+
+
Shares
स्थलगत :

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

राष्ट्रिय राजनीतिमा यो पार्टीको प्रभाव सीमित हुँदै गए पनि यस क्षेत्रमा नयाँ वा पुराना कुनै पनि शक्ति बलियो प्रतिस्पर्धीका रूपमा उदाउन सकेका छैनन्। कुनै नयाँ लहरले प्रभाव पार्न सकेको छैन ।

कौशल काफ्ले कञ्चन कौशल काफ्ले, कञ्चन
२०८२ फागुन १६ गते १३:३३

१६ फागुन, भक्तपुर । आगामी निर्वाचनमा सबै क्षेत्रतिर तामझामका साथ चुनावी प्रचार भइरहँदा गत बिहीबार राजधानी उपत्यकाकै भक्तपुर-१ भने सामसुम देखिन्छ। राजनीतिक दलका प्रचारप्रसार अभियानमा मानिसहरूको उपस्थिति न्यून देखिन्थ्यो । प्रचारका लागि बजिरहेका सङ्गीतले वरपरको शान्त वातावरणलाई कुनै प्रभाव पारेको देखिएन ।

यो त्यही क्षेत्र जो तीन दशक भन्दा लामो समयदेखि नेमकिपाको गढ रहँदै आएको छ । यहाँ २०४८ सालदेखि २०७० सम्म नारायणमान बिजुक्छे (रोहित) ले लगातार पाँच पटक र २०७४ मा प्रेम सुवालले ठूलो मतान्तरले चुनाव जितेका थिए ।

यसकारण यसलाई ‘रोहित किल्ला’ पनि भनिँदै आएको छ । यो बलियो पकडको बीजारोपण २०२१ सालको भूमिसुधार आन्दोलनबाट भएको हो, जतिबेला नेमकिपाले किसानहरूलाई ‘मोहियानी हक’ दिलाउन बाली काट्नेदेखि साहु-महाजनविरुद्ध भौतिक संघर्षसम्म गर्‍यो ।

यस संघर्षबाट यहाँका करिब ५० प्रतिशत किसानले जोताहा हक पाए, जसले गर्दा किसान वर्ग र नेमकिपाबीच सम्बन्ध स्थापित भयो । भक्तपुर नगरपालिकाभित्र नेमकिपा यति शक्तिशाली छ कि स्थानीय निर्वाचनमा सबै वडा र प्रमुख/उपप्रमुख पदमा एकलौटी जित निकाल्दै आएको छ।

जबकी अन्य पुराना राजनीतिक दलहरूले आफ्नो वर्चस्व रहेको क्षेत्र मान्दै आएको दाबी पछिल्ला निर्वाचनहरूमा कमजोर देखिन थालेको छ । तर नेमकिपाको हकमा भने यो दाबी अझै पनि उत्तिकै सान्दर्भिक र बलियो देखिन्छ । विशेषगरी भक्तपुर क्षेत्र नम्बर १ नेमकिपाका लागि यस्तो सुरक्षित किल्ला हो जहाँ अन्य दलहरूले उसलाई चुनौती दिन नसकेको देखिन्छ। राष्ट्रिय राजनीतिमा यो पार्टीको प्रभाव सीमित हुँदै गए पनि यस क्षेत्रमा नयाँ वा पुराना कुनै पनि शक्ति बलियो प्रतिस्पर्धीका रूपमा उदाउन सकेका छैनन्। कुनै नयाँ लहरले प्रभाव पार्न सकेको छैन ।

यही विरासतलाई निरन्तरता दिने मुख्य पात्रका रूपमा प्रेम सुवाल रहेका छन्। २०१७ सालमा जन्मिएका सुवालले आफ्नो राजनीतिक यात्रा वडा तहबाटै सुरु गरेका थिए। उनी २०३९ र २०४४ सालमा भक्तपुर–९ को वडाध्यक्ष बनेका थिए भने २०५४ सालको स्थानीय निकाय निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरका रूपमा निर्वाचित भए।

सुवालको संसदीय यात्रा भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट समानुपातिक सदस्यका रूपमा सुरु भएको हो ।

