसे जङ्गलबाट यसको नमूना २००५ मार्च ७ मा सङ्कलन गरेको लेखिएको छ (पृ. २२)।
यहाँ यो प्रजातिको नमूनाको कुरा उठाउनुको विशेष कारण छ। सन् २०११ मा नै रोयल बोटानिकल गार्डेन इडिनबर्ग, युकेले ‘फ्लोरा अफ नेपाल, भोल्युम ३’ शीर्षकको पुस्तक प्रकाशन गर्यो। यसमा ‘ठेकीफल’ सम्बद्ध वनस्पति परिवार ‘एन्नोनेसी’ (Annonaceae) मा अल्फोन्सिया भेन्ट्रिकोसा समावेश छैन। पुस्तकमा समावेश वनस्पतिका २१ परिवारमध्ये २ परिवार लेख्नेमा यो पङ्क्तिकारको नाम पनि सहलेखकका रूपमा समावेश छ। यद्यपि यसमा यो पङ्क्तिकारको ‘कन्ट्रीब्युसन’ त्यस्तो थिएन।
उक्त पुस्तकमा एन्नोनेसी परिवार जसले लेखिरहेका थिए, उनलाई यो पङ्क्तिकारले ‘अल्फोन्सिया भेन्ट्रिकोसा: न्यु रेकर्ड फर द फ्लोरा अफ नेपाल’ को एक प्रति रि–प्रिन्ट उपलब्ध गराएकै थियो। तर किन छुटाए? यसबारे पुस्तकका सम्पादकहरू मार्क एफ. वाटसन, शिनोबु अकियामा, हिरोशी आइकेडा, कोलिन ए. पेन्ड्री, केशव आर. राजभण्डारी र कृष्ण के. श्रेष्ठलाई नै थाहा होला।
वनस्पति अध्ययनको थालनी
नेपालमा वनस्पतिको वैज्ञानिक तवरमा खोज–अनुसन्धान बेलायतको इष्ट इन्डिया कम्पनीका एक कारिन्दा बुकानन ह्यामिल्टनबाट शुरु भएको हो। उनी कलकत्ताबाट काठमाडौं उपत्यकाको सामरिक सामर्थ्य बुझ्न काठमाडौं सन् १८०२ मा आएका थिए।
१९औं शताब्दीको सुरुतिर विश्वभरि वनस्पतिका नमूना सङ्कलन गरेर अध्ययन गर्ने क्रान्तिकारी चरण थियो। भारतमा यसैको लागि इष्ट इन्डिया कम्पनीले रोयल बोटानिकल गार्डेन, कलकत्ता स्थापना गरेको थियो।
ह्यामिल्टन नेपाल आउँदा उनको भ्रमणको प्रशासनिक तथा सुरक्षा सम्बन्धी जिम्मेवारी सम्हाल्ने वरिष्ठ अधिकारी क्याप्टेन नक्स थिए। ह्यामिल्टन उनै मातहतका एक कर्मचारी थिए। उनले वनस्पति मात्र होइन, जन्तुको नमूना पनि सङ्कलन गरेर बेलायत पठाए। नेपालको वनस्पति तथा जन्तुको वैज्ञानिक अभिलेख तयार गर्ने उनै हुन्, पहिलो व्यक्ति।
सन् १८१४ मा नेपालका लागि प्रथम स्थायी आवासीय प्रतिनिधिको रूपमा इष्ट इन्डिया कम्पनीले एडवार्ड गार्डनर (Edward Gardner) लाई नियुक्त गर्यो। गार्डनरको अनन्य मित्र रोयल बोटानिकल गार्डेन, कलकत्ताका सुपरिन्टेन्डेन्ट नाथानियल वालिच थिए।
गार्डनरले वालिचको अनुरोधमा नेपालबाट वनस्पतिका नमूना सङ्कलन गराएर कलकत्ता पठाउँथे। उनले जति पठाउँदै गए, उति वालिचको नेपालप्रति मोह जाग्दै गयो। किनभने भारतमा नभेटिएका वनस्पति सङ्कलन भइरहेको थियो। फलस्वरूप, उनी विशुद्ध वनस्पतिको नमूना सङ्कलन गर्न काठमाडौं उपत्यका सन् १८२० मा आएर एक वर्षसम्म बसे। उनले त्रिशूली, गोसाइँकुण्डसम्म पुगेर नमूना सङ्कलन गरे।
