+
+
Shares
विचार :

विवेकको निर्णय लिन मतदाताका लागि मौन अवधि

निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ । मतदानका लागि शान्त वातावरण कायम गराउने उद्देश्यले मतदानको दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिन्छ ।

डा.जानकी कुमारी तुलाधर डा.जानकी कुमारी तुलाधर
२०८२ फागुन १८ गते ९:०१

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती (फागुन १८ गते) १२ बजेदेखि सुरु हुँदै छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएको छ । यो अवधिमा पालना गर्नुपर्ने विशेष आचरण पनि तोकिएको छन् ।

निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ । मतदानका लागि शान्त वातावरण कायम गराउने उद्देश्यले मतदानको दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिन्छ । मतदानको दिन सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुन्जेलसम्म कायम रहन्छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचारणहरू निर्वाचन आचारसंहितामा व्यवस्था गरिएका छन् ।

कुनै पनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्नुपर्छ। मतदानको कम्तीमा २४ घण्टादेखि ४८ घण्टा सम्मको अवधि तोकी प्रचारप्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । दल तथा उम्मेदवारको दबाब, भीडको चिच्याहट र सामाजिक संजालको प्रदूषणबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति शान्ति वा मौन अवधि अनिवार्य हुन्छ ।

यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न मद्दत गर्छ । लोकतान्त्रिक संस्कारको आधार भनेको मतदाताको स्वतन्त्र सोचको सम्मान हो, जसको रक्षा मौन अवधि मार्फत गर्न सकिन्छ ।

निर्वाचन प्रचारप्रसार अभियान क्रममा मतदातालाई राजनीतिक दल एवम् उम्मेदवारहरूबाट विभिन्न किसिमका आश्वासन र कतिपय अवस्थामा दबाब पनि आइरहेको हुन्छ । राजनीतिक दल एवम् उम्मेदवारहरू एकपछि अर्को गर्दै मतदाताको घरदैलोमा पुगिरहेका हुन्छन् । सबैले आफूलाई नै असल र आफूले उठाएमा एजेण्डा नै सही हुन् भनेर मतदाताहरूलाई आश्वस्त पार्न खोजिरहेका हुन्छन् ।

मतदाताले निर्वाचनमा भाग लिएका सबै दल एवं उम्मेदवारको कुरा सुनिसकेपछि सुनेका कुराहरूमा मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति आफूलाई तयार पार्ने समय प्राप्त होस भनेर नै निर्वाचन प्रचारप्रसार निषेध अवधि अर्थात मौन अवधिको परिकल्पना गरिएको हो ।

यस अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश सम्प्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । निर्वाचन प्रचारको समय सीमा व्यवस्थित गर्नुको मूल उद्देश्य सबै राजनीतिक दल र उम्मेदवारहरूलाई समान समय र अवसर प्रदान गर्नु हो।

आममतदातालाई निर्वाचनप्रति आश्वस्त पारी सुसुचित निर्णय गर्न सक्ने आधार तयार गर्न यो अवधि अनिवार्य मानिन्छ । आत्मनिर्णयमा आधारित स्वतन्त्र मताधिकार सुनिश्चित गर्न निर्वाचन प्रचारको समय सीमा र मौन अवधि निर्धारण गर्ने आम प्रचलन रहेको देखिन्छ ।

मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनु हुँदैन । निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नु हुँदैन । बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन । राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको छ ।

निर्वाचन प्रचारको समय सीमा, समान अवसर, सञ्चार माध्यमको भूमिका, वित्तीय पारदर्शिता, आचारसंहिता कार्यान्वयन, मतदाता शिक्षा आदिले निर्वाचनको निष्ठा र लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवर्द्धन गर्न सहयोग पुग्दछ ।

निर्वाचन आयोगले संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । विगतका निर्वाचनहरूले आयोगको व्यावसायिक क्षमता र विश्वसनीयता पुष्टि गरिसकेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा समेत आयोगको साख अभिवृद्धि गरेको छ । ‘आयोगको नेतृत्व : सबैको दायित्व’ भन्ने मान्यताका साथ आयोगले कार्य गर्दै आएका छ ।

निर्वाचन केवल मत हाल्ने प्राविधिक प्रक्रिया मात्र होइनः यो जनविश्वास, पारदर्शिता, उत्तरदायित्व र लोकतान्त्रिक संस्कृतिको समग्र अभ्यास हो । यस प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी, विश्वसनीय, भयरहित एवं मितव्ययी रूपमा सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो । निर्वाचनको सन्दर्भमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनसम्मको अवधि अत्यन्तै संवेदनशील हुन्छ ।

मतदाता शिक्षा निर्वाचनको मेरुदण्ड हो । मतदाताले आफ्नो मताधिकार कसरी, किन र कहिले प्रयोग गर्ने भन्ने स्पष्ट जानकारी पाउनु आवश्यक छ ।

