+
+
Shares

प्रतिनिधिसभा चुनाव : पर्सामा सुरक्षा व्यवस्था कडा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १९:२१

१७ फागुन, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पर्सा जिल्लामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निगरानी तथा संयुक्त सुरक्षा गस्तीलाई तीव्र बनाएको हो ।

आज ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।

अनुगमनका क्रममा केही राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको भेटिएकाले त्यस्ता सवारी तुरुन्त हटाउन लगाई चेतावनी दिइएको उनले जानकारी गराए ।

निर्वाचन आचारसंहिताले विदेशी नम्बर प्लेटका सवारी प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

मौन अवधिमा हुन सक्ने राजनीतिक चलखेल, भोजभतेर तथा प्रचारप्रसारजस्ता गतिविधि रोक्न प्रशासनले विशेष कार्ययोजना बनाएको प्रजिअ दाहालले बताए ।

उनका अनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्म संयुक्त सुरक्षा गस्ती परिचालन गरिनेछ ।

आचारसंहिता विपरीत गतिविधि देखिएमा वा सूचना प्राप्त भएमा तत्काल कारबाही गरिने चेतावनी पनि उनले दिए ।

स्थानीय तहबाट समाधान हुन सक्ने विषयहरू स्थानीय प्रशासनमै टुंग्याइने र जटिल प्रकृतिका विषय थप निर्णयका लागि निर्वाचन आयोगमा पठाइने दाहालले कथन थियो ।

सञ्चारकर्मीहरूलाई निर्वाचन रिपोर्टिङका लागि आवश्यक ‘प्रेस पास’ लिन सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीसँग सम्पर्क गर्न आग्रह गरिएको गरे ।

पर्साका चार निर्वाचन क्षेत्रमा कुल ३ लाख ७६ हजार ५ सय १३ मतदाता रहेका छन् । तीमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४ सय २१ महिला र १५ जना अन्य मतदाता रहेका छन् ।

जिल्लाभर १६७ मतदान स्थल र ४४१ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि १०७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये ४६ जना स्वतन्त्र र ६१ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् ।

निर्वाचनलाई लक्षित गर्दै कारागार कार्यालय र जिल्ला हुलाक कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

१ हजार ९० जना अस्थायी मतदाताका लागि विशेष मतदानको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?