१८ फागुन, पाल्पा । पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र थप गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा यसअघि ११८ मतदानस्थलमा २५१ मतदान केन्द्र कायम गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयले यसपटक दुई अस्थायी मतदानस्थल थप गर्दै १२० मतदानस्थल कायम गरेको जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार दुई अस्थायी मतदान स्थलमा १९२३ मतदाता रहेका छन् ।
तानसेनस्थित जिल्ला कारागारमा कैदीबन्दी साथै अन्य कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदानस्थल तय गरिएको निर्वाचन अधिकारी शर्माले बताए ।
तानसेनस्थित दी फेमस महेन्द्र दल गणमा पनि अस्थायी मतदानस्थल तोकिएको उनले बताए । दुईवटा अस्थायी मतदान केन्द्रअन्तर्गत ६९ जना कारागारमा र १८५४ जना महिन्द्र दल गणअन्तर्गत मतदानस्थलमा मतदाता रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका स्थायी २५१ र दुई अस्थायी गरी २५३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न २ हजार बढी कर्मचारी खटिने भएका छन् । ती केन्द्रमा १ हजार ५ सय बढी कर्मचारी खटिने छन् भने ५ सय बढी स्वयंसेवक मतदान केन्द्रमा खटिनेछन् ।
क्षेत्र नम्बर १ मा ५२ मतदानस्थलमा रहेकोमा ११७ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ मा ६६ मतदानस्थलमा १३४ मतदान केन्द्र रहेका छन् ।
प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाउने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।
निर्वाचनका कर्मचारीसहित प्रत्येक मतदान केन्दमा ५ सय भन्दा कम मतदाता रहेकामा दुई र ५ सय बढी मतदाता भएको केन्द्रमा तीन जना स्वयंसेवक परिचालन हुनेछन् । स्वयंसेवक मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था छ ।
अस्थायी दुई वटा मतदान स्थलमा पनि कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए ।
निर्वाचनमा खटाउने कर्मचारी र शिक्षकको विवरण स्थानीय तहबाट प्राप्त भइसकेको छ । मतदान केन्द्रमा खटिनेहरूको विवरणसमेत सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया 4