संसद्मा दर्ता हुने लगभग हरेक विधेयकमा संशोधन दर्ता गर्ने र जनसरोकारका विषयमा प्रखर रूपमा आवाज उठाउने सांसदका रूपमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । भक्तपुर–१ बाट निरन्तर जित हासिल गर्दै उनले संसद्मा नेमकिपाको बलियो उपस्थितिलाई कायम राखेका छन्।

निर्वाचनको तथ्याङ्कलाई हेर्दा भक्तपुर–१ मा प्रेम सुवालको लोकप्रियता र पकड झन् मजबुत हुँदै गएको स्पष्ट देखिन्छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवालले ३३ हजार ७६ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत मात्रै ल्याउन सकेका थिए।

त्यसपछिको २०७९ सालको निर्वाचनमा त सुवालले अझै फराकिलो र ऐतिहासिक मतान्तर कायम गरे। उनले ४२ हजार ७६१ मतका साथ जित हात पार्दा नेकपा एमालेका उम्मेदवार नवराज गेलाल ११ हजार ९६८ मतमा सीमित भए।

सुवाल र उनका निकटतम प्रतिद्वन्द्वीबीचको मतान्तर ३० हजार ७९३ रहेको थियो, जुन आफैँमा एउटा ठूलो कीर्तिमान हो। यस निर्वाचनमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका उम्मेदवारहरूको कुल मत जोड्दा पनि सुवाल एक्लैले प्राप्त गरेको मतभन्दा निकै कम हुन आउँछ।

यसपटक यो क्षेत्रमा नेमकिपाका सुवालसँगै नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा एमालेका सोमप्रसाद मिश्र, रास्वपाका रुकेश रञ्जितसहित २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । ९ जनाले स्वतन्त्र उम्मेदवारी दिँदा अन्य दलीय उम्मेदवार छन्, जसमा करिब एक लाख सात हजार ५४ मतदाता रहेका छन् ।

यद्यपि यस किसिमको लोकप्रियताको बाबजुद पनि केही स्थानीयहरूले भने निर्वाचित प्रतिनिधिप्रति केही गुनासो पोखेका छन् ।

समानुपातिक विकास खै ?

सल्लाघारीका ३८ वर्षीय श्यामसुन्दर देशामारूले भक्तपुर-१ मा यसपटक पुराना शक्तिहरूप्रतिको क्षोभ र नयाँ शक्तिहरूप्रतिको आकर्षणले यसपटकको निर्वाचनलाई पूर्ववत् निर्वाचनहरूभन्दा केही फरक बनाउने कुरा बताए ।

पुराना दलहरूले आफ्नो स्थानीय नगरभित्र मात्र केन्द्रित भएर काम गरेको उनको भनाइ छ। ‘उहाँहरूले आफ्नो कोर एरियातिर त राम्रो काम गर्नुभएको छ। तर यहाँ भने त्यति काम गरेका छैनन्।’ यसै कारणले पनि चुनावी माहोल सल्लाघारी क्षेत्रमा नभएको उनको बुझाइ छ।

श्यामसुन्दर देशामारू

उनले आफ्नो भनाइलाई अझ प्रष्टसँग राख्ने क्रममा यसअघि जितेर गएका सांसदहरूले असल प्रतिपक्षको भूमिका असल रूपले निभाइदिएमा भने उनी सन्तुष्ट देखिन्छन्। नेमकिपाका सांसद प्रेम सुवालले संसद्मा भक्तपुरको मात्र नभई देशभरिका मुद्दा उठाएको देख्दा आफू गौरवान्वित भएको उनले बताए । अब यस निर्वाचनमार्फत जित्ने उम्मेदवारहरूले सम्बोधन गर्नुपर्ने समस्याहरू खासै नभएको श्यामको भनाइ छ। निर्वाचित भएर गएका उम्मेदवारहरूले भक्तपुर नगरपालिका झैँ अन्य क्षेत्रमा पनि समानुपातिक विकास गरिदिए आफूहरूलाई पर्याप्त हुने कुरा उनले बताए।

