+
+
Shares

मौन अवधिअघि नै मौन छ शान्तिनगर, पुगेनन् कोही उम्मेदवार

मौन अवधि सुरु हुनै लाग्दा पनि शारदा नगरपालिका–१ शान्तिनगरको सीमान्तकृत (दलित) बस्तीमा भने चुनावको कुनै रौनक छैन । अहिलेसम्म कुने उम्मेदवार नपुगेको उनीहरुको गुनासो छ ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ फागुन १८ गते ९:३०

१८ फागुन, सल्यान । सल्यानमा चुनावी अभियान अन्तिम चरणामा छ । एउटै निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १४ उम्मेदवार मत माग्न घरदैलोमा छन् ।

विकास, समृद्धि र परिवर्तनका नारा घन्किरहेका छन । तर, मौन अवधि सुरु हुनै लाग्दा पनि शारदा नगरपालिका–१ शान्तिनगरको सीमान्तकृत (दलित) बस्तीमा भने चुनावको कुनै रौनक छैन ।

करिब ३० भन्दा बढी घरपरिवार बसोबास गर्ने यस सीमान्तकृत बस्तीका धेरैजसो परिवारसँग आफ्नै नाममा लालपुर्जा छैन । पुस्तौंदेखि बसोबास गर्दै आएको जमिन कानुनी रूपमा आफ्नो नभएकै कारण उनीहरू असुरक्षा महसुर गरिरहेका छन् ।

हरेक निर्वाचनमा लालपुर्जा दिलाउने आश्वासन दोहोरिन्छ । तर, परिणाम शून्य रहँदा यहाँका नागरिक निराश बन्दै गएका छन् । यसपटक झन अहिलेसम्म यो बस्तीमा कुनै उम्मेदवार नपुगेको नागरिकको गुनासो छ ।

गौरी नेपाली आफूले थाहा पाउने भएदेखि यही बस्तीमा बस्दै आएकी छन् । घर छ तर स्वामित्वको कागज छैन । तीन दशकदेखि लालपुर्जाका लागि पहल गर्दै आए पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उनको गुनासो छ । ‘थाहा पाउने भएदेखि यहीँ छु । घर त छ तर लालपुर्जा छैन । ३० वर्षदेखि दौडधूप गरिरहेकी छु तर अझै पाएको छैन’, उनी भन्छिन्, ‘हरेक चुनावमा नेताहरू पुर्जा दिलाउँछौँ भन्छन् तर हामी अझै सुकुम्बासीझैँ बाँचिरहेका छौँ ।’

गौरी नेपाली

सरकारले जनता आवास कार्यक्रममार्फत वर्षौँअघि यहाँका दर्जनौँ परिवारका लागि घर निर्माण गरिदिएको थियो । तर घर बने पनि स्वामित्वको कागज नहुँदा असुरक्षित महसुस गरेर बस्नुपर्ने बाध्यता रेहेको स्थानीय मित्रलाल नेपाली बताउँछन् ।
‘सरकारले बनाइदिएको घर छ तर आफ्नै नाममा छैन । कुनै दिन सरकारले फिर्ता लिन्छ कि भन्ने डर लागिरहन्छ’, उनी भन्छन्, ‘३४-३५ वर्षदेखि मतदान गर्दै आएका छौँ तर हाम्रो समस्या कसैले समाधान गरेन । यसपटक त उम्मेदवारहरू बस्तीमै छिरेन्न त्यहीँ पुरानै आश्वासन पनि सुन्न पाइएन ।’

जिल्लाभर सभा, जुलुस र नाराले माहोल तातिएको छ । तर, शान्तिनगरको यो बस्तीमा नागरिकको एउटै माग छ । आफ्नै घरको लालपुर्जा । उनीहरूलाई ठूला नारा र महत्वाकांक्षी योजना होइन, बस कानुनी स्वामित्व चाहिएको छ ।

मौन अवधि सुरु हुन लागेको छ । बस्तीमा कोही उम्मेदवार आएनन् नागरिकले आफ्ना मागसमेत दोहोर्‍याउने मौकासमेत पाएनन् ।

मतदान गरे पनि पुरानै प्रश्न र लालपुर्जा पाउने आशा अधुरै बन्ने हो कि भन्ने चिन्ता उनीहरुको छ ।

मित्र नेपाली
लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?