यसबारे बृहत् चर्चा मार्टिन क्रिगर (Martin Krieger) ले लेखेको ‘नाथानियल वालिच’ शीर्षकको पुस्तकमा पढ्न पाइन्छ (सन् २०२२, पृ. १३७–१५८)। दक्षिण र दक्षिणपूर्व एसियामा सबैभन्दा बढी वनस्पति विश्वको निम्ति नयाँ ‘डिस्कोभर्ड’ गर्ने उनै वालिच हुन्।

जर्मनका एक वनस्पतिविज्ञ सन् १८४५ मा नुवाकोटसम्म पुगेका थिए। सन् १८४८ मा बेलायतका जे.डी. हूकर दार्जीलिङबाट नेपाल प्रवेश गरेर ओलाङचुङगोलासम्म वनस्पति सङ्कलन गर्न पुगे। यसबारे बृहत् जानकारी हूकरलिखित ‘Himalayan Journals’ को भोल्युम १ र २ मा समावेश छ (सन् १८५५)। जङ्गबहादुर राणाले त्यो वनस्पति नमूना सङ्कलन कार्यको सुरक्षार्थ एक खवास थरका हवल्दारको नेतृत्वमा ६ जना सिपाही नै खटाएका थिए।
त्यसपछि सन् १८७६, १८८४, १८९९, १९०५, १९०७, १९२१, १९२८, १९२९, १९३५, १९३६ मा विदेशी वनस्पति सङ्कलक टोली नेपाल आएका थिए। सन् १८४८ पछि त विदेशीहरू नेपालका वनस्पतिका नमूना सङ्कलन गर्न अत्यधिक सङ्ख्यामा आए।
बेलायतीको भन्दा जापानीको रुचि अधिक थियो। नेपालको वनस्पतिका नमूना जापानका विभिन्न संघ–संस्थामा अहिले पनि सङ्ग्रहित छन्। तिनीहरूको अध्ययन नगरी नेपालको वनस्पति अध्ययन अपुरो हुन्छ।
हालैका दशकमा नेपालमा विदेशी वनस्पति सङ्कलकहरूले वनस्पतिका नमूना देशबाहिर लैजान कडा प्रावधान सरकारले बनाएपछि त्यो क्रम लगभग रोकिएको छ।
सन् १९६० यता नेपाल सरकारको वनस्पति विभागले पनि उल्लेख्य वनस्पति सङ्कलन तथा अध्ययन गर्दै आएको छ। तर नेपालमा वनस्पति अध्ययन–अनुसन्धान ९९ प्रतिशत जति पहाड र हिमालय क्षेत्रमै सीमित भएको छ। चुरे क्षेत्रको वनस्पति अध्ययन–अनुसन्धान विशेषतः पूर्वी नेपालको अत्यन्त कम छ।
तराईको जङ्गल त अध्ययनका लागि भर्जिन जस्तै छ। तराईको एउटा पुस्तक ‘फ्लोरा अफ शुक्लाफाँटा नेशनल पार्क, नेपाल’ सन् २०२५ मा प्रकाशित भएको छ। यसमा नेशनल पार्कमा पाइने घाँस, बुट्यान, लहरा, रूख आदिको सचित्र व्याख्या छ।
पुस्तक नेपाल सरकारको प्लान्ट रिसर्च सेन्टर, धनगढी, कैलालीले प्रकाशन गरेको हो। पुस्तक केशवराज राजभण्डारी, गङ्गादत्त भट्ट, रीता क्षेत्री, तीर्थराज पाण्डेय, तिलकुमारी थापा, सबिना शाही र कृष्णबहादुर बुढाथोकीले लेखेका हुन्।
झापास्थित जलथल जङ्गलमा वनस्पति खोज–अनुसन्धान गर्ने सुरुका अध्येताहरू नरेश थापा, गङ्गादत्त भट्ट र सुवास खत्री हुन्। उनीहरूले लेखेको ‘जलथल फरेस्ट : अ प्रिलिमिनरी सर्भे’ शीर्षकको लेख वनस्पति विभागले प्रकाशन गर्ने बुलेटिनमा सन् २००३ मा प्रकाशित भएको थियो।