कृषिका समस्याहरू

भक्तपुरको आर्थिक पक्षलाई धान्न मात्र होइन, पर्यावरणीय स्वच्छता र सरलतालाई समेत कृषि पक्षले सहयोग गरेको छ। तर यस क्षेत्र देशको केन्द्रको नजिक भइकन पनि यहाँका कृषकहरूले विविध कुराहरूमा सास्ती भोग्नुपरेको बताए ।

चन्चला छुस्यनी र कृष्णा केशरीले समयमा मल नपाउँदा कृषि उत्पादन प्रभावित भएको तीतो पोखे । कृषिमा आजीवन समय दिएका यी कृषकहरूले समयमा मल नपाउँदा यसपटक आलु रोप्न समेत नपाएको कुरा बताए ।

‘खेती गर्ने बेला मल पाइँदैन। यदि पाइहालियो भने पनि लामो समय पर्खिनु पर्छ। लाइन बस्नु पर्छ,’ चन्चलाको गुनासो छ। जुनसुकै पार्टीले जिते पनि कृषकका समस्या समाधान नहुने कृष्णाले बताइन्। त्यसकारण चुनाव हुनु र नहुनुले आफूहरूलाई खासै फरक नपार्ने कुरासमेत बताइन्।

‘चुनाव अघि नमस्ते गर्दै आउँछन्। जितेपछि आफूले नमस्ते गर्नुपर्छ’ चन्चलाले हाँस्दै भनिन् । कृष्णा र चन्चलालाई निर्वाचित प्रतिनिधिहरूले ठूला ठूला विकास गरिदिऊन् भन्ने कुनै अपेक्षा भने छैन । उम्मेदवारहरू भोट माग्न आउँदा राम्रो जीवनको सपना देखाउने गरेका छन्।

तर, राज्यबाट किसानले प्राप्त गर्ने मलमा सहुलियत भयो र उत्पादनले बजार पायो भने उनीहरू त्यसैमा सन्तोष मान्नेछन् । पसलमा मल किन्न जानुपर्दा पैसा बढी तिर्ने मानिसलाई मात्र समयमा मल दिने जस्ता विभेद हटोस् भन्ने उनीहरूको कामना छ।

जीवनका सत्तरी हिउँद काटिसकेका आशाराम लेबा पनि आफ्नो ठाउँको मुख्य समस्याको रूपमा मलको अभावलाई नै लिन्छन् । विकासका अन्य पूर्वाधारहरूप्रति गुनासो नभए पनि कृषिमल नपाउँदा उनलाई खल्लो लागेको छ। ‘अब अरू जे-जे दिए पनि मल नदिएपछि किसानहरूले कसरी काम गर्ने ?’ साग टिपिरहेका उनका वृद्ध हात अचानक रोकिन्छन् ।

कृषि पेसा बिस्तारै ओझेलमा पर्दै गएकोमा उनलाई नमीठो अनुभूति भएको छ। तर, यसमा उनी नागरिकहरूलाई भने दोष दिँदैनन् । २०७२ सालको भूकम्पपछि कयौँ नागरिकहरूले आफ्नो कृषियोग्य जमिनमा घर बनाउनुपरेको बाध्यता उनले राम्रोसँग बुझेका छन्।

लामो समयदेखि मतदान गर्दै आएका आशारामलाई भने चुनावले कुनै उत्साह दिन सकेको छैन । पुराना दलहरूदेखि दिक्दार भएका उनले यसपटक भने चुनावमा के गर्ने, कसो गर्ने निर्क्यौल गर्न सकेका छैनन्। घरपरिवारमा अब भने नयाँ उम्मेदवार जिताउने कुरा गरेका छन्। तर, जसलाई जिताए पनि आफ्नो समस्या कसैले समाधान नगरिदिने उनको दृढ विश्वास छ।

युवा प्राथमिकतामा सीप र रोजगारका अवसर

भक्तपुरमा स्थानीय युवा मतदाताहरूले नेमकिपा पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालप्रति सकारात्मक धारणा राखेका छन् । चाँगुका २० वर्षीय सुदिप बाटसँगको कुराकानीमा उनले सुवाललाई ‘भक्तपुरको पहिचान’ भनेका छन्।

