News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा नेपाली क्रिकेट समुदायको 'ब्रिटिश गोर्खाली क्रिकेट लिग' को मुख्य प्रायोजकमा ब्रिज इन्टरनेशनलसँग सम्झौता भएको छ।
- लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित समारोहमा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज लगायतले नेपाली क्रिकेट योगदानको प्रशंसा गरेका थिए।
- बीजीसीएल युकेमा ४० ओभरको ढाँचामा सञ्चालन भइरहेको पहिलो र एक मात्र लिग हो र हालसम्म पाँच सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ।
११ फागुन, लन्डन । बेलायतमा सक्रिय नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजकमा ब्रिज इन्टरनेशनलसँग सम्झाैता भएको छ ।
लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाले आगामी सहकार्यका लागि औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बेलायती क्रिकेट जगतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स, पूर्व इसिबी म्यानेजर पल बेडफोर्ड लगायतले नेपाली समुदायले क्रिकेट खेलमार्फत पुर्याएको योगदानको प्रशंसा गरे ।
त्यसैगरी केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले समेत लिगको सफलताको कामना गरे ।
‘साइनिङ सेरेमोनी’पछि बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अघि बढाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एकै ठाउँमा समेटेर व्यावसायिक मञ्च प्रदान गर्नु गौरवको विषय भएको बताए ।
बीजीसीएल युकेमा नेपाली खेलाडीहरूलाई समेटेर ४० ओभरको ढाँचामा सञ्चालन भइरहेको पहिलो र एक मात्र लिग हो ।
हालसम्म पाँचवटा सफल सिजन सम्पन्न गरिसकेको यस लिगले ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेर काम गर्दै आएको छ।
भुवन गिरीले ब्रिज इन्टरनेशनल र यसको उद्देश्यबारे जानकारी गराएका थिए ।
सो अवसरमा बीजीसीएलका अध्यक्ष गम गुरुङले क्रिकेट लिगको आवश्यकता र यसको प्राविधिक पक्षबारे संक्षिप्त प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4