नेपालमा करिब ६०० जति रूख प्रजाति होलान्। तर रूख प्रजातिका बारेमा वनस्पति अध्येतामै अत्यन्त कम जानकारी छ। नेपालमा वनस्पतिविज्ञहरूले धेरै चिन्ने भनेको साना बिरुवा समूहका वनस्पतिहरू हुन्। प्रजाति पहिचान गर्न विशेषतः फूल चाहिन्छ। रूखका फूल नजिकबाट खिचिएको अत्यन्त कम छ
त्यस लेखमा जलथल जङ्गल अर्धसदाबहार प्रकृतिको भएको जनाइएको छ। त्यो भनेको ‘लिटरल्ली’ अर्थात् शाब्दिक अर्थमा त्यहाँ पाइने रूखहरूका पात चैत–वैशाखमा आधा जतिका मात्र झर्छन्। अन्यको पात बोटमै हुन्छ भन्ने हो।
यो पङ्क्तिकारको मामाघर जलथल जङ्गलको पूर्वतर्फको जङ्गल सिमानामा रहेको ‘डिगाउ’ हो। सानो छँदा मामाघरका दाइसँग त्यो जङ्गलमा केही दिन गाईवस्तु चराउन गएको सम्झना छ।
एकताका झापाका मित्र मिलन दाहाल जलथलका जङ्गली हात्तीको पछि लागेका थिए। उनले जलथल जङ्गलको पृथकताबारे झकझकाइरहे। अर्का मित्र सागर दाहालले जलथल जङ्गलमा सालक के–कति पाइएला भनेर क्यामेरा ट्र्याप राखेका थिए।
यसैले दाहालद्वय र अर्का वन्यजन्तु अध्येता कौस्तुभराज न्यौपानेसँग तत्कालीन झापाका सांसदहरू राजेन्द्र लिङ्देन, विश्वप्रकाश शर्मा र लालप्रसाद साँवासँग के कसरी त्यहाँको जैविक विविधता संरक्षण गर्न सकिन्छ भनेर छुट्टाछुट्टै कुराकानी गरेको थियो।
लिङ्देन र शर्माले जलथल जङ्गलप्रति बडो चासो प्रकट गरेका थिए। सायद साँवाको निर्वाचन क्षेत्रमा नपरेर हो कि उनले जलथल जङ्गलकै बारेमा खासै चासो दिएनन्। उनी चाहिं मेरो आईएस्सी पढ्दाताकाकै मित्र तथा नेता थिए। बीएस्सी पढ्दा केही महिना ‘रुममेट’ पनि थियौं।
यो पङ्क्तिकारले लेखेको हिमाल साप्ताहिकको १२–१८ फागुन, २०७५ संस्करणमा ‘जलथल पृथक् जङ्गल’ शीर्षकमा एक लेख प्रकाशित भएको थियो। यो लेख अझै पनि जलथल जाँदा विशेषतः जिल्ला वन कार्यालय तथा सामुदायिक वनका केही प्रतिनिधिहरूले चर्चा गर्ने गरेको पाएको छु।
फरेस्ट एक्सनको काम
लेख छापिएको एकाध महिनापछि फरेस्ट एक्सन नामक संस्थाले डार्विन इनिसिएटिभ परियोजना, युकेको वित्तीय सहयोगमा त्यहाँ जैविक विविधता अध्ययन तथा त्यो वनको स्वास्थ्य सुधारका निम्ति प्रारम्भिक काम सुरु गर्यो। उसले जलथलबारे पहिलेदेखि अध्ययन थालेको रहेछ।
यस क्रममा फरेस्ट एक्सनका मित्र लीलानाथ शर्मासँग सम्पर्क भयो। शर्माले जलथल जङ्गलको विशेषतः रूखका बारेमा अपडेट गराइरहे। म नेपालका रूख प्रजातिहरूप्रति चासो राख्छु। उनले पनि नेपालका रूखहरूप्रति चासो राख्न सुरु गरेकाले हामीमा सामीप्यता हुन पुग्यो।