‘प्रेम सुवाल भनेको हाम्रो भक्तपुरको एउटा पहिचानै हो,’ सुदिपले भने, ‘उहाँ त्यस्तो नराम्रो व्यक्ति होइन। अरू जस्तै पार्टी चेन्ज गर्नुपर्ने खालको होइन। उहाँकै कारण भक्तपुरको इज्जत र सम्पदा जोगिएको छ। उहाँले धेरै मेहनत गर्नुभएको छ।’

सुदिपले सुवालको संसद्‌मा निरन्तर आवाज उठाउने शैलीको पनि प्रशंसा गरे। ‘संसद्मा एक्लै भए पनि उहाँले भक्तपुरको बारेमा आवाज उठाइरहनुहुन्छ। नहुन्जेलसम्म पनि उठाउनुहुन्छ र गराएर छाड्नुहुन्छ,’ उनले थपे।

तर, स्थानीय स्तरमा केही अपेक्षा र समस्या पनि छन्। सुदिप कृषि पेसाबाट जीवनवृत्ति गर्ने परिवारबाट आएका कारण कृषि समस्या उजागर गरे । कृषिमलको अभाव भए पनि यो समस्या चाहिँ भक्तपुरभरिकै समस्या रहेको उनले बताए ।

सुदिपका मुख्य अपेक्षाहरू भने पूर्वाधार र युवा लक्षित छन्। बनाउन बाँकी रहेका बाटो, विशेष गरी वडा ५ को मुख्य बाटो बनाउने कुरालाई उनले विशेष महत्त्वका साथ हेरिनुपर्ने कुरा बताए। त्यस्तै गरी राम्रो अस्पतालको अभाव भएको कुरा पनि उनले बताए।

सुदिपले युवाहरूका लागि टेक्निकल शिक्षा र रोजगारको वातावरण सिर्जना गर्ने कुरा पनि थपे। ‘अबको पुस्ता विदेश जाने लहरमा छ। सिक्न चाहनेलाई टेक्निकल एजुकेसन प्रदान गर्नुपर्‍यो। रोजगारको माहोल यतै बनाइदिनुपर्‍यो अनि आफैँ उद्यमी बन्ने माहोल दिनुपर्‍यो,’ सुदिपले अपेक्षा राखे।

यो क्षेत्रको राजनीतिक अवस्था पनि रोचक छ । भक्तपुर समग्रमा नेमकिपाको प्रभाव बलियो छ, तर चाँगुनारायणका वडाहरूमा भने अन्य दलहरूको दबदबा रहेको कुरा उनले बताए।

स्थानीय सरकारप्रतिका असन्तुष्टिहरू

५७ वर्षीया न्हुँछे लक्ष्मी २५ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी छन्। उनले भन्छिन्, ‘पहिले धेरै जसो त यहाँ मादल भन्थे । तर यो चोटी हाम्रो वरिपरि नयाँलाई छान्ने कुरा पनि चलेको छ। घरमा छोराछोरी पनि नयाँ दलतिर नजिक भएका छन् ।’

स्थानीयहरू नेमकिपाले पुरानो संस्कृति र सम्पदा जोगाएको भन्दै प्रशंसा गर्छन्। नुहुछे लक्ष्मीले पनि यो कुरा स्वीकार गरिन्, तर थपिन्, ‘उनीहरूले चाहेको बेला मात्र राम्रो कुरा गर्छन्। नचाहेको बेला न उता न यता ।’

न्हुँछे लक्ष्मी

व्यवसायी लक्ष्मीले नगरपालिकाको कामप्रति असन्तुष्टि व्यक्त गरिन्। नगरपालिकामा आफ्नो मान्छे हेरेर काम गर्ने र समयमा काम नहुने कुरा बताइन् । ख्वप कलेजको अगाडि, नगरपालिकाको निकट भएर पनि प्रशासनिक काममा असहजता रहेको बताइन्।

आफ्ना समकालीन साथीहरू चुनावप्रति उदासीन रहे पनि उनी भने मतदान अनिवार्य ठान्छिन्। हाँस्दै उनले थपिन्, ‘आफ्नो उमेरमा आएको त गर्नुपर्‍यो, जानुपर्‍यो। भोट हाल्नुपर्‍यो।’

