१९ फागुन, धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।
जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आएका छन् । त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्छन् ।
निर्वाचनमा गाउँ फर्किनेहरु बढेपछि हाल धनकुटा बजारमा नागरिकको चाप उल्लेख्य रूपमा घटेको छ । सदरमुकामका अधिकांश होटल तथा पसलहरू बन्द देखिन्छन् । सधैंजसो बजार, पसल, चोक तथा चिया पसलमा हुने चुनावी चर्चा पनि उल्लेख्य घटेको छ ।
धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेशबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन् । कर्मचारीहरु पनि प्राय: निर्वाचनमा खटिएका मतदान केन्द्रमा खटिएका छन् ।
प्रतिक्रिया 4