१९ फागुन, विराटनगर । निर्वाचनको मौन अवधि सुरु भएपछि विराटनगर सुनसान थियो । तर सोमबार राति जिल्ला प्रशासन कार्यालय अगाडि, विराटनगर महानगरपालिका–७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोलाभित्र राखिएको शंकास्पद वस्तुले एकाएक सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा पुर्यायो ।
करिब मध्यराततिर सिसी क्यामेरामा स्कुटर चढेर आएका एक व्यक्तिले झोला राखेर फर्किएको दृश्य देखिएपछि प्रहरी झन् सचेत भयो । निर्वाचनको संवेदनशील समय, प्रशासन कार्यालय नजिकको स्थान र रातको सन्नाटाले शंका थप गहिरियो ।
बम हुनसक्ने आशंकामा तत्कालै प्रहरीले सो क्षेत्र सिल गर्यो । म्यादी प्रहरीको टोली पनि खटाइयो । डाँफे चोक वरपरका सडक खाली गराइयो । मानिसहरुको आवतजावत रोकियो र सुरक्षा घेरा कडा पारियो ।
प्रहरीले बम भएको आशंकामा नेपाली सेनाको टोलीलाई खबर गर्यो । सूर्यदल गण थलाहाबाट टोली बोलाइयो । रातभर प्रहरी र सेनाका अधिकारीहरू पालैपालो निगरानीमा खटिए ।
आसपासका बासिन्दा झ्यालबाट बाहिर हेर्दै अवस्था बुझ्ने प्रयास गरिरहेका थिए । सामाजिक सञ्जालमा पनि ‘बम भेटियो’ भन्ने हल्ला फैलिन थालिसकेको थियो ।

मंगलबार बिहान करिब ७ बजेतिर सेनाको टोलीले सावधानीपूर्वक उक्त वस्तु निष्क्रिय पार्ने प्रक्रिया सुरु गर्यो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति र तनावपूर्ण प्रतीक्षाबीच झोलाभित्रको वस्तु खोलियो । तर केहीबेरमै स्पष्ट भयो– त्यो बम थिएन ।
झोलाभित्र पूजाआजा गरेर मन्साइएको माटोको सानो हाँडी थियो । हाँडीभित्र खरानी र अन्य पूजासामग्री राखिएको भेटियो । रातभर त्रसित डाँफे चोक फेरि आफ्नो पुरानै लयमा फर्कियो ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालका अनुसार संवेदनशील समय भएकाले जोखिम लिन नसकिने अवस्था थियो । सिसी क्यामेरामा मध्यरातमा स्कुटरमा आएका व्यक्तिले झोला राखेको देखिएपछि तत्कालै सतर्कता अपनाइएको उनले बताए । ‘चुनावको मुखमा यस्तो अवस्था देखिएपछि सम्भावित खतरा भनेर नै हेरियो,’ उनले अनलाइनखबरसँग भने, ‘जाँचपछि मात्र ढुक्क भयौं कि त्यो पूजाको सामग्री रहेछ ।’
निर्वाचनको समयमा सार्वजनिक स्थानमा मध्यरातमा शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4