प्रतिपक्षी प्रेमप्रतिको आकर्षण

व्यासीकै एक सार्वजनिक स्थलमा हामीले केही वृद्ध मानिसहरू घाम तापेर गफिँदै गरेका थिए । ७६ वर्षीय पुण्यराम बासुकलाले आफ्नो लामो र पुरानो अनुभव केलाउँदै नेमकिपालाई नै समर्थन गरेका छन् । आजसम्म नेमकिपाले आफ्नो धर्म नछाडी काम गरेको कुरा पुण्यरामले बताए।

‘जन्मेदेखि मादल हो। नमरेसम्म मादल नै। नातिनातिनालाई पनि सिकाउनु पर्दैन, उनीहरू आफैँ मादल भन्छन्,’ उनले भने। १६ वर्षको उमेरदेखि प्रत्यक्ष र परोक्ष दुवै रूपमा राजनीतिमा सक्रिय उनले यस समयसम्म पनि नेमकिपाप्रति समर्थन जारी राखेका छन्।

पुण्यरामले शिक्षा र सम्पदा संरक्षणलाई नेमकिपाको बलियो पक्ष ठाने। ‘स्कुल-कलेज सातवटा चलिराख्या छ। ख्वप इन्जिनियरिङ कलेज, अन्य कलेजहरू प्रेम सुवालकै पहलमा स्थापना भएका हुन् । २० वर्षअघि ‘एक घर एक स्नातक’ भनेर सुरु गरेको कामले भक्तपुरमा शिक्षा पक्षमा प्रगति भएको कुरामा उनी विश्वस्त छन्।

‘७७ जिल्लाबाट विद्यार्थीहरू पढ्न आउँछन्, हाम्रो लागि कति गर्वको कुरा हो,’ उनले उल्लेख गरे।

कुनै समय फोहोरको थुप्रो लाग्ने र जथाभावी ढल बग्ने भक्तपुरमा नेमकिपाले स्थानीय तहबाट पहल गरेर उक्त समस्या समाधान गरेको कुरा पुण्यप्रसादका मित्रहरूले थपे। आफ्ना ऐतिहासिक सम्पदाहरू जोगाउन पनि नेमकिपाले आफ्नै स्रोत र जनसहयोगबाट काम गरेको बताए ।

उज्यालो अनुहार बनाउँदै पुण्यप्रसाद भन्छन्, ‘अरूबाट सहयोग लिइएन, आफैँले गरे। नगरपालिकाले सम्पदा संरक्षणमा राम्रो गरेको छ।’

नेपालमा अनेकन कम्युनिस्ट पार्टीहरू भए पनि नेमकिपा बाहेक अन्य पार्टीहरू किसान र मजदुरहरूसँग नजिक हुन नसकेको उनको दाबी छ। उनी नयाँ पार्टीहरूको उम्मेदवारीले मतान्तर घटे पनि ‘मादल’ ले जित्ने कुरामा विश्वस्त छन्।

धरातलमा माहोल हुनुपर्ने चुनाव विस्तारै सामाजिक सञ्जालमा स्थानान्तरित भएको कुराले उनलाई अचम्मित तुल्याएको छ। नयाँ पुस्ता यसबारे बेलैमा सजग हुन नसके यस्ता कुराहरूले राजनीतिमा विकृति ल्याउन सक्ने उनले बताए ।

घुस नचल्ने नगरपालिका !

व्यासीका ७५ वर्षीय रामकाजी सुवालले आफ्नो लामो अनुभवबाट नेमकिपा र प्रेम सुवालको कामलाई प्रशंसा गरेका छन्। उनको विचारमा भक्तपुर क्षेत्र नं. १ नेमकिपाको ‘अभेद्य किल्ला’ हो। ठट्टाको भाषामा रामकाजीले भने, ‘प्रेम सुवाल दाजुभाइ नै पर्‍यो।’

रामकाजीले नेमकिपाको मुख्य उपलब्धि सरसफाइ, सम्पदा संरक्षण र भ्रष्टाचार नियन्त्रणलाई ठानेका छन्। ‘नगरपालिकामा एक पैसा पनि घुस चल्दैन। कसैले घुस खाएको थाहा पाए निकाल्छन्,’ उनले भने।
नेमकिपाको स्थानीय सरकारले भक्तपुरको स्थानीयता पनि जोगाइराखेको कुरा उनले बताए। काठमाडौंभन्दा भक्तपुर सफा र सुन्दर भएको रामकाजीको ठम्याइ छ। उनले यसको अधिकतर श्रेय नेमकिपालाई दिएका छन्।