मतदान सम्पन्न भई अन्तिम नतिजा घोषणा नभएसम्म र त्यसपछि पनि परिस्थिति संवेदनशील रहन सक्छ । यस्तो समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका अत्यन्त निर्णायक हुन्छ । सञ्चारमाध्यमहरूले सम्प्रेषण गर्ने समाचार, विश्लेषण र टिप्पणीहरूले जनमत निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछन्। त्यसैले सत्यता, तथ्यपरकता, सन्तुलन, निष्पक्षता र बहुपक्षीयता निर्वाचन रिपोर्टिङका अनिवार्य आधारस्तम्भ हुन् । समाचार छिटो दिने प्रतिस्पर्धाबीच पनि प्रकाशन वा प्रसारणपूर्व सत्यता सुनिश्चित गर्नु पत्रकारिताको मूल धर्म हो ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ । आचारसंहिताबारे नागरिकलाई स्पष्ट र यथार्थ जानकारी गराउने, उल्लंघनका घटनाहरू तथ्यमा आधारित सन्तुलित रूपमा प्रस्तुत गर्ने तथा प्रचारात्मक सामग्रीलाई समाचारको आवरणमा प्रस्तुत नगर्ने दायित्व सञ्चारकर्मीहरूको हो । आत्मअनुशासन, व्यावसायिक मर्यादा र निष्पक्षताप्रतिको प्रतिबद्धताले नै स्वच्छ निर्वाचन सुनिश्चित हुन्छ ।

मतदाता शिक्षा निर्वाचनको मेरुदण्ड हो । मतदाताले आफ्नो मताधिकार कसरी, किन र कहिले प्रयोग गर्ने भन्ने स्पष्ट जानकारी पाउनु आवश्यक छ । मतदान प्रक्रिया, मतदान केन्द्र, मतदान समय, गोप्य मताधिकारको महत्व, समावेशी सहभागिता तथा सही छनोटका लागि आवश्यक तथ्यगत जानकारी सहज भाषामा प्रवाह गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी हो। सुसूचित मतदाता नै सशक्त लोकतन्त्रको आधार हो ।

पछिल्लो समय सामाजिक सञ्जालको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज बनाएको छ, तर यससँगै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका चुनौतीहरू पनि बढेका छन् । निहीत राजनीतिक स्वार्थका कारण देशभित्र तथा बाहिरबाट सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिन सक्ने सम्भावना रहन्छ ।

मतदानअघि, मतदानका दिन तथा नतिजा घोषणा पश्चात् समेत संगठित रूपमा फेक अकाउन्ट सक्रिय हुन सक्छन्। यस्ता गतिविधिले समाजमा विभाजन, डर र अविश्वास फैलाउने, चुनावी बहसलाई ध्रुविकृत गर्ने, भेदभाव र हिंसालाई उक्साउने कार्य गर्न सक्छन् । यस्तो वातावरणमा नागरिक खुला रूपमा बहस गर्न, सुसूचित हुन र अभिव्यक्ति दिन हिच्किचाउन सक्छन् ।

मिथ्या सूचना र दुष्प्रचारले मतदाताको सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित गर्दछ । राजनीतिक दल र उम्मेदवारका घोषणापत्र, विचार र धारणाबारे सही जानकारी नपाएसम्म मतदाताले विवेकपूर्ण निर्णय लिन सक्दैनन् । त्यसैले तथ्य–जाँच, स्रोत प्रमाणीकरण र जिम्मेवार सम्पादन अपरिहार्य छ । सामाजिक सञ्जालमा भाइरल सामग्रीलाई पुष्टि नगरी प्रसारण गर्नु लोकतान्त्रिक प्रक्रियाप्रति अन्याय हुन जान्छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आवश्यक पूर्वाधर र नीतिगत तयारी गरी कार्य गरिरहेको छ । टेक कम्पनीहरूसँग सहकार्य पनि गरिएको छ । तथापि, निर्वाचनको निष्ठा जोगाउने कार्य आयोग एक्लैले मात्र सम्भव छैन । यो लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षको साझा दायित्व हो । मूलधारका तथा जिम्मेवार सञ्चारमाध्यमहरूले यसमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

सञ्चारमाध्यम एवम् सञ्चारकर्मीहरूले निर्वाचन समाचार सम्प्रेषणमा उच्च व्यावसायिकता, निष्ठा, निष्पक्षता, तथ्यपरकता र नैतिक प्रतिबद्धता कायम राख्नु र्छ ।  सञ्चारमाध्यम एवम् सञ्चारकर्मीहरूको जिम्मेवार, सन्तुलित र सत्यनिष्ठ भूमिकाले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति निर्वाचन अघि, निर्वाचनका बेला र पछि पनि लोकतन्त्रमा विश्वास गर्ने सबैका लागि उत्तिकै चासो र चिन्ताको विषय हो र हुनुपर्छ । यसर्थ निर्वाचनका बेलामा मात्र नभई सामाजिक एवं सार्वजनिक जीवनका सबै पहलुहरूमा शान्ति, मित्रता, सद्भाव र सहष्णिुता आवश्यक छ । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको स्वच्छ नदीमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको विषाक्त भेल मिसिने अवस्था आउन नदिने मूलधारका आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ ।

निष्पक्षता, जवाफदेहिता, पारदर्शिता, विश्वसनियता, मितव्ययिता आदि आयोगको सैद्धान्तिक रणनीति हुन् । मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले निर्वाचनको यी सिद्धान्तको मर्ममाथि नै प्रहार गर्छ । निर्वाचनलाई पद, पैसा, प्रतिष्ठा, प्रलोभन र पहुँचबाट प्रभावित हुन् नदिन पनि सञ्चारमाध्यमहरूले भूमिका निर्वाह गर्नु पर्छ ।  निर्वाचनलाई नीति, सिद्धान्त, विचार, निष्ठा र इमानबाट निर्देशित बनाउन पनि सञ्चरमाध्यमले अग्राणी भूमिका निर्वाह गर्न सक्नुपर्छ । मिथ्या सूचना, दुष्प्रचार एवं भ्रमपूर्ण अभिव्यक्तिलाई आम सञ्चारमाध्यमले स्थान दिनु हुँदैन ।

(डा.तुलाधर निर्वाचन आयुक्त हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?