नेपालमा करिब ६०० जति रूख प्रजाति होलान्। तर रूख प्रजातिका बारेमा वनस्पति अध्येतामै अत्यन्त कम जानकारी छ। नेपालमा वनस्पतिविज्ञहरूले धेरै चिन्ने भनेको साना बिरुवा समूहका वनस्पतिहरू हुन्। प्रजाति पहिचान गर्न विशेषतः फूल चाहिन्छ। रूखका फूल नजिकबाट खिचिएको अत्यन्त कम छ।
लीलानाथ शर्माले जे–जति नेपालका निम्ति नयाँ रूख प्रजाति जलथलमा फेला पारे, त्यसबारे कुराकानी गर्न अक्सर निम्तो दिने गरेका छन्, उनको अफिसनजिक रहेको कफी शपमा। मेरो बसाइ नजिकै। खुरुर्र पुगिहाल्थें। एकाध वर्षयता हाम्रो भेट एकदमै कम भइरहेको छ।

यो पङ्क्तिकार दुईपटक शर्मासँगै जलथल जङ्गल चहारेको छ। त्यहाँ ‘ठेकीफल’ का साना बिरुवाहरू त निकै सङ्ख्यामा देखें। अचम्म, ‘ठेकीफल’ झापाकै उत्तरी भेग तथा मोरङमा कतै–कतै मात्र भेटिएको जानकारी उनै शर्माले बताए। सुनसरीको स्थिति त चर्चा गरिसकियो।
‘ठेकीफल’ म्यानमारदेखि नेपालसम्म पाइने जानकारी रोयल बोटानिक गार्डेन, क्युको विद्युतीय सञ्जाल ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ मा छ। यो नेपाल सहित बङ्गलादेश, भारत (उत्तर बङ्गाल, असम, बिहार, मेघालय, झारखण्ड, आन्डमान एन्ड निकोबार टापुहरू) र म्यानमारका उष्णकटिबन्धीय वन क्षेत्रमा पाइँदो रहेछ।
उष्णकटिबन्धीय वन क्षेत्र भनेको त्यस्ता वन क्षेत्र हुन्, जहाँ सधैं हरियो पात रहन्छन्, रूखका। तिनीहरूका वर्षभरि पात अडिरहन्छन्। यसको अर्थ पात सुक्खायाममा सर्लक्कै सबै झर्दैनन्। यस्ता वनमा वार्षिक रूपमा वर्षा पनि अन्यत्रभन्दा धेरै हुने गर्छ।
सङ्गमस्थल
विश्वमा फूल फुल्ने वनस्पति करिब १४–१२ करोड वर्षअघि उद्विकास भएको हो। विश्वमै फूल फुल्ने वनस्पतिको सबैभन्दा पुरानो जीवाश्म (Fossil) पूर्वी एसिया विशेषगरी आजको चीनमा पाइएको जानकारी पाइन्छ। यसको अर्थ फूल फुल्ने वनस्पति चीनमा उद्विकास भएको थियो।
रूसी वनस्पति वैज्ञानिक निकोलाई भाभिलोभ (Nikolai Vavilov) ले विश्वका मूलतः ८ वटा क्षेत्रलाई वनस्पति उद्विकासको केन्द्र मानेका छन्। यसअनुसार, जहाँ कुनै प्रजातिको सबैभन्दा बढी जीन विविधता भेटिन्छ, त्यही क्षेत्रलाई त्यस प्रजातिको सम्भावित उत्पत्ति वा प्रारम्भिक विकास क्षेत्र मानिन्छ।
हामीलाई थाहा छ, करिब ५ करोड वर्षअघिसम्म दक्षिण एसियाली भूभाग तिब्बती भूभागसँग जोडिएको थिएन। त्यसयता मात्र विशेषतः चिनियाँ/पूर्वी एसियाली उत्पत्ति केन्द्रका वनस्पतिहरू हिमालय उद्विकास भइरहँदा यता विस्तार भए।