तुलनात्मक दृष्टिकोण राख्दै रामकाजी भन्छन्, ‘काठमाडौंमा गंगालालतिर खाल्डाखुल्डीले गाडीमै मर्ने जस्तो छ। भक्तपुर त धेरै राम्रो छ।’

किन मादल भक्तपुर-१ मै सीमित ?

५२ वर्षीय शिव सैंजु नेमकिपा भक्तपुरमै सीमित हुनुको कारण नेमकिपाको निष्पक्ष छवि भएको बताए । भक्तपुर १ भन्दा बाहिर अन्य दलहरूले पैसा खर्च गरेर मत किन्ने गरेको उनको आरोप छ । आफ्नो स्थापनाकालदेखि कुनै अनैतिक कुराहरूमा संलग्न नभएको कुरा उनले उल्लेख गरे।

‘अरू जिल्लाहरूको त कुरा छाडौँ, यही भक्तपुर-२ मा समेत साम, दाम, दण्ड र भेद गरेर मतदाताहरूलाई अन्य पार्टीहरूले आफूतिर लैजाने गर्थे। आर्थिक प्रलोभनमा परेर मतदाताहरूले सङ्गठनलाई अन्य क्षेत्रहरूमा कमजोर बनाए,’ शिवले भने।

शिवले नयाँ भनिएका दलहरूप्रति आफूले विश्वास गर्ने आधार भने देखेका छैनन्। कुनै समय पुराना दलहरूमा नै संलग्न भएका व्यक्तिहरू अवसरवादी भएर नयाँ दलहरूको लहरमा मिसिएको उनको विचार छ । यस क्षेत्रबाट उठेका पुराना सांसदहरूले नै अनेकन समस्याका बाबजुद राम्रो कामहरू गरिरहेको उनले बताए। ‘अलिअलि असन्तुष्टि त जुनै ठाउँमा हुने भइहाल्यो नि, तर हामी भने पुरानाहरूले गरेका कामप्रति नै सन्तुष्ट छौँ,’ शिवको अनुहारमा विश्वासको उज्यालो देखियो।

व्यासी टोलका स्थानीय ४० वर्षीय अनिल देउपाला पनि यस क्षेत्रले जिताएका स्थानीय र सङ्घीय प्रतिनिधिहरूसँग कुनै गुनासो नरहेको बताए । उनले यस क्षेत्रमा मतदाता रिझाउनका लागि कुनै चुनावी माहोल समेत आवश्यक नपर्ने कुरा थपे । ‘यस ठाउँमा काम बोलेको छ, उम्मेदवार आएर बोलिरहन झन्झट गर्न नै पर्दैन,’ उनको भनाइ छ।

पुराना प्रतिनिधिहरूको दलले संसद्मा धेरै सिट नजिते पनि आफ्नो सामर्थ्यले सिद्ध गर्न सक्ने सबै कामहरू गरेकोमा उनी खुसी छन् । सूर्य एक्लै भए पनि जसरी समस्त पृथ्वीलाई उज्यालो बनाउँछ, त्यसै गरी राम्रो प्रतिनिधि एक्लो भए पनि आवाज उठाउन नछाड्ने उनको विश्वास छ।

नेमकिपाले यस क्षेत्र बाहेक अन्यत्र विजय गर्न नसक्नुको कारणमा शिव सैंजुको विचारसँग उनी सहमत देखिन्छन्। असल र पारदर्शी काम गर्नेहरू सबै क्षेत्रमा लोकप्रिय बन्न समेत नसक्ने उनले ठोकुवा गरे ।
अनिल अब निर्वाचित हुने सांसदप्रति धेरै अपेक्षा राख्दैनन्। अहिलेसम्म यस क्षेत्रमा जे हुँदै आएको छ, त्यसैलाई निरन्तरता दिइराखे पुग्ने कुरा उनले बताए।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

कञ्चन

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?