पूर्वी नेपाल विशेषतः हिमालयसहित चिनियाँ/पूर्वी एसियाली, इन्डो–बर्मा र भारतीय उपमहाद्वीपका वनस्पति पाइने सङ्गमस्थल (Crossroad) हो। मैले यस्तो भौगोलिक वातावरणको एक उदाहरण झापाको जलथल जङ्गललाई मानेको छु।
निकोलाई भाभिलोभका अनुसार दक्षिण एसियाली/भारतीय उत्पत्ति केन्द्र, चिनियाँ/पूर्वी एसियाली उत्पत्ति केन्द्र र इन्डो–बर्मा वनस्पति उत्पत्ति केन्द्र नै हुन्। अब जलथलकै कुरा जोडौं। जलथल तराईमा पर्छ।
तराईमा हिमालय तथा पहाडी क्षेत्रको वनस्पति हम्मेसी बाँच्न सक्दैन। तर जलथल जङ्गलको भूबनोट बडो अचम्मको भएकाले उच्च भूभागमा हुने चिलाउने, कटुस, गोगनलगायत अनेकन् रूख प्रजातिहरू त्यहाँ पाइन्छन्। यसो हुनुको कारण त्यहाँ जताततै गहिरा खाल्डाखुल्डी छन्। यस्तो संरचना भएकाले चिस्यान हुने नै भयो। यो प्रकृतिको भौगोलिक संरचना तराईका अन्य जङ्गलमा पाइन्न।
जलथल जङ्गलमा मात्र होइन, त्यस आसपासका केही भूभागमा पनि यस्ता ठाउँहरू छन्। जस्तो सगरमाथाको दक्षिणपूर्वमा रहेको कीचकबध एरिया।
पूर्वी नेपाल विशेषतः झापा, इलाम, पाँचथरमा वन्यजन्तु संरक्षणका निम्ति जनचेतना फैलाउँदै आएका फोटोग्राफर देवेन खरेलका अनुसार टोकला लगायतका चिया बगान पनि यस्तै खाल्डाखुल्डी रहेको जमिन छ।
झापामा चिस्यान हुनुको अर्को कारण वार्षिक रूपमा उच्च वर्षा हुनु हो। त्यहाँ वर्षमा २,५००–३,००० मि.मि. सम्म पानी पर्छ। जबकि समग्र नेपालको वर्षा १,६००–१,८०० मि.मि. सम्म हो।
झापामा भन्दा केही बढी वर्षा म्यानमार र भियतनाममा हुन्छ। भारतको असममा त झापाभन्दा बढी वर्षा हुने नै भयो। म्यानमारदेखि असम हुँदै झापासम्म वार्षिक रूपमा बढी पानी पर्ने भएकाले यहाँका रूखहरू सदाबहार प्रकृतिका रूपमा उद्विकास सुरु भएको होला।
मेघराज धितालले लेखेको ‘जियोलोजी अफ द नेपाल हिमालय’ शीर्षकको पुस्तकअनुसार चुरे क्षेत्र उँचो भएको पछिल्लो एक–डेढ करोड वर्षताका हो। चुरेको दक्षिणी सिमाना त मात्र ५० लाख वर्षअघि बनेका हुन्। कति त मात्र २० लाख वर्षअघि बन्न पुगेका थिए।
अल्फोन्सिया वंशको उद्विकास
अल्फोन्सिया वंशमा ३ दर्जनभन्दा बढी प्रजातिहरू अण्डमान टापुहरू, असम, बङ्गलादेश, बोर्नियो, कम्बोडिया, चीन (दक्षिण–मध्य भाग), चीन (दक्षिण–पूर्वी भाग), हैनान, दक्षिणपूर्वी भारत, जाभा, लाओस, मलाया, म्यानमार, नेपाल, न्युगिनी, फिलिपिन्स, श्रीलङ्का, सुलावेसी, सुमात्रा, थाइल्यान्ड र भियतनाममा पाइएका छन्। यसले यो वंश दक्षिणएसियादेखि दक्षिणपूर्वी एसियाली देशहरूमा विस्तार भएको देखिन्छ।
दक्षिण एसियाली भूभाग र तिब्बती भूभाग करिब ५ करोड वर्षअघिताका जुध्न थाले पनि यी दुई विशाल भूभाग ठोक्किने क्रम (Collision process) निकै लामो समयसम्म चल्यो। २ करोड ८० लाख वर्ष पहिलेसम्म पनि यी दुई प्लेटहरू पूर्ण रूपमा एक–आपसमा जोडिएका थिएनन्।
यसकारण त्यसताका वनस्पतिहरू यताउता अहिलेको जस्तो सर्न सक्ने अवस्था बनिसकेको थिएन भन्ने लेखिएको पढ्न पाइन्छ। यसको अर्थ उत्तर र पूर्वी एसियातर्फका भूभागमा यताका वनस्पति उता र उताका यता जमिनबाटै फैलन सक्ने अवस्था २ करोड ८० लाख वर्षअघि थिएन। चराबाट मात्र सम्भव थियो।
भारतको असमको माकुम (Makum) कोइलाखानीमा अल्फोन्सिया वंशको पातको जीवाश्म फेला परेको छ। यो करिब २ करोड ८० लाख वर्षयताको छ। त्योभन्दा पुरानो अल्फोन्सिया वंशको जीवाश्म अहिलेसम्म फेला परेको छैन। यस आधारमा यो वंशको जन्मभूमि असम हुनुपर्छ। त्यसताका भारतको उत्तरपूर्वी हिस्सा (असम क्षेत्र) एसियाली मुख्य भूमिसँग पूर्ण रूपमा जोडिन लागेको थियो।
तर मलेसियाको प्रायद्वीपीय भागमा करिब १० जति अल्फोन्सिया प्रजाति छन्। यसले कतै यो वंश त्यता उत्पत्ति भएको होइन भन्ने प्रश्न गर्न सकिन्छ। भारतमा भने ४ प्रजाति मात्र छन्।

एन्नोनेसी परिवारका वनस्पति करिब ९–१० करोड वर्षअघि उद्विकास भएको मानिन्छ। असम क्षेत्र २ करोड ८० लाख वर्षअघिताका निकै गर्मी र ओसिलो हावापानी थियो। यस्तो वातावरणमा एन्नोनेसी परिवारका वनस्पतिका लागि उपयुक्त हुँदोरहेछ।
२ करोड ८० लाख वर्षपछि एन्नोनेसी परिवारका वनस्पति विविधीकरणमा तीव्रता आएको हुनुपर्छ। त्यसैबेला वा त्यसभन्दा केही लाख वर्षअघि असममा सम्भवतः अल्फोन्सिया उद्विकास भयो होला।
त्यसपछि त्यहींबाट अल्फोन्सियाका प्रजातिहरू बाहिर निस्केर म्यानमार र थाइल्यान्डतिर फैलिए। असमबाट पश्चिमतर्फ पनि फैलिंदै पूर्वी नेपालको सप्तकोशीसम्म करिब ५० लाख वर्षअघिताका आइपुगेको होला।
दक्षिणपूर्व एसियामा अल्फोन्सियाको धेरै प्रजाति फैलनुको कारण जलवायु अनुकूलन पनि होला। करिब २ करोड ८० लाख वर्षयता हिमालहरू अग्लिन थाले। यसबाट बङ्गालको खाडीबाट उठेको जलवाष्प उत्तरतर्फ जान हिमालय शृङ्खलाले रोक्न थाल्यो। यसबाट पूर्वी नेपाल, असमदेखि बर्मासम्म अत्यधिक वर्षा हुन थाल्यो। वर्षा धेरै भएपछि त्यहाँका वन क्षेत्रमा चिस्यान वृद्धि भयो। चिस्यान बढेपछि सदाबहार प्रजातिका रूखहरू उद्विकास हुन पुगे।
सामान्यतः मनसुनी हावा दक्षिणबाट आउँछ र पहाडमा ठोक्किंदा वर्षा हुन्छ। यसकारण दक्षिणबाट आएको मनसुन इलामस्थित झापाका सीमावर्ती क्षेत्रमा बढी वर्षा हुन्छ। झापाको तुलनामा इलाममा कहिलेकाहीं बढी वर्षा होला।
कहिलेकाहीं इलाममा भन्दा पाँचथरमा बढी वर्षा हुने गर्छ। मौसमविद्हरूका अनुसार, यदि मनसुनको मुख्य बाटो दक्षिणमै केन्द्रित भयो भने झापामा बढी वर्षा हुन्छ। यदि उत्तर–पूर्वतर्फ सक्रिय भयो भने पहाडी क्षेत्रमा बढी वर्षा हुन्छ।
दक्षिणपूर्व एसियामा जलवायुको आर्द्रता बढी छ। त्यहाँ दैनिक रूपमा मौसम परिवर्तन भइरहन्छ। यसैकारण मलेसियाको प्रायद्वीपीय भागमा अल्फोन्सियाका प्रजातिहरू बढी विस्तार भएको हुनुपर्छ।
अन्त्यमा, नेपालका वनस्पतिका तस्बिर भएका पुस्तकहरू निकैवटा प्रकाशित भएका छन्। तर रूख मात्र समेटिएको पहिलो पुस्तक हो– ‘जलथलका रूखहरू’। यसकारण यो पुस्तक नेपालको जैविक विविधता अध्ययन–अनुसन्धानको निम्ति महत्त्वपूर्ण छ। अब पूर्वी तराईका धेरैजसो रूखलाई वैज्ञानिक रूपमा चिन्न सकिन्छ।
यो पुस्तकमा पनि बर्मा, थाइल्यान्ड वा भारतमा लेखिएका जस्तै अल्फोन्सिया भेन्ट्रिकोसालाई सदाबहार रूख भनेर उल्लेख गरिएको लीलानाथ शर्माले बताए।
तर पूर्वी नेपालको जलवायुका कारण यसले पूर्ण रूपमा सदाबहार व्यवहार नदेखाई अर्धसदाबहार प्रवृत्ति देखाएको पाइन्छ। यो पङ्क्तिकारले फागुन महिनामा यसका करिब आधा पात झर्ने गरेको अवलोकन गरेको छ।
झरेका पात भएका हाँगाको टुप्पामा फूल फुल्छन्, र फूलसँगै नयाँ पातका मुनाहरू पलाउँदै गरेको देखिन्छ। जलथलमा लीलानाथ शर्माले खिचेको तस्बिरमा यस्तो अवस्था अझ स्पष्ट देखिन्छ। फुलेका केही हाँगामा पुराना पात यथावत् छन्। कुनैमा हल्का कलेजी रङका नयाँ पात उम्रेका छन्।
वनस्पति प्रजातिको यस्तो अवस्थालाई वनस्पति विज्ञानमा अर्धसदाबहार (Semi-evergreen) प्रवृत्ति भनिन्छ। यसको कारण आनुवंशिक र वातावरणीय दुवै हुन सक्छ।
सम्भवतः यस प्रजातिमा सदाबहार पात रहने जीन त रहेको होला तर सुनसरीको वातावरण पूर्ण रूपमा सदाबहार किसिमको छैन। त्यहाँ फागुनदेखि जेठसम्म सुक्खा अवधि रहन्छ। वर्षा पनि झापाको तुलनामा कम। यसो हुनुको कारण जलथलभन्दा सुनसरी करिब १०० किलोमिटर पश्चिमतर्फ पर्छ।
यदि बोटमा सुक्खायाममा पात रहिरह्यो भने पातबाट वाष्पोत्सर्जन (Transpiration) हुन्छ र जराबाट कमै मात्रामा सोसिएको पानी बाहिर निस्कन्छ। सुक्खा मौसममा यस्तो पानी क्षति धेरै भएमा बोटलाई हानि पुग्न सक्छ। यसबाट जोगिन पातको भेट्नु (Petiole base) मा विशेष प्रोटिन तह (Abscission layer) बनाउँछ। यो भनेको पात छुट्ने तह हो। यसबाट पातको मुख्य भागमा पानीको प्रवाह रोकिन्छ र पात सुकेर झर्छ।
यसकारण सुनसरी जस्ता अपेक्षाकृत सुक्खा क्षेत्रमा अल्फोन्सिया भेन्ट्रिकोसा सहित अन्य सदाबहार प्रजातिहरू पूर्ण सदाबहार नभई अर्धसदाबहार व्यवहार देखाउँछन्।
झापाको जलथल आसपासका अधिकांश वनविनाश भइसकेका कारण जलथल जङ्गल त्यहाँको अतीत वा अवशेष (Relict) का रूपमा बाँकी रहेको छ। जलथल जङ्गल मात्र अवशेष होइन, अल्फोन्सिया भेन्ट्रिकोसा पनि नेपालको सन्दर्भमा एकप्रकारको अवशेष जस्तो प्रजाति (हराउनै लागेको) मान्न सकिन्छ। किनभने यसको सङ्ख्या अत्यन्त थोरै छन्। थोरै भएका कारण सन् २००८ सम्म नेपालमा छ भन्ने जानकारी नै थिएन।
नेपालमा बर्मा, थाइल्यान्ड तथा भारतबाट मानव पनि आएका छन्। यसको उदाहरण सन्थाल, मुन्डा/मुडियारी र खरिया जाति हुन्। उनीहरू अस्ट्रो–एसियाटिक भाषा बोल्छन्। त्यो भाषा मूलतः भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्ड र असम (खासी) मा बोलिन्छ।
सन्थाल, मुन्डा/मुडियारी र खरिया झापा, मोरङ र सुनसरी जिल्लामा मात्र ५५ हजार ९१६ जना छन् (नेपाल एटलस ल्याङ्ग्वेज ग्रुप्स, २०२५, पृ. १२२–१२५)। त्यसमध्ये खरियाको सङ्ख्या त मात्र १३२ जना छ।
फरेस्ट एक्सनले जलथल क्षेत्रमा अल्फोन्सिया भेन्ट्रिकोसाका बिरुवा उत्पादन गर्न स्थानीय सामुदायिक वन उपभोक्ता समितिलाई प्रोत्साहन गरेको कार्य सराहनीय छ।
तराईका अन्य सामुदायिक वनहरूले पनि यस प्रजातिका बिरुवा खोजी–रोपणतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। यसतर्फ सम्बन्धित जिल्ला वन कार्यालयहरूले सक्रिय चासो लिए जैविक विविधता संरक्षणमा राम्रो परिणाम आउन सक्छ। सालको रूख जोगाउने ध्येय मात्र लिनुभएन।
भारतका प्रदीप कृषेनले रूखका तस्बिरहरूको सँगालोका रूपमा ‘ट्रिज अफ दिल्ली’ (सन् २००६), ‘जङ्गल ट्रिज अफ सेन्ट्रल इन्डिया’ (सन् २०१४) शीर्षकका खुबै उपयोगी पुस्तक लेखेका छन्। जेनी लिनफोर्डले ‘अ कन्साइस गाइड टु ट्रिज’ शीर्षकको पुस्तकमा १२८ वृक्ष प्रजातिको सचित्र व्याख्या गरेका छन् (सन् २००७)।
यस्तै, ‘बोटानिका ट्रिज एन्ड स्रब्स: द इलस्ट्रेटेड ए–जेड अफ ओभर ८५०० ट्रिज एन्ड स्रब्स’ (Botanica’s Trees & Shrubs: The Illustrated A-Z of Over 8500 Trees and Shrubs) शीर्षकको पुस्तक रूखका निम्ति अत्यन्त उपयोगी सामग्री हो। तर यसमा नेपाल सहित दक्षिण एसियाली रूख तथा झाडीहरू अत्यन्त कम समावेश छन्।
फरेस्ट एक्सनले आगामी दिनमा समग्र नेपालको तराई, चुरे र हिमालय क्षेत्रमा पाइने रूखका यस्तै पुस्तक प्रकाशन गर्न सके उसले जैविक विविधता क्षेत्रमा एउटा माइलस्टोन गाडेको पुष्टि हुनेछ। कामना गरौं, यसतर्फ फरेस्ट एक्सनको ध्यान केन्द्रित हुनेछ ।
प्रतिक